लिभरपुलको रोमाञ्चक जित



लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित निकालेको थियो । उपाधि दौडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ ।

लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै उपाधि होडलाई कायमै राखेको छ । भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा नै डुगलस लुइजको गोलबाट लिभरपुल पछि परेको थियो । लुकास डिग्नेको क्रसमा लुइजको हेडर गोलरक्षक एलिसन बेकरबाट रिबाउन्ड हुँदा उनले जाली चुमाउन सफल भएका थिए । छैटौं मिनेटमै लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो । जोएल मटिपले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि घरेलु टोलीलाई लगातार दवाबमा राखेको लिभरपुलले गोलको लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो । ६५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जितसहित तीन अंक दिलाए । उनले लुइस डियाजको पासमा गोल गर्न सफल भए । यो जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ । पराजित भिल्लाको ४३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्