राजनीतिक स्वच्छता खै ?



यतिखेर मुलुक स्थानीय निकायको चुनावको सरगर्मीले निकै तातेको छ । दर्ता भएर अस्तित्वमा रहेका सबै राजनीतिक दलका चुनावी प्रचारप्रसार कार्यक्रमका साथै, चुनावी -याली, जुलुस, सभा आदि कार्यक्रमहरु देशभर नै भइरहेका छन् । यी कार्यक्रमसहित हरेक राजनीतिक दलका उम्मेद्वारसँगै अन्य कार्यकर्ताहरुको समूहले बजागाजाका साथ घरदैलो कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छन् । वास्तवमा स्वच्छ राजनीति गर्नेहरुका लागि यही तरिका अपनाउनु सबैको लागि आवश्यक सर्त हो ।

आम मतदाताको मन जितेर पाइने अत्यधिक मतबाट विजयी बन्ने उम्मेदवार मात्रै आम जनताको प्यारो जनप्रतिनिधि हुन सक्छ भन्ने कुरा सत्य हो । तर यसै परिवेशमा हेर्ने हो भने देशका कुनै भागमा आम मतदाताको मानसिकतामा आघात पुग्ने तरिकाले जबरजस्त रुपमा फलानो व्यक्तिलाई भोट नहाले वा नजिताए कतै पैसा नपठाउने त कतै देश दुर्घटनामा पर्ने भन्नेजस्ता भ्रामक अभिव्यक्ति पनि निकै जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताबाटै आइरहेका कुरा हामीले सुन्न पाउँदै छौँ ।

कोही पनि जिम्मेवार राजनीतिक दलको एउटा जिम्मेवार नेताले भोट माग्ने तरिका धम्कीको भाषा नभई विनम्रताको, प्रतिबद्धताको, इमानदारिताको, आम मतदाताले पत्याउने खालको भाषा हुनुपर्ने थियो होला । तर नातावादको दलदलमा फसेका र कोही विगतको नेपालको राणा शासकको हैसियत राखेर आम जनतालाई मनपर्दीरुपमा दमन गर्न अलिकति पनि नहिच्किचाउने तथा आफूलाई सर्वेसर्वा ठान्ने घरानाका जिम्मेवार नेताबाट यस्ता अभिव्यक्ति आउनु भनेको फोहोरको डङ्गुरले भरिएको र धेरै मात्रामा दुर्गन्धित बन्न पुगेको हाम्रो राजनीतिको छविलाई अझै धेरै दुर्गन्धित बनाउने प्रयास गर्नुभन्दा अरु केही होइन ।

आफ्नी छोरी रेणु दाहाललाई चितवनको भरतपुर नगरपालिकाको मेयरको पदमा विजयी बनाउनको लागि चुनावी प्रचारप्रसारमा लाग्दै दलबलसहित पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यदि भरतपुर महानगरमा छोरी रेणुले मेयरको पदमा विजयी बन्न नसकेको खण्डमा देश दुर्घटनामा पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिए ।

त्यसो त गएको चुनावमा मतपत्र च्यातेर धाँधली गरी रेणुलाई भरतपुरमा जिताइएको थियो भन्ने आरोप र आलोचनाको मार खेपेका प्रचण्डले धम्कीको भाषामा दिएको अहिलेको अभिव्यक्तिलाई बौद्धिक दृष्टिबाट हेर्दा हास्यास्पद लाग्छ भने नागरिक स्वतन्त्रताको पक्षबाट हेर्दा मानव अधिकारको हनन गर्ने खालको रुपमा लिन सकिन्छ । प्रचण्डको यस अभिव्यक्तिले विगत २०५२ देखि २०६२ सम्मको जनयुद्धको नाम दिइएको दशबर्से युद्धको कमान्डर रहेका कमरेड प्रचण्डको दिमागमा त्यही कमान्डरी छापले छोड्न नसकेको हो कि भन्ने विश्लेषण गर्न सकिन्छ । सामान्य नागरिकको होस् कि अरु जोसुकैको नजरबाट दृष्टि लगाउँदा होस्, कुनै अमुक व्यक्तिले कुनै स्थानीय निकाय महानगर, नगरपालिका, वडा जहाँ भए पनि खासै फरक पर्नेवाला देखिँदैन ।

ती–ती पदमा उम्मेदवारी दिने व्यक्तिले कम्तीमा पनि आफ्नो हैसियत नापजाँच गरेर उम्मेदवारी दिएको हुँदो होला । एउटा नगर अथवा महानगरको अमुक उम्मेदवारले नजितेमा सिङ्गो देश दुर्घटनामा पर्ने भन्ने कुरा साना बच्चाले पनि नपत्याउने हुन्छ भने आम सचेत नागरिकलाई पत्याउन वा आत्मसात् गर्न धेरै गाह्रो परेकोे छ । देश गणतन्त्रमय भयो भनेर आम जनतालाई विश्वास दिलाउन खोज्ने नेताकै मुखबाट यस्तो अशोभनीय अभिव्यक्ति आउनु कुनै हालतमा राम्रो सङ्केत होइन ।

चुनावी दौडमा कसैको हार होला त कसैको जित होला तर अन्तिम निष्कर्ष जे भए पनि त्यसलाई आत्मसात् गर्नेछु भनेर चुनावी दौडको प्रतिस्पर्धामा जान परेको हो । नत्र कमरेडको जस्तै धम्कीको भाषा बोलेरै नातावादको घेरोमा लीन बन्नु नै थियो भने अर्बौं रुपियाँ खर्च गरी देशको ढुकुटी रित्याएर होस् कि अरु देशसँग ङिच्च दाँत देखाई मागेर होस् धानिएको चुनावी खर्च गर्नुको वा चुनाव गराउनुको औचित्य के नै भयो र ?

कमरेड प्रचण्डले छोरी रेणुलाई जिताउनको लागि यस्ता खालका विवादास्पद र आपराधिक मानसिकताले भरिएका अभिव्यक्ति पस्कँदै र आम मतदातालाई तर्साउने काम गर्दै छन् भने एउटा सार्वभौम सत्ता सम्पन्न देशको शासक बनेका प्रधानमन्त्री शेरबहादुर देउवा दलबलसहित चितवनको भरतपुर पुगेर प्रचण्ड–पुत्री रेणुलाई मेयरको पदमा जिताउन मतदातालाई आकर्षित गर्नको लागि भाषणमा जुटेका छन् । हिजोका दिनमा शासकको कुर्सीमा बसेका केपी ओलीलाई कुर्सीबाट हटाई देउवालाई उचालेर थपक्क कुर्सीमा राख्ने र आफ्ना राजनीतिक तुष्टिहरु दबाब दिएरै पनि पूरा गराउन खोज्ने प्रचण्डको दोधारे चरित्रको सिकार बनेका शेरबहादुर देउवाले प्रचण्डका सामु लाचारीका साथ निहुँरिएर प्रणाम गरिरहेका छन् ।

आफ्नो स्वभिमानको अलिकति पनि ख्याल नगरी सत्ताकै कुर्सीका लागि मरिमेट्ने निरीह देउवा नेतृत्वको सरकार आम जनताले के कुराको अपेक्षा गर्न सकिएला भन्ने प्रश्न आम जनताको मनमा उब्जन थालेको छ । कोही पनि स्वाभिमानी मानवका लागि देउवा प्रवृत्तिजस्तो लाचारी प्रवृत्ति मानसिकरुपमै लाज मर्दो प्रवृत्ति हो भन्ने लागेको छ ।२०५२ सालदेखि भूमिगत बनेर युद्धमा लागेको माओवादीका कमान्डर प्रचण्डको टाउकाको मूल्य तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आएर त्वंशरणम्को मानसिकता र कर्म अपनाएर बाँच्न विवश छन् । उनी नियम विपरीतको काम गर्न बाध्य छन् वा कि सत्ता टिकाउनको लागि रहरले नै त्यो काम गर्दै छन् भन्ने कुरा उनी आफैँ जानून् । आखिर जे भए पनि उनी शासकको भेषमा रहेका केवल कठपुतली रहेछन् भन्ने कुरा दुनियाँले अहिले बल्ल थाहा पायो । उनी अहिले भरतपुरमा रहेका आफ्ना मातहतका कार्यकर्तालाई रेणु दाहाललाई भोट दिएर जिताउनको लागि अनुरोध गर्दै छैनन् कि आदेश फर्माइरहेका छन् । उनको आदेश फर्माउने शैली राणा प्रधानमन्त्री श्री ३ महाराजाहरुको जस्तो छ ।

दशबर्से जनयुद्धको नायक बनेका प्रचण्डसँग आम जनता र उनका विश्वासिला कार्यकर्ताले २०६२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शान्तिवार्ता हुँदै गरेको बेलामा निकै ठूलो अपेक्षा राखेका थिए । तर उनले हतारमा शान्तिवार्ता सकेर आफ्ना लडाकू सेनाहरुको मन अलिकति दुखाउने काम गरे । उनको कालो मन नबुझ्ने सोझा र इमानदार कार्यकर्ताले सोचे– यतिका अनुभवी नेताले हामीमाथि अन्याय हुन दिने छैनन् । परन्तु उनीहरुले सोचेजस्तो न्याय दिन त उनले सक्तै सकेनन्, त्यसको एकछेउ अपेक्षा पनि पूरा गर्न सकेनन् । त्यसपछिका दिनमा उनी पहिलोपटक नेपालको कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन पुगेका बेला आम कार्यकर्ताले सोचे कि अबचाहिँ हामी सबैमाथि पक्कै न्याय हुनेछ ।

उनले आफूलाई धेरै कुरा अनुभव नभएका कारण कार्यकर्ता र आम जनताले सोचेको अपेक्षा पूरा गर्न सकिन भनेर आँखामा आँसु भरिएको पो हो कि जस्तो अभिनयसमेत गर्न भ्याए । होला नि त अनुभव नभएका मान्छेले कसरी सबै चोचोमोचो मिलाउन सक्छ त ? भनेर नबुझेको चित्त पनि बलजफत बुझाए । उनी पुनः दोस्रोपटक नेपालका कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन पुगे तापनि उनले कामको नाममा एउटा माखोसमेत मार्न सकेनन् । उनको यो लाचारीले गर्दा उनका आम कार्यकर्ता र पहिलेका लाडाकूहरुलाई समेत निकै निराशा थपिन पुग्यो ।

आफ्नो राजनीतिक दलको त के भनौँ र उनको गुणगान गाउने बैठक सम्पन्न गर्दा त्यसलाई महत्वपूर्ण चमत्कार भयो भनेर चित्रण गर्न सिपालु प्रचण्डले अहिले आएर यो पुत्री जिताऊ अभियानको मोहमा डुबेको देखेर दुनियाँ कोही पीडाले रुन्चे हाँसो हाँसेको छ भने कोही उनको हर्कतलाई गिल्ला गरेर पनि हाँस्दै छ । अहिलेको सन्दर्भमा जे बोलिए वा सोचिए पनि यो छोरी जिताउको हर्कतले गर्दा उनको पतनतिरको बाटो निकै फराकिलो र उत्थानतिरको बाटो केही मात्रमा साँघुरो बन्दै जान थालेको छ ।अहिलेको राजनीतिक परिवेशमा मञ्चन हुँदै गरेको यो नाटकले सबैभन्दा अधिक असर हालका युवा पुस्तालाई गरिरहेको छ । विगतमा रचना भइरहेका राजनीतिका फोहोरी हर्कतहरुलाई फोहोरको डङ्गुरमा थुपारेर भए पनि सफा बनाउने प्रयास होला कि भनेर आम जनताले अपेक्षा गरेका थिए । तर त्यो अपेक्षाको ठीक विपरीत हर्कत गरेर नेपालको राजनीतिलाई फोहोरको भाँडोमै बदल्ने हर्कत बढेर जान थालेको छ ।

बूढी मरी भन्दा पनि काल पल्कियो भनरे डराउनुपर्छ भन्ने भनाइलाई मध्यनजर गर्दा कमरेड प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबाट त्यस्तै खालका हर्कत भइरहेका छन् । यी सबै खराब हर्कतले गर्दा हाम्रो देशको राजनीति यति धेरै फोहोर वा पत्रु बनेर जान थालेको छ कि अहिले सङ्घारमै आइपुगेको स्थानीय चुनावको रौनक पैसा थापेर उम्लनेदेखि लिएर, मासुभात हसुरेर दौडनेहरुलाई त अवश्य लागेको होला तर कोही साधारण मानिसले चुनावप्रति चासो देखाएर तरिकाप्रतिको चासो राख्नुको साटो मनले नगर नगर भन्दाभन्दै हठात कसैले कर लगाएर भिडाएको जस्तो र विरोधको कुरा गर्दा आश्वासनको पोको थमाएर उम्कने प्रवृत्ति हाबी भएको वर्तमान राजनीतिलाई धेरै फोहोर बनाएर वा दुर्गन्ध फैलाएर अगाडि बढ्न पनि सक्दैन, सजायको डर पनि उसलाई भएको हुँदैन । त्यसकारण अबको स्थानीय चुनावमा विजेता बनेर जाने जो कसैलाई पनि राजनीतिलाई स्वच्छ बाटोमा हिँडाउनुपर्छ भन्ने मानसिकताको विकास गराउनुपर्ने कुरा अहिलेको परिवेशका लागि सान्दर्भिक रहेको छ ।

चाहे जुनसुकै राजनीतिक दलका वा स्वतन्त्र उम्मेदवार जोसुकै हुन्, राजनीतिलाई फोहोरी र घिनलाग्दो बनाएर अगाडि बढाउनु वर्तमानको पुस्ता होस् कि भविष्यको कुनै पुस्ताको कुरो होस्, त्यसले दुर्घटना ननिम्त्याइछोड्दैन । हाम्रा हरेक राजनीतिक दलहरुले आ–आफ्ना स्वच्छ आचरण र क्रियाकलाप अपनाउनुको साटो विदेशबाट आयात गरिएका फोहोरी र विसङ्गतिको अन्धो अनुसरणका कारण आज नेपाल देश भुमरीमा डुब्दै जान थालेको छ । यसलाई त्यो विपत्को अवस्थाबाट जोगाएर त्राण पाउनको लागि राजनीतिक स्वच्छता कायम गर्नु जरुरी हुन्छ । राजनीतिले अरु कुनै पनि क्षेत्रलाई नछोई खुरुखुरु आफ्नै बाटोमा हिँड्न सकेको भए हाम्रो देशको राजनीति अहिले पनि धेरै स्वच्छ र बलियो बनाउन सकिने थियो । आज स्थानीय चुनावको पूर्वसन्ध्याको यो क्षणमा जुन राजनीतिक दलले संयमका साथ राजनीतिक स्वच्छता कायम गर्न सक्ला उसैले शासनको अभिभारासमेत साम्य र उन्नतशील बनाएर लैजान सक्ला कि भन्ने अपेक्षा हामी सबैको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्