शीर्ष नेताहरू आरोप प्रत्यारोपमा, एजेन्डा ओझेलमा

स्थानीय निर्वाचन



काठमाडौं  । 

संघीय व्यवस्था आएपछि वैशाख ३० गते दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरू आ–आफ्नो पार्टीको पक्षमा मत माग्नका लागि देश दौडाहमा व्यस्त रहे ।

ठाउँठाउँमा चुनावी सभाहरू गर्दै मतदातालाई आफ्नो पक्षमा ल्याउने कसरत गरिरहे । तर, मतदातासँग मत माग्ने क्रममा मुख्य राजनीतिक दलका नेताहरूले जनसमुदायमा पार्टीको एजेन्डा प्रस्तुत गर्नुभन्दा पनि विपक्ष दलका नेताहरूमाथि आरोप प्रत्यारोप र गालीगलौजमा नै समय खर्चिए ।

चुनावी सभामार्फत मत माग्ने क्रममा दलका नेताहरू असहिष्णु गालीगलौजमा उत्रिए । आफ्नो पार्टीको घोषणापत्र र नीति लिएर जनसमुदायमा जानुपर्नेमा उनीहरू नैतिकता नै गुमाएर विपक्षी दलमाथि खनिए । पूर्वप्रधानमन्त्रीसमेत भइसकेका राजनीतिक दलका शीर्ष नेताहरूले सामान्य नैतिक मूल्य र मान्यतासमेत बिर्सिएर तल्लो स्तरको गालीगलौजमा उत्रिनु शोभनीय नभएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

लोकतन्त्रमा राजनीतिक दलहरूले आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा गएर मत माग्ने गर्दछन् । मतदाताले पनि आफ्नो आस्था र विचार मिल्ने राजनीतिक दललाई मत दिन्छन् ।राजनीतिक विश्लेषक कृष्ण पाठकले दलका शीर्ष नेताहरू समाजमा नकारात्मक सन्देश जाने गरी निकृष्ट गालीगलौजमा उत्रनु विवेकहीन काम भएको बताउनुभयो । जनताको बीचमा विकास र परिवर्तनको एजेन्डा लिएर जानेभन्दा पनि एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिले समाजमा निराशा जन्माइरहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘समाजको अपेक्षा दलका नेताहरू रचनात्मक र सकारात्मक होइदिऊन् भन्ने छ, तर नेताहरूमा बढ्दो नकारात्मक सोच हट्न सकेन ।’

नेताहरूले नराम्रो बोल्दा पनि ताली पिट्ने कार्यकर्ता भएकै कारण गालीगलौजको संस्कृति विकास भएको धारणा राख्दै उहाँले विचार, मुद्दा, समाज रूपान्तरणका काम कर्मकाण्डी मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय तहको विकास गर्नतिर भन्दा पनि आफ्नो पार्टीको हैसियत बढाउन, प्रतिद्वन्द्वीलाई कमजोर पार्न दलहरूले मिहिनेत लगाएको देखिन्छ । देश परिवर्तनको आशा जगाउने नेताहरूले जनतालाई निराश बनाउने मात्र काम गर्दै आएका छन् ।’

दलहरूको आचरण निर्वाचन आचारसंहिता विपरीतसमेत भएको निर्वाचन आयोगको निष्कर्ष छ । निर्वाचन आयोगका एक आयुक्तले भने– ‘ठूलो कुरा नैतिकता हो, जब पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिहरू तुच्छ खालका अभिव्यक्तिमा उत्रिन्छन् भने यस्तो अवस्थामा कानुनले मात्र काम गर्ने अवस्था हुँदैन ।’ राजनीतिक विश्लेषक एवं प्राध्यापक चिरञ्जीवी खनालले दलहरू आफैंले बसेर बनाएको आचारसंहिता नमाल्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाली गलौजको शब्द प्रयोग गर्नु समाजलाई नकारात्मक बाटोमा लैजानु हो, देश बनाउँछु भनेर हिँडेका राजनीतिक दलका नेताहरू सुध्रिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्