वलिङका मेयर उम्मेदवारका चुनावी एजेन्डा : सम्मृद्धि र विकास



उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवार आ–आफ्ना एजेन्डा लिएर जनतामाझ जान थालेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसबाट यसअघिका मेयर दिलीपप्रताप खाँण र कविता तिवारी (गैह्रे) तथा नेकपा एमालेबाट कृष्ण खाँण र खगीसरा थापाले उम्मेदवारी दिएका छन् । दुवै पार्टीले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । दुवै पार्टीका मेयर र उपमेयरका उम्मेदवारहरुसंग उनीहरुका योजनाको बारेमा नेपाल समाचारपत्र दैनिकका लागि स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको संवादको संपादित अंश:

दिलीपप्रताप खाँणमेयर पदका उम्मेदवार नेपाली कांग्रेस

नयाँ संविधानअनुसार तीन तहको सरकारको पहिलो निर्वाचनले प्रतिनिधि बनाएको व्यक्तिका रूपमा तपाईंको अनुभव कस्तो छ ?

मेरो अनुभवमा यो पहिलो प्रयास थियो । पहिलो प्रयासमै मैले धेरै कामको शुरुआत गरेको छु । संविधानले स्थानीय तहलाई २२ वटा अधिकार दिएको छ । तिनै अधिकारको परिधिमा रहेर मैले काम गर्न सकेजस्तो लाग्छ । विगतका ५ बर्षमा संविधानको आशयअनुसार सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा मात्र मैले काम गरेको छु । नेपालमा यो ३ तहको सरकारको नौलो अभ्यास थियो । यो अभ्यासमा मेरो अनुभव सकारात्मक नै छ । निर्वाचित भएर आएपछि बिदा लिने समयसम्म आइपुग्दा जुन परिकल्पनाका साथ आएका थियौं सोचेजस्तो प्रगति गर्न सकिएन । हामीलाई धेरै कुराको अभाव थियो । २०औं वर्षसम्म जनप्रतिनिधिको अभावमा कर्मचारीले शासन व्यवस्था सञ्चालन गरेका थिए । थुप्रै ऐन तथा कानुन निर्माणदेखि भौतिक पूर्वाधार निर्माणका कामहरु गर्नुपर्ने भएकाले निकै समस्या हुँदो रहेछ । हामीले थुपै्र जटिलता पार ग-यौं । अब आउने जनप्रतिनिधिले त्यो झेल्नु नपार्ला ।

पाँच वर्षअघि निर्वाचनमा भाग लिँदा तपाईंले गर्नुभएका कुन घोषणा पूरा भए, कुन पूरा हुन सकेनन् ?

पाँच वर्षअघिका घोषणा अधिकांश सैद्धान्तिक थिए । यस अवधिमा घोषणाअनुसार धेरै कामहरु सम्पन्न भएका छन् । ती सबैको फेहरिस्त यहाँ सम्भव नहोला । कानुन निर्माणका कामहरु पूरा भएको छ । २० वर्षको दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाइएको छ । २० वर्षमा स्मार्ट सिटी बनाउने योजना अनुरूप बेसिक सिटी निर्माणको काम शुरु भएको छ । हामीले सकेसम्म वालिङवासी जनताहरुलाई संघीयताको अनुभूत हुने गरी सेवा प्रवाह गर्न खोज्यौं । हरेक विषयलाई गम्भीरताका साथ लियौं । संघीयताको महसुस हुने गरी नै हामीले पहलकदमी ग¥यौं । विकासका कामदेखि यावत् कुराहरुको सेरोफेरोभित्र हामीले संघीयताको मर्मलाई आत्मासाथ ग¥यौं । जनताको घर–घरमा पुगेर सेवाप्रवाह गरेका छौं । संघीयता आइसकेपछि अलिकति फरकचाँहि पर्दोरहेछ, स्थानीय सरकार पनि अधिकारसम्पन्न हुने र यसले इच्छाशक्तिका साथ ऐनकानुनलाई सर्वोपरी मानेर काम गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने कुरा वालिङवासीले अनुभूत गरेका छन् ।

फेरि तपाईंलाई नै भोट दिनुपर्ने कारण ?

यो बीचमा केन्द्र सरकारले सहयोग नगरेका कारण साढे २ वर्षबाहेक राम्रोसँग काम गर्न पाइएन । मेरा धेरै अधुरा योजना योपटक पूरा गर्ने इच्छा छ । मेरो योजनामा शहरी सडक तथा रिङरोडको विकास, ढल निकासको प्रवन्ध, सवारी पार्किङको प्रबन्ध, सम्पदाहरुको संरक्षण र पर्यटन विकास, फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षण, ऊर्जा उत्पादन तथा विद्युतीकरण, औद्योगिक तथा घरेलु उद्योगको विकास, स्वास्थ्य शिक्षा तथा अस्पतालहरुको स्थापना, प्रशासनिक सुधारलगाययत मेरा केही दीर्घकालीन र अल्पकालीन योजनाहरु सार्वजनिक गरेको छु । विगतमा हामीले जे–जति ग¥यौं÷गर्न सक्यौं वालिङवासीले सकारात्मक ढंगले लिनुभएको छ । अहिलेसम्मको अवस्थामा आउनुका लागि वालिङमा बसोवास गर्ने र विदेशमा बस्ने सम्पूर्णमा वालिङवासी साथीभाइको सहयोगले सम्भव भएको हो । यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । वालिङवासी जनतालाई प्रदेश र संघभन्दा स्थानीय तह अलिकति फरक भएकाले इमानदार, कुशल, अनुभवी, योग्यता, दक्षता, क्षमता भएको जाति, पार्टी र धर्मभन्दा अलि माथि उठेर त्यस्ता व्यक्तिलाई आउँदो निर्वाचनमा मध्यनजर गरी निर्वाचित गर्न पाए अझ वालिङ नगरपालिका समृद्ध बन्न सार्थक हुनेछ । त्यसका लागि मलाई नै भोट दिनुस् भन्न चाहन्छु ।

कृष्ण खाँण
मेयर पदका उम्मेदवार
नेकपा एमाले

वालिङ नगरपालिकाको मेयरमा तपाईंको दाबी किन ?

नेपाल सरकारले वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेको भए तापनि सोअनुरूप काम हुन नसकेकाले उक्त काम सम्पन्न गर्नका लागि मेयरमा मेरो दाबी छ । त्यस्तै, वालिङ नगरपालिका ग्रामीण नगरपालिका हो, ग्रामीण कृषकको उत्थान नगरिकन विकास र सम्मृद्धि सम्भव छैन । विकास र सम्मृद्धिका लागि मेरो उम्मेदवारी हो । विकास निर्माण गाउँबाट शुरु गर्नुपर्नेछ । विगतमा पनि कृषिका विषयमा खासै काम हुन सकेन । बजारमा मात्र भीड बढेको छ, गाउँ शून्य छ । गाउँमै बस्ने वातावरण निर्माणका लागि समेत मेयरमा मेरो दाबी हो । अहिले मलाई आफू जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यसैले मेयरमा मेरो दाबी छ ।

वालिङमा विभिन्न पार्टीका उम्मेदवारले मत मागिरहेका छन् । तपाईले आफूलाई नै भोट माग्ने आधार के ?

विगतमा कुनै ओहोदामा नरहँदा पनि मेरो अनुभव र क्षमताले भ्याएसम्म वालिङको विकास निर्माणका लागि मेरो पनि योगदान रहेको छ । पूर्वाधारको हिसावले वालिङमा भनेजति काम हुन सकेका छैनन् । पदमा नरहँदा त विकास निर्माणका काममा खटिइरहने कृष्ण खाँण पदमा पुग्यो भने झन् कति काम गर्ला भनेर नगरवासी मप्रति आश्वस्त हुनुहुन्छ । मलाई भोट माग्ने आधार भनेकै निरन्तरताको समाजसेवा हो । विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध वालिङ, सुखी वालिङवासीको आकांक्षा पूरा गर्ने प्रस्ट लक्ष्यसहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रूपमा नेकपा एमालेलाई जनताले चिनेको कुरा नै मेरो भोट माग्ने आधार हो ।

तपाईंको उम्मेदवारीप्रति मतदाताको धारणा कस्तो पाउनुभयो ?

२०५४ सालमा पनि यस नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवार थिएँ । त्यति बेला उपविजेतामै चित्त बुझाउनुप-यो । अहिले भने मेरो उम्मेदवारीप्रति मतदाताको धारणा सकारात्मक पाएको छु । मतदाताको शीर कहिल्यै पनि झुक्न दिने छैन, तसर्थ सम्पूर्ण जनसमुदायलाई मलाई मतदान गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्