श्रीलंकाका पूर्वप्रधानमन्त्री राजापाक्षे ज्यान जोगाउन नौसैनिक ब्यारेकमा



काठमाडौं ।

श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे ज्यान जोगाउन एक नौसैनिक ब्यारेकमा पुगेका छन्।

बिबिसीले सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनी उत्तर-पूर्वमा रहेको नौसैनिक ब्यारेक पुगेका हुन्। श्रीलंकामा पछिल्लो समय हिंसात्मक प्रदर्शनहरू तीव्र भइरहेका छन्। स्थिति नियन्त्रणमा लिन सरकारले कर्फ्यू घोषणा गरेको छ भने लुटपाट गर्नेहरूमाथि सिधै गोली हान्ने अधिकारसहित सेनालाई खटाएको छ।

श्रीलंकामा आगजनी र लुटपाटका घटना रोकिएका छैनन्। प्रदर्शनकारीहरूले राजापाक्षे परिवार र अहिलेको अवस्था आउनमा जिम्मेवार ठानिएका अरू नेताहरूको सम्पत्तिलाई लक्षित गरी आगजनी गरिरहेका छन्।

राष्ट्रपति गोटवाया राजापाक्षेले शान्तिव्यवस्था पुनर्स्थापना गर्ने बताएका छन्। प्रदर्शनकारीहरूले भने उनको राजीनामा मागिरहेका छन् । राजापाक्षेले राजीनामाको मागलाई सुनेको नसुनेझैं गरी आफ्नो केही अधिकार संसदलाई दिने प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस्