बार्सिलोनाको सानदार जित



लन्डन । 

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ ।गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङको दुई तथा डच फरवार्ड मेम्पिस डिपाएको गोल सहयोगमा बार्सिलोनाले सानदार जित निकालेको हो । बार्सिलोनाले घरेलु मैदानमा सेल्टा डी भिगोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

सेल्टाका लागि आस्पासले एक गोल फर्काए । क्याम्प नोउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको ३०औं मिनेटमा मेम्फिस डिपाएको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उनले औसमाने डेम्बेलेको पासमा गोल गर्न सफल भएका थिए ।खेलको ४१औं मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । ४८औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । उनले डेम्वेलेकै पासमा गोल निकालेका थिए ।

त्यसको दुई मिनेटपछि आस्पासले गोल गर्दै सेल्टाको आशा कायमै राखे पनि ५८औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्दा टोली समस्यामा प-यो । जेइसन मुरिल्लो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा टोली खेलमा फर्कन सकेन । यो जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंक पुगेको छ । च्याम्पियन बनिसकेको रियल मेड्रिडको ३५ खेलबाट ८१ अंक छ । पराजित सेल्टा भिगोको ४३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्