असहिष्णुताको पहाड



स्थानीय निकाय निर्वाचनको मिति नजिकिदै गर्दा दलका शीर्ष नेताहरुको अभिव्यक्तिले मु्लुक असहिष्णुतायुक्त पहाडको चुचुरोतिर चढ्दैगरेको देखिएको छ ।

दलका शीर्ष नेताहरु मुलुक बनाउने परिदृश्य नभएपछि एकले अर्कालाई खुइल्याउने काममा ब्यस्त भए । विनासकारी भूकम्प र त्यसपछि बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण थिलथिलो बनेको मुलुकको अर्थतन्त्रलाई कसरी मजबुत बनाउने भन्ने अभियानमा लाग्नुपर्ने दलका नेताहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्नअर्को दल र नेतालाई अपमान गर्न कम्मर कसेर लागे ।मुलुकमा क्रियाशील दलहरुका नेताहरुमा देखिएको दोहोरो चरित्रले उनीहरुको भिजन कस्तो हो भन्ने छर्लङ्ग हुन्छ ।

मुलुकका समस्या एकातिर छन् तर दलका नेताहरु भने युरोप–अमेरिकाको सपना जनतामा बाँंढ्न ब्यस्त देखिन्छन् । जनताको आवश्यकता के हो, मुलुकले के खोजेको छ भन्दा पनि दलीय नेताहरु सपनाका पोका बाँडेर जनतालाई दिग्भ्रमित बनाइरहेका छन् । ठूला उद्योग कलकारखाना खोली मुलुकमा नै रोजगारी सिर्जना गर्नेतर्फ कुनै पनि दलको ध्यान गएको देखिंदैन ।

हजारौं युवा दैनिक रोजगारीका लागि विदेशिने क्रम रोकिएको छैन । खासगरी भ्रष्टाचार सबैभन्दा जटिल दागका रुपमा छ, त्यसतर्फ दलका नेताहरुको ध्यान जान सकेको छैन । भ्रष्टाचार नियन्त्रण गर्ने तर्फ कुनै दलले चासो नदेखाउनु साँच्चिकै रहस्यको विषय बनेको छ । मुलुकभर सञ्चालित बिभिन्न परियोजनाहरु समयमा सम्पन्न हुनसकेको देखिदैन ।

त्यस्ता परियोजना निर्माण गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा उनीहरुलाई संरक्षण गर्ने काम दलका नेताहरुबाट नै भइरहेको देखिन्छ । मुलुक किन बनेन भनेर दलका नेताहरुको अहिले एउटै मञ्चमा बसेर मन्थन गरेको देखिदैन । आफ्ना नातागोता र कार्यकर्तालाई कसरी चाँढै धनी बनाउने र त्यसबाट आपूmले पनि कसरी फाइदा लिने भन्नेमा नै नेताहरु तल्लीन भएको देखिनुले मुलुक कता जादै छ भनेर अनुमान गर्न सकिन्छ ।राष्ट्रियताको मुद्दामा एकठाउँमा उभिन नसक्ने नेपालका राजनीतिक दलबाट मुलुक समृद्धितर्फ जान्छ भनेर कल्पना गर्न सकिने अवस्था छैन । आगामी शुक्रबार हुने निर्वाचनमा उनीहरुले देशभर बाँडेको सपना हेर्दा लाजलाग्ने अवस्था सिर्जना भएको छ भन्दा अयुक्ति हुँदैन ।

जनताले दलका नेताबाट ठूलो अपेक्षा पनि गरेको देखिदैन । भएका संरचनाको संरक्षण र चरणबद्ध रुपमा गर्नुपर्ने विकास निर्माणको कामलाई व्यवस्थित गर्न, शिक्षाको पहँुंच गाउँंगाउँसम्म पु-याउन, स्वास्थ्य, खानेपानी, मोटरबाटो लगायतका कामलाई निरन्तरता दिन र त्यसमा हुने भ्रष्टाचार रोक्न आग्रह गरेको भएपनि नेताहरुले भने ती बिषयलाई गौण बनाएर मुलुकले धान्नै नसक्ने योजनाको पुलिन्दा छरेका छन् । जनतालाई दिग्भ्रमित गर्ने काम भएको छ ।

गर्नसक्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्न सके जनतामा टुट्दै गएको विश्वासलाई फर्काउन सकिएला होइन भने नेतामाथि लाग्दै आएको आरोपमाथि आरोप थपिने छ । गए रातिबाट निर्वाचनको मौन अवधि सुरु भएकाले कसैबाट केही चुनावी घोषणाको अपेक्षा त गर्नसकिन्न, तर विजयी बन्ने जनप्रतिनिधिले सबैलाई समेट्ने व्यावहारिक योजना बनाउन जनतालाई आमन्त्रण गर्नु आवश्यक देखिन्छ । आशा गरौं, त्यसबेला गालीको भाषा बोलिने छैन ।

प्रतिक्रिया दिनुहोस्