महानगरवासीलाई पहिलो उपहार खानेपानी : हरिकृष्ण व्यञ्न्जनकार



यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार बलियो प्रतिस्पर्धीको देखिनुहुन्छ । संघीय सरकारले दिएको अनुदानबाट भएका विकास निर्माणका कामलाई महानगरपालिकाले गरेको भन्दै जनतालाई झुटो आश्वासन दिएको भन्ने आरोप खेपिरहेका प्रतिस्पर्धी चिरिबाबु महर्जनसँग उहाँको प्रतिस्पर्धा हुनेदेखिन्छ ।व्यञ्न्जनकार र महर्जनबीचको चुनावी प्रतिस्पर्धामा व्यञ्न्जनकार अघिरहेको कतिपयको विश्लेषण छ । एमालेका व्यञ्न्जनकार र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले जारी गरेको ५९ बुँदे चुनावी घोषणापत्रमा महानगरवासीसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्ने विषय उल्लेख छ । अघिल्लोपटक झिनो मतले पराजित भएका मेयर पदका उम्मेदवार व्यञ्जनकारसँग नेपाल समाचारपत्रका ईश्वरराज ढकालले गरेको कुराकानी :

तपाईंको समूहले विजय हासिल गरेमा नगरबासीले पहिलो उपहार के पाउँछन् ?

पहिलो प्राथमिकता खानेपानीको धारा नपुगेको घरमा धारा पु-याउने हाम्रो टिमको पहिलो उपहार हुनेछ । यही विषयमा पहिलो निर्णय हुनेछ । सबै महानगरबासीले शुद्ध पानी पिउन पाउने छन् । मुलुकमा बढ्दै गइरहेको शहरीकरण र जग्गा प्लटिङ्का कारण पानीका मूलहरू सुक्दै गइरहेकाले जनताले भोग्नुपरेको चरम खानेपानी समस्या समाधानमा लाग्ने मेरो योजना छ । भर्खरै उपत्यका भित्रिएको मेलम्ची खानेपानी आयोजनालाई व्यवस्थित गरी उचित वितरणमा लाग्नेछु । महानगर बाहिर रहेका विभिन्न मूल तथा वैकल्पिक पानीको स्रोत खोजी गरी महानगरबासीलाई पानीको समस्याबाट मुक्त बनाउनेछु । आकाशे पानी संकलन गर्न प्रोत्साहन गर्नेछौं ।पानीका स्रोतको सरसफाइ तथा संरक्षणमा विशेष जोड दिनेछांै । खुलाक्षेत्रमा पोखरी निर्माण गरी जमिन रिचार्ज प्रणाली स्थापना गरिनेछ । मुलुकमा दैनिक देखिएको फोहरमैला व्यवस्थापनका लागि लाग्नेछु ।

शिक्षा र स्वास्थ्य क्षेत्रका योजना के छन् ?

व्यावसायिक शिक्षाको आवश्यक रहेको महसुस गरेका छौं । सोही प्रकारको शिक्षा लागु गर्ने योजना बनाएको छु । ललितपुर महानगर कला र संस्कृतिको धनी भएका कारण कलाको विकासका लागि कला र संस्कृतिमा आधारित महाविद्यालय खोल्ने छौं । असाध्यै जेहेन्दार र गरिब व्यक्तिको पहिचान गरी छात्रवृत्तिको व्यवस्था गर्नेछौं ।सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेछौं । महानगरभित्र रहेका सरकारी र समुदायिक अस्पताललाई अनुगमन गरी व्यवस्थित बनाउने छौं । सरकारी तथा सामुदायिक विद्यालयहरूमा मातृभाषा पाठ्यक्रमको विकास गर्नेछौं । सामुदायिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रूपमा विकास गर्नेछौं । निजी र सरकारी विद्यालयबीच शैक्षिक सहकार्य गर्ने विषयमा योजना बनाउनेछाैं ।स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । राम्रो स्वास्थ्यबिना मानिसको सुन्दर जीवनको कल्पनासमेत गर्न सकिँदैन । सो कुरालाई मनन गरी महानगरभित्र ७० वर्ष उमेर नाघेकाको ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्नेछौं प्रत्येक वडामामा एम्बुलेन्स र शव वाहन सञ्चालन गर्नेछौं । ‘स्वस्थ नागरिक स्वस्थ महानगर’ अभियान चलाउनेछौं । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नेछौं । नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । सबै वडामा हेल्थ डेक्स सञ्चालन गरी सोमार्फत उपचार शुरू गर्नेछाैं । महानगरभित्र रहेका अस्पतालसँग सहकार्य सहुलियत उपचारको प्रबन्ध गर्नेछौं । सबैको नियमित स्वाथ्य परीक्षण गर्ने व्यवस्था मिलाउनेछौं । दीर्घरोरीलाई निःशुल्क उपाचारको व्यवस्था गर्नेछौं ।

