रोमाञ्चक र विशेष बनेको छ चुनावी माहोल



स्थानीय तहको निर्वाचन भोलि देशभर हुँदै छ । ठूला भनिएका दलका उम्मेदवारले यो स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबीसमेत गरिसकेका छन् । यसअघिको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना नगर÷गाउँवासीलाई बाँडेका सपना पूरा भएकै छैनन् ।

तर आज तिनै चुनाव लक्षित रहेर थप आश्वासन बाँड्दै हिँड्ने जनप्रतिनिधिको कमी छैन यहाँ । हरेक उम्मेदवार तथा पार्टीले निर्वाचन लक्षित घोणणापत्र तयार पारेका छन् । घोषणापत्र अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सामाजिक सुरक्षा, पूर्वाधार विकासलगायत विभिन्न महत्वकांक्षी योजना बनाउँदै अब आउने जनप्रतिनिधिले आ–आफ्नो नगर तथा पालिकाको ठेक्का लिइसकेका छन् ।

लाग्छ, अब कोही विकासका कार्यमा निरास हुनु नपर्नेसम्मको ठोकुवा गरिसकेका छन् । तर यिनका आश्वासन निर्वाचन लक्षित कार्यक्रम मात्र हुन्, यदि ती जनप्रतिनिधिले निर्वाचन जिते भने ती जनतालाई फर्केर भेट्न आउँदैनन् । यस्तो परिपाटी विगतदेखि बस्दै आइरहेको छ, जसको निरन्तरता हुने पक्का छ । काठमाडौं महानगरपालिकासँगै अन्य केही पालिकाहरुमा युवा जोश–जाँगरले पूर्ण स्वतन्त्र उम्मेदवारको समेत आगमनले भोलिको निर्वाचन विशेष र थप रोमाञ्चक बन्ने पक्का छ । ती सबै उम्मेदवारले आफैंले जित्नेमा पक्का भएको बताएका छन् । हेरौं परिणाम के हुन्छ ?

गाउँ अनि शहरका कुनाकाप्चामा यति बेला चुनावकै चर्चा छ । केही स्थानमा बागी उम्मेदवारसमेत रहँदा निर्वाचनको परिणाम थप रोचक बन्न सक्ने देखिन्छ । उत्साही भावले उम्मेदवारी दर्तापश्चात् जितिनेमा हरेक उम्मेदवार ढुक्क बन्दै जनताको मन जित्न प्रयासरत देखिन्छन् । काठमाडौं महानगरपालिकाको मेयर बन्नेको तँछाडमछाड देख्दा उदेक लाग्छ । कामाडौंमा मेयर पदका प्रत्यासी उम्मेदवार एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ, विवेकशीलकी समीक्षा बास्कोटा, त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाह यति बेला निकै चर्चामा छन् तर बाजी कसले मार्छ, परिणामले बताउँछ ।

के ती उम्मेदवार वास्तवमै मेयर ‘साब’ बन्न खोज्दै छन् ? कि मेयर ‘साप’ बनेर जनतालाई डस्न खोज्दै छन् ? प्रमुख दल एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापित उम्मेदवार दर्ता गराएसँगै विवादित बनिरहे । हुन त उनी अनुभवी मेयर हुन्, त्यसैले उनलाई पार्टीले पुनः टिकट दिएको हुनुपर्दछ । तर एकपछि अर्को धुमिल छविका कारण चर्चा र विवादित दुवै बनेका छन् । त्यस्तै सोही पार्टीबाट उपमेयरमा उम्मेदवार दिएकी सुनिता डंगोल पनि विवादबाट अछूतो बन्न सकिनन् । यस्ता घटनाले निर्वाचन लक्षित फण्डा अपनाउने प्रवृत्तिको विकास भएको मान्न सकिन्छ ।

दलका घोषणापत्र पत्र हेर्ने हो भने ५ वर्षमा काठमाडौंको मुहार फेरिने पक्का छ । काठमाडौं मात्र लक्षित नभएर सिंगो मुलुकको विकास गर्ने भिजन देखिन्छ । त्यस्ता भिजन देखाउनेले यदि चुनाव जिते पनि घोषणापत्र अनुरुप कार्य गर्ने परम्परा बस्न सकेको छैन । लाग्छ, मुलुकको हितका निमित्त कसैले नराम्रो सोचेकै छैनन् । सबले एकसे एक राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर तिनैले जिते भने पछि जनताका सामु पेस गरेका घोषणापत्रको घोषणा नै बिर्सने पक्का छ, जसका लागि विगतलाई फर्केर हेर्दा स्पष्ट हुन्छ ।

काठमाडौं उपत्यका स्मार्ट सिटी बनाउने, मोनोरेल चलाउने, जस्ता महत्वाकांक्षी योजनाका अध्ययन भए कि भएनन्, तिनै घोषणा गर्ने जानून् । तर आज एक–अर्काको घोषणापत्रलाई लिएर आरोप–प्रत्यारोप लगाउँदै बसेका छन् । वास्तवमै नेतृत्व सम्हाल्ने हो भने एक असल मेयर ‘साब’ बन्ने प्रयास गर्ने हो भने जनताले विश्वास गर्ने पक्का छ ।कुनै समय राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रममा नेतालाई गाउँघरमा चोर भन्ने गरेको स्पष्टोक्तिसमेत दिएका थिए । वास्तवमा भन्ने हो भने, उनको भनाइले यथार्थ चित्रण गरेको छ । तर लाज नभएका नेतामा झुट्टा आश्वासनको खेती गर्ने परम्परा भत्काउन निकै मुस्किल पर्ने देखिन्छ ।

चुनाव लाग्दा अनुहार देखाउने त्यसपछि बिर्सने प्रवृत्ति हाबी हुँदै गएको स्पष्ट छ । हुन त हाम्रा प्रमुख दलका नेताका चरित्र र परम्परा नै त्यस्तै बनिसके, जुन अब आउने नयाँ पुस्ताले समेत त्यसैको पथ पछ्याउँदै हिँडेको देख्न सकिन्छ । कुनै समय नेकपा माओवादी र नेकपा एमाले पार्टी एकता भई नेकपा नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । प्रमुख दुई दलको एकताले गएको संसदीय निर्वाचनमा बहुमत प्राप्त हुँदा पूर्णकालीन सरकार चलाउन ढुक्क थियो । पार्टी प्रमुखबीच आलोपालोमा सरकार र पार्टी चलाउने सम्झौता बन्यो । पार्टी एकतापश्चात् दुई पार्टी प्रमुख केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मित्रतामा एक–अर्काको तारिफ गर्दै बसे ।

जति बेला यी दुईको मित्रता थियो तब उनीहरुले अब निरन्तर सरकार चलाउने बहुमतको ठूलो पार्टी हामी बाहेक कोही बन्न सक्दैन भनेर बुर्कुसी मार्दै हिँड्थे । यसो भनिरहँदा यिनको सम्बन्ध लामो समय टिक्छझैँ लागेको थियो तर टिक्न सकेन । भोलि ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले कहीँ साना दलसँग तालमेल गर्दै त कतै एक्लै निर्वाचनको मैदानमा उत्रिएको छ । तर माओवादी, कांग्रेस, एकीकृत समाजवादी दल गठबन्धन सरकारमा छ, निर्वाचनमा पनि गठबन्धनकै आधार अगाडि बढेको छ ।

गठबन्धनले गर्दा टिकट नपाएका जिल्लास्तरीय प्रभावशाली नेताले भने स्वतन्त्र (बागी) उम्मेदवारसमेत दिएका छन् । ती मध्ये केहीले प्रलोभन तथा पार्टीको धम्कीका कारण उम्मेदवारी फिर्ता लिएका छन् भने केहीले जबर्जस्ती पार्टीको कारबाहीको बाबजुद पनि निरन्तरता दिएका छन् ।नेकपामा विभाजन भएसँगै तीन नेता ओली, प्रचण्ड र माधव नेपालले एक–अर्काको उछितो काढेरै मात्र बसे, जसको निरन्तरता कायमै छ । व्यक्ति र पार्टीको खिसिटिउरी गरेर मात्र बसिरहे । अहिले नेपाली कांग्रेससहितको गठबन्धनको सरकार छ ।

यी तीन नेताको दोहोरी प्रायजसो चलिरहेकै हुन्छ । सञ्चारमाध्यममा समेत यिनकै भनाइलाई आधार बनाएर समाचार सम्प्रेषण हुने गरेका छन् । स्थानीय निर्वाचनको परिणामलाई संसदीय निर्वाचनमा समेत परिणामको आँकलन गर्न सकिन्छ । स्थानीय तहको निर्वाचनको चहलपहल लागेसँगै त्रिमूर्ति नेता एक–अर्कोको भाषणको खण्डन गर्दै बसेका छन् । झन् एक–अर्काको चुनावी धोषणापत्रका विषयमा खण्डन गर्दै प्रतिशोधको भाव प्रकट गरी बसेका नेता र पार्टीले आफ्नो कमजोरीलाई कहिल्यै आत्मसात् नगर्ने तर कुरा काट्नेलाई जवाफ मात्र फर्काउने प्रवृत्ति कायमै रहेको छ ।

आगामी स्थानीय तहको निर्वाचन नेपाली कांग्रेसको घोषणापत्रमा सार्वजनिक भएका अभिव्यक्तिमा नेकपा एमालेले खरो विरोध गरेको थियो । जसको जवाफमा नेपाली कांग्रेसका महामन्त्रीले पत्रकार सम्मेलन नै गरी जवाफी कारबाही गर्नसमेत भ्याइरहे । यसै विषयलाई लिएर एक–अर्काप्रतिका विरोधका कार्यक्रम निकै लामो समय चलिरहे ।एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् भने उता प्रचण्ड तथा माधव नेपालले पनि निर्वाचन लक्षित कार्यक्रम गरिरहेका छन् ।

निर्वाचनको पूर्वतयारी कम र प्रतिशोध बढीका भावहरु स्पष्ट देखिन्छन् । झन् एमाले प्रतिपक्षमा छ, ओलीले सरकारको चर्को आलोचना गर्न छोडेका छैनन् । ओलीका विपक्षी नेता प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवालगायतलाई त उनले भन्न बाँकी केही राखेकै छैनन् । पार्टीका घोषणा अनुरुपका कार्य कम तर भाषण बढी गर्नमा रमाएका छन् । दलको प्रचारप्रसारभन्दा पनि विपक्षी दलका नेतालाई आरोप, प्रत्यारोप, व्यङ्ग्य गर्दै समय व्यतीत भएको छ । एक–अर्काले सत्तोसराप गर्दै बसेका छन् नेताहरु ।

ओलीले प्रचण्ड, माधवलाई घोचपेच गर्न बाँकी केही राखेका छैनन् । त्यस्तै प्रचण्ड, माधवले पनि ओलीलाई भन्न बाँकी केही राखेका छैनन् । यही घानमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बेला–बेलामा पर्ने गरेका छन् । विगतमा सँगै कुम जोडेर हिँड्ने यी ओली, प्रचण्ड, नेपाल आज एकाएक पानी बाराबारको अवस्थामा पुगेका छन् । झन् आसन्न निर्वाचनमा केन्द्रित रहेर बलिरहेको आगोमा घिउ थप्ने कार्य गरिरहेका छन् ।

जब निर्वाचन आउँछ तब यी सबै एक ढिक्का हुन खोज्छन् । बाँकी समय एक–अर्कालाई घोचपेच गर्ने, कुरा काट्नेमै समय बिताउँछन् । पार्टी अनि पार्टीका नेताको औकात देखाउने उपयुक्त भोलि आउँदै छ, आम मतदाताले विवेक र बुद्धिको प्रयोग गरी मतदान गर्ने हो भने यी नेताका चुरिफुरी सकिन्छ । जब निर्वाचनको नतिजा आउँछ, तब यिनका दम्भ कमजोर हुने पक्का

[email protected]

प्रतिक्रिया दिनुहोस्