आजदेखि देशैभरका विद्यालय ६ दिन बिदा



काठमाडौं ।

सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो ।

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन् । बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो ।’हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन् । करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । त्यसबाहेक अन्य विद्यालयको हकमा निर्वाचनको माहोल भएको र मताधिकार भएका शिक्षक र विद्यालय कर्मचारी जिल्ला जानुपर्ने भएकाले बिदा भएको हो । महासंघका अध्यक्ष तुलाधरले भन्नुभयो– ‘सार्वजनिक बिदा नभए पनि आजबाट पठनपाठन हुने अवस्था छैन ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो । सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ ।केन्द्रका महानिर्देशक चूडामणि पौडेलले मतदान केन्द्र भएका विद्यालयमा मात्रै बिदा दिने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अन्य विद्यालयको हकमा हामीले निर्णय गरेका छैनौं, तर अधिकांश आज बुधबारबाट बन्द हुने सुनेको छु ।’शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार मतदान केन्द्र भएका विद्यालय तीन दिनसम्म बन्द हुने बताउनुभयो । उहाँले निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द हुने जानकारी दिनुभयो ।

सरकारी निर्णयअनुसार २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछन् । सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख ३१ गते शनिबार परेको छ । १ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुनेछन् । सरकारले हिजो मंगलबार राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि देशभरका सरकारी निकाय र शिक्षालय बिदा दिने जनाएको छ । सो निर्णयअनुसार अब सातामा दुई दिन बिदा दिने विषय लालमोहर लागेको छ ।

प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सबै निजी विद्यालय ५ दिनका लागि बिदा हुने जानकारी दिँदै भन्नुभयो– ‘हामीले सार्वजनिक सूचना जारी गरेका छैनौं, आजबाट सबै विद्यालय बन्द हुनेछन् ।’ ‘उपत्यकाका विद्यालय आजबाट बिदा भइसकेका छन्, अन्य जिल्लाका विद्यालय पनि बन्द गर्ने सुनेको छु’ –अध्यक्ष ढुंगानाले भन्नुभयो । उहाँका अनुसार आजबाट प्याब्सनअन्तर्गत सबै विद्यालय बन्द हुनेछन् ।

त्रिविको पनिका ६ दिन बन्द

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय आजबाट ५ दिन बन्द हुने भएको छ । त्रिवि पनिकाले सूचना जारी गरी स्थानीय निर्वाचनको मतदान प्रयोजनका लागि पनिकालाई मतदान केन्द्र तोकेको हुँदा मतदानको पूर्व तयारी र सुरक्षा व्यवस्थापन गर्न बुधबार र बिहीबार सबै सेवा बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

अन्य क्याम्पस र विश्वविद्यालय पनि आजैबाट बिदा गर्ने तयारी भएको छ । २९ गतेसम्म सबै मतदाता घरघर जानुपर्ने भएकोले आजैबाट बिदा दिने सबैको तयारी छ ।त्रिवि पनिका पनि ६ दिन बन्द हुनेछ । २८ देखि ३० गतेसम्म मतदान हुने, सरकारको निर्णय अनुसार ३१ र १ गते आइतबार र २ गते बुद्धजयन्ती परेकाले ६ दिन बिदा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्