 कला तथा संस्कृति जगेर्ना गर्न कस्तो योजना बनाउनुभएको छ ?

विश्वमा मूर्त तथा अमूर्त कला तथा सांस्कृतिक सम्पदा रहेका हुँदा सोको संरक्षण गर्दै समृद्ध महानगरको रूपमा विकास गर्ने अभियान चलाउनेछु । महानगरभित्र रहेका खोकना, बुङ्मती, हरिसिद्धिलगायत सम्पदा बस्तीलाई व्यवस्थित बनाउनेछाैं ।पर्व तथा जात्राको संरक्षण र रेखदेखमा विशेष ध्यान दिने छौं । त्यसको लागि छुट्टै कोष स्थापना गर्नेछौं । यसै गरी यस महानगरमा मुलुककै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा, कृष्णजन्माष्टमी, भीमसेन खटजात्रा, मतया पर्व, तान्त्रिक नाचका साथै मुलुककै लामो कार्तिक नाच आदि मनाइने हुँँदा सोको संरक्षणमा विशेष ध्यान दिने योजना बनाएका छौं ।२०७२ सालको भूकम्पले ध्वस्त र क्षतिग्रस्त बनाएका सम्पदा पुनःनिर्माणको कामलाई उच्च प्राथमिकतामा राख्नेछौं । अबको तीन वर्षमा बाँकी रहेका सम्पदाहरू निर्माण पूरा गर्नेछौं । २०७२ सालको मात्र नभै विसं १९९० सालको भूकम्पले बिगारेका केही धरोहर अझै पुनर्निर्माण गर्न बाँकी छ । त्यसलाई पूर्णता दिइनेछ ।पाटीपौवा तथा ढुङ्गेधारा जीवित राख्न पानी रिचार्ज हुने व्यवस्था मिलाउनेछु । गुठीहरूलाई आत्मनिर्भर बनाउन पहल गर्नेछौं । पर्यटकीय नगरी ललितपुरको पहिचान बढाउन होटल, लज, होमस्टेलाई प्रवद्र्धन गर्नेछौं । ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका क्षेत्र समेटेर धार्मिक पर्यटन पदयात्रा निर्माण गर्नेछौं ।

भौतिक पूर्वाधार र खेलकुदतर्फ तपाईंको सोच के रहेको छ ?

म विजयी भएको पाँच वर्षभित्र महानगरका हरेक सडक कालोपत्रे हुनेछन् । सडकको क्षेत्रफलभित्र रहेका संरचनाले आवतजावत गर्न अवरोध पु-याएका छन् । त्यस्ता घरको विषयमा घरधनी र स्थानीयसँग छलफल गरी सडक विस्तार पूरा गर्नेछौं ।सडक विस्तार गर्न आवश्यक रहेका ठाउँका व्यक्तिगत जमिनको मूल्याङ्कन गरी क्षतिपूर्तिको लागि पहल गर्नेछु । ल्यान्ड पुलिङ अवधारणा शुरू गर्नेछौं । आवश्यक पूर्वाधारको योजना तयार गर्न विज्ञसहितको उच्चस्तरीय समिति बनाउने छौं । सबै वडासँग योजनाको खाका तयार गरी सोही अनुसारबजेट व्यवस्थापन गर्नेछौं ।पूर्वाधारसहितको खेलमैदान, व्यायामशाला, आधुनिक उद्यान निर्माण गरिनेछ । युवालाई व्यावसायिक खेलकुदमा सहभागी गराउन ‘मेयरसँग खेलाडी’ कार्यक्रम सञ्चालन गरिनेछ । वडा वडामा आवश्यकता अनुसार खेल मैदान निर्माण गर्नेछौं । महानगरमा रहेका क्लबलाई दिँदै आएको आर्थिक सहायत वृद्धि गनेछौं ।

सामाजिक सुरक्षाको विषय ?

मैले २०७४ सालको स्थानीय तहको निर्वाचमा मेयर पदमा विजय हासिल गरे भने राज्यले प्रदान गर्ने भत्तामा थप गरी महानगरपालिकाको तर्फबाट महिनाको ५ सय रुपियाँ थप गर्ने घोषणा गरेको थिएँ । यस निर्वाचमा म विजय भएपश्चात् एमालेले हरेक ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा कोषमा वृद्धि गर्नेछ सरकारले ५ हजार रुपियाँ उपलब्ध गराउन नसके पनि ललितपुर महानगरपालिकाबाट थप गरी ५ सय रुपियाँ व्यवस्था गर्नेछौं । महिला उद्यमशिलतालाई प्रोत्साहन गर्न योजना ल्याउनेछौं ।ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्नेछाैं । टोल टोलमा डिजिटल सूचना केन्द्र स्थापना गर्नेछौं । महानगरबासीको हित र सुरक्षा गर्न हरेक टोलमा सीसीटिभी तथा सडक बत्ती जडान गर्नेछाैं । बाल क्रीडास्थल, वृद्धवृद्धाको लागि विश्रामस्थल निर्माण शुरू गर्नेछौं । ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थयात्रा गराउनेछौं । सुत्केरी भत्ता व्यवस्था गर्नेछौं । महिलालाई व्यवसाय सञ्चालन गर्न महानगरबाट निब्र्याजी ऋण प्रदान गर्नेछौैं । महिलाले तयारी गरेको उत्पादनलाई महानगरले संकलन गर्दै बजारीकरणमा लैजाने योजना छ । युवालाई स्वरोजगार उद्योग व्यवसायमा संलग्न गरी स्थानीय जनताको जीवनस्तर सबल बनाउनेछु ।

 सुन्दर महानगर बनाउने योजना साकार होला त ?

किन नहुनु । त्यसैले त हामीले सुखी र समृद्ध सांस्कृतिक महानगरको अवधारणा अघि बढाएका छौं । सो भनेकै सुन्दर महानगरको परिकल्पना हो । महानगरलाई सुन्दर व्यवस्थित पार्किङ स्थलको व्यवस्था गर्नेछौं ।फोहर मैलामा उच्च प्राविधिकको प्रयोग गरी महानगर आफैंले व्यवस्थापन गर्नेछौं । सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्दा वार्षिक करिब १४ करोड रुपियाँ लाग्ने सुनेको छु । त्यसलाई न्यूनीकरण गरी महानगरकै लगानीमा उचित स्थान पहिचान गरी दुर्गन्धरहित फोहोरमैला व्यवस्थापन गर्नेछौं । प्लास्टिक मुक्तक्षेत्र महानगर घोषणा गर्ने ।मुख्य चोकमा आकाशे पुल र फ्लाई ओभर निर्माण गर्नेछौं । महानगरका सबै खुला क्षेत्रमा करिब एक लाख वृक्षरोपण गर्ने योजना अघि बढाएका छौं । समुदायको सहभागिता घरघरमै कम्पोस्ट मल बनाउन प्रविधि प्रवद्र्धन गर्नेछांै । ‘फोहोर ल्याउ, मल लैजाउ’ अभियान सञ्चालन गर्नछौं । हरेक वडामा ‘आपतकालीन उद्धार केन्द्र’ स्थापना गर्ने योजना बनाएका छौं । वागमती नदीको अन्तिम बिन्दुसम्म वागमती करिडोर निर्माणमा पहल गर्ने ।
 

सुशासन कायम गर्न कस्तो योजना तयार गर्नुभएको छ ?

महानगरभित्रको वातावरण सदैव सन्तुलित कायम गर्न कर्मचारीको कामको मूल्याङ्कन गरी राम्रो काम गर्नेलाई पुरस्कार र खराब आचरण भएकालाई दण्डको व्यवस्था गर्नेछौं । कार्यालयभित्र कसैले भ्रष्टाचार गरेको जानकारी भएमा कारबाही गर्नेछु । विकेन्द्रीकरणको सिद्धान्त अवलम्बन गर्दै महानगरका २९ वटै वडाबाटै अधिकतम सेवा दिनेछौं ।महानगरलाई तिरेको कर मेरै लागि हो भन्ने आवास गराउने गरी सोबाट त्यही वडामा केही रकम खर्च गर्ने व्यवस्था मिलाउनेछौं । जनताको आर्थिक अवस्था विचार गरी कर छुटको व्यवस्था गर्नेछौं । जनताको अधिकार घर–घरमा लागु गर्ने, जनताको काम वडाबाटै सम्पन्न गर्ने नीति बताउनेछौं ।करको दर होइन दायरा बढाउने कार्यक्रम लागु गर्नेछौं । वडाबासीलाई सेवा लिन महानगरपालिका आउने पर्ने व्यवस्था अन्त्य गर्ने । योजना बडाबाटै छनौट हुनेछ । त्यसको आधारमा सबै काम वडाबाटै गर्ने व्यवस्था गर्ने योजना बनाएका छाैं ।जनप्रतिनिधिको कार्य सम्पादनमा पारदर्शी बनाउने छौं । सबै जनप्रतिनिधिको कार्यकाल शुरु गर्दाकै बखत अर्थात् निर्वाचित हुनासाथ, हरेक वर्ष साउन महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेछाैं । सबै ‘जनप्रतिनिधि आचार संहिता लागु गर्नेछौं ।’बेरुजु फछ्र्यौटलाई उच्च प्राथमिकतामा राख्नेछौं । आगामी वर्षबाटै बेरुजु न्यून गर्नेछौं । महानगरपालिकाभित्र अस्थायी बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकको अनिवार्य रजिस्टे«सनको थालनी गरिनेछ । घोषणा पत्रमा लेखिएअनुसार विद्युतीय बस र विद्युतीय चुलो वितरण गर्ने योजना पूरा गर्न सक्नुहुन्छ । समयक्रमसँगै परिवर्तन हुनुपर्छ भन्ने मान्यताका साथ महानगरवासीले विद्युतीय बस सञ्चालनमा जोड दिनेछौं । विद्युतीय चुलो प्रयोगमा जोड दिनेछौं । एलपी ग्यासको दर बढ्दै जाँदा जनताले महंगी खेप्नुपरेको छ ।केही वर्षमा देशमा आवश्यकभन्दा बढी विद्युत् उत्पादन हुँदैछ । सो विद्युत बाह्य बजारमा लानुभन्दा यही बजारमा प्रयोग हुने वातावरण बनाउनु जरुरी छ । शहरी गरीबहरूलाई २० युनिटसम्म निःशुल्क विद्युत् वितरण गर्नेछौं ।

ललितपुर र काठमाडौं महानगरपालिकासँगको सम्बन्ध कस्तो हुनुपर्छ ?

ललितपुर महानगर र काठमाडौं महानगर एकआपसमा जोडिएका छन् । ललितपुरबाट काठमाडौं वा उताबाट यता आउन यातायातले जोडिनैपर्छ । यसै गरी वागमती नदीको सरसफाइसँग वा अन्य विकास निर्माणले दुवै महानगरलाई प्रभाव पार्दछ ।एमालेबाट काठमाडौं महानगरमा उम्मेदवार रहनुभएका केशव स्थापित र मेरो व्यक्तिगत सम्बन्ध पनि अत्यन्त सुमधुर भएकोले दुवै महानगरलाई उत्कृष्ट बनाउन हामी दुवैजना विजयी हुनुपर्छ । जनताले त्यही चाहेका छन् ।

 महानगरकाबासीलाई के सन्देश दिनुहुन्छ ?

अघिल्लो निर्वाचनमा दिएको मतप्रति आभार व्यक्त गर्दछु । जालसाजीका कारण थोरै मतले मैले उहाँहरूको मतको हामीले रक्षा गर्न सकेनौं । अहिले हामीसँग गठबन्धनका उम्मेदवार रहनुभएका बाबुकाजी प्रधानलगायत धेरै साथीहरू एमालेमै हुनुहुन्छ ।यसैगरी नेकपा हुदा सँगै रहनुभएकी मञ्जली शाक्य एमालेको उपमेