पानीमा समेत राजनीतीकरण



जन्मेदेखि नमर्दासम्म हरेक प्राणीलाई पानीको आवश्यकता पर्दछ । मानिसदेखि लिएर चराचुरुङगी, जीवजन्तु, बोटबिरुवा सबैलाई पानी चाहिन्छ नै । पानीविना एकछिन् पनि बस्न सकिँदैन । खेतीपातीका लागि पनि पानी नै चाहिन्छ । जहाँ सिंचाइको व्यवस्था राम्रो हुन्छ त्यहाँ उब्जनी पनि राम्रो हुन्छ । तर, सिंचाइ नपुगेको खेत सुख्खा हुन्छ, जसका कारण त्यहाँँ खेतीपाती गर्न असम्भव हुन्छ ।

तर, नेपालको खोलानाला, नदी, कोशी सबै हामी मानवका कारण दुर्गन्धित बनेको छ । हामी मानवहरु लापरबाह हुँदा खोलानालामा पानी होइन, ढल र फोहोरका पोकाहरु बग्छन् । खोलानालालाई सदुपयोग नगर्दा पानीको हाहाकार भएको छ । बाटो र घर भन्दाभन्दै जमिनभित्रबाट मूल फुटेर निस्किने पानी पनि बन्द भइसकेको छ । यता, भएका ढुंगेधारा र कुवाहरुको पनि हामीले संरक्षण गरेनौं ।
पहिले ढुंगेधारा भएका ठाउँमा अहिले घर छ ।

बाँकी केही ढुंगेधाराबाट थोपो पनि पानी झर्दैन । यसको प्रमुख दोषी पनि मानव नै हो । जनसंख्या प्रत्येक दिन बढ्दै गएको छ तर पानीका मूलहरु संरक्षणको विषयमा कसैले चासो दिँदैन । मानौं, घर र बाटो बनाउने लहर चलेको छ । वनजंगल फडानी गर्दै, चौतारा मास्दै, पानीको स्रोत बन्द गर्दै घर र बाटो बनाउनुको औचित्य के ?जसको कारण नेपालमा प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषण बढ्दा हिँउदमा पानी पर्छ, बर्खामा सुख्खा । यता, पानी पर्ने समय परिवर्तन भएको छ भने पानी पनि निकै कम पर्छ । खेतीपाती गर्ने समयमा पानी नपर्दा किसानहरु मारमा परेका छन् । उब्जनी कम भएकाले उनीहरु चिन्तित बनेका छन् । अर्कोतिर, भएका जमिनहरु पनि बाँझै छन् । अव्यवस्थित तरिकाले बनेको घर र बाटोले विपद् निम्त्याएको छ ।

पानी पर्नेबित्तिकै विभिन्न क्षेत्र डुबानमा पर्नुको कारण यही हो । माटोले सोस्नुपर्ने पानी कसरी कंक्रिटले सोस्छ ? पानी नै छिर्न नपाएपछि डुबान पर्नु स्वाभाविकै पनि हो । आफूले गरेको कुकर्मको फल आफैंले भोग्नुपर्छ भनेको पनि यही नै हो । जमिनभित्र पानी जान नपाउँदा इनारहरु सुके । कलहरुबाट पानीको थोपो पनि चुहिँदैन । पोखरी, ताल र आल पनि मासिँदै गएपछि पानी जम्ने ठाउँ कहीँ पनि छैन ।पशुपक्षी र जीवजन्तुहरु प्यास मेट्ने धोको बोकेर हिँडेका हुन्छन् । तिर्खा लाग्दा उनीहरु पानी खानैबाट वञ्चित छन् । जग्गा माफियाहरुले ताल, आल र पोखरी अधिग्रहण गर्दा जीवजन्तुहरुले पानी खान पाएका छैनन् । सरकारले ऐनकानुन बनाउँन नसक्दा घर बनाउनेको संख्या ह्वात्तै बढेको छ । अस्तव्यस्त तरिकाले घर बनेको छ । जसको कारण पानीको हाहाकार भएको पाइन्छ ।

घर त बनाएको छ तर पानी छैन । पानी नहुँदा भाडामा बस्नेहरुको जीवन कष्टकर बनेको छ । घरधनीले घरभाडामा लगाएर मासिक भाडा बुझ्छ तर कोठामा बस्नेलाई पानी दिँदैन । अहिले उपत्यकामा मेलम्चीको पानी आए पनि बहालमा बस्नेले पाएका छैनन् । बरु, घरधनीहरु सवारीसाधन धुन्छन् तर बहालमा बस्नेलाई पिउने पानीसमेत थाप्न दिँदैनन् । जसको कारण कोठामा बस्नेहरु मारमा परेका छन् । तर, यसको फाइदा भने पानी बेच्ने कम्पनीहरुले लिएका छन् । पानीमा समेत व्यापारीकरण शुरु भएको छ । पानी व्यापार रातमा चार गुणा र दिनमा दुई गुणाले फस्टाउँदै छ । खोलानाला फोहोर हुनु र जथाभावी घर र बाटो बन्नु जार र मिनरल वाटर कम्पनीहरुका लागि राम्रो कुरा हो । उनीहरुको व्यापार झनै बढ्दै जान्छ ।

अहिले एउटा मिनरल वाटरलाई २०–२५ रुपियाँ र जारलाई ५०–८० रुपियाँ लिन्छ ।पानीको मूल्य पेट्रोल, डिजेलभन्दा पनि महँगो हुने देखिएको छ । खाना पकाउनदेखि नुहाउन, लुगा धुन, शौचालय जान हरेक कुरामा पानी चाहिन्छ । पानी भएन भने एक सेकेन्ड पनि बाँच्न सकिँदैन । तर, सरकारको कमी–कमजोरी र लापरबाहीले आज पानीमा समेत व्यापार शुरु भयो । सरकारकै कारण जनता लुटिएका छन्, ठगिएका छन् । व्यापारीहरुले अस्वस्थकर पानी बेचेर कालोबजारी गरिरहेका छन् ।खानयोग्य नभएको खोलाको पानी भरी ल्याएर बेच्ने काम भइरहेको छ । ट्यांकरहरुले सीधै खोलाबाट पानी निकाली ल्याएर बेच्छन् । स्वास्थ्यलाई हानि पु¥याउने पानी दुई–पाँच हजारसम्म तिरेर उपभोग गर्न उपत्यकावासी बाध्य छन् । दाल, चामल र तरकारी किन्दाभन्दा बढी खर्च पानी किन्दाखेरि हुने देखिएको छ । एक बोरा चामल ल्यायो भने एक महिना धान्छ । तर, एक जार पानीले छिन् पनि थेग्दैन ।

पहिले–पहिले खोलानाला प्रशस्तै थियो, पानी पनि सङ्लो हुन्थ्यो । त्यही गएर नुहाउँथे, लुगा धुन्थे । तर, अहिले खोलानालामा पानी होइन, ढल बग्छ । कसरी नुहाउनु ? दुई जार पानी किनेर एउटा ज्यान नुहाउनुपर्ने अवस्था आएको छ । शौचालय जान पनि जारकै पानी किन्नुपर्ने बाध्यता आयो । हामी नेपालीहरु यति धनी भइसकेका छौं, जारको पानी किनेर नुहाउने, धुने ?जारको पानी किन्न नसक्ने व्यक्तिहरु अब ननुहाईकन बस्नुपर्ने बेला आएको छ । पानी तिर्खा लागे पनि पानी पिउने दिन गइसकेको छ । बूढापाकाले भन्थे, ‘पानी खान दियो भने धर्म हुन्छ ।’ बाटो हिँडिरहेको बेलामा पानी तिर्खा लाग्यो भने माग्दाखेरि पाइँदैन ।

तिर्खा लागेको व्यक्तिलाई पानी दिने चलनचल्तीसमेत हराइसकेको छ । कि मिनरलवाटर किनेर प्यास मेटाउन सक्नुप¥यो । होइन भने यत्तिकै हिँड्नुप¥यो । पानी व्यापारीहरुले राज्य र जनतालाई पानी किन्न बाध्य बनाएका छन् । पहिल्यै महँगोको मारमा परेका जनतालाई झनै अप्ठ्यारोमा पार्ने काम खानेपानी मन्त्रालयले बनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले वाटर कम्पनीहरुसँग आर्थिक चलखेल गरेर पानीको मूल्य बढाइदिए । पानी व्यापारलाई बढावा दिन खानेपानीमन्त्रीले मूल्य बढाउने निर्णय गरेको बुझिएको छ । उनी पनि जनताप्रति होइन, व्यापारीपट्टि जिम्मेवार देखिएका छन् ।

अहिले पनि यस्ता धेरै जिल्ला छन्, जहाँ पानीकै लागि घन्टौं यात्रा गर्नुपर्छ । पानी नपाएर उनीहरुलाई दैनिकी टार्न निकै सकस परेको छ । तर, यसको फाइदा भने राजनीतिक दलहरुले लिएका छन् । पानी नभएको ठाउँमा पानी ल्याइदिन्छु भनेर वडाध्यक्ष र मेयरका उम्मेदवारहरुले भोट मागिरहेका छन् । घाउमा मलम लगाउने होइन, नुन छर्किने काम हाम्रो देशका राजनीतिक दलहरुले गरिरहेका छन् ।अरुको पीडालाई आफ्नो जित्ने हतियार बनाउन यिनीहरुलाई नैतिकताले दिन्छ ? भोट माग्ने बेला विभिन्न आश्वासन दिएकाहरुले भोलिको दिनमा त्यो ठाउँलाई फर्केर पनि हेर्दैनन् । यही काठमाडौंकै कुरा गरौं, कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले मेलम्चीको पानी कांग्रेसले ल्याएको भनेर भोट मागिरहेकी छिन् । हामी नेपालीको दुःख यिनीहरुको भोट माग्ने भाँडो बनेको छ ।

२०३१ सालको सरकारले मेलम्चीको पानी ल्याउनको लागि सर्भे गरेको थियो । २०४१ सालको सरकारले फेरि पनि दोहो¥याएर सर्भे गरेको थियो । २०४७ सालमा सांसदमा उम्मेदवारी दिएका कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु भनेका थिए । सरकारले पहिल्यै नै बनाइसकेको योजना र गरिसकेको तयारीलाई आफूले गरेको भनी कांग्रेसले भोट माग्न मिल्छ ?राजनीतिक दलहरुबाट पानीमा समेत राजनीतीकरण भएको छ । एमाले भन्छ– पानी ल्याउने तयारी हाम्रो पालामा भएको । यता, कांग्रेस भन्छ– उपत्यकावासीलाई मेलम्चीको पानी चखाउने हामी । विदेशीले दिएको ऋण र जनताले तिरेको करबाट मेलम्चीको पानी काठमाडौं ल्याउन सम्भव भएको हो । यिनीहरुको व्यक्तिगत सम्पत्ति बेचेर ल्याएको हो र ? काम गर्न नसक्ने अनि झुटा नाराबाजी गर्दै हिँड्ने ? काम गर्न सक्नेले झुटा नाराबाजी गर्नुपर्ने अनवश्यकता छैन । अब नेपालमा खाद्य र पानीको संकट मौलाउँछ । खाने मुख बढेको बढ्यै छ तर सिंचाइको अभावमा जमिनहरु बाँझै छन् ।

खाद्यान्नले धान्न नसक्ने भएर बाहिरबाट आयात गर्ने गरिएको छ । अब केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन्छ । सरकार अझै पनि जिम्मेवार नहुने हो भने माछा बाउँड्याझैँ नेपाली जनता छट्पटिन्छन् । भूमि सुधार मन्त्रालय र खानेपानी मन्त्रालयले जमिन र पानीका स्रोतहरु संरक्षण गर्न लाग्नुपर्छ । होइन भने मुलुकमा दुर्दशा शुरु हुन्छ ।

– कविता अधिकारी

प्रतिक्रिया दिनुहोस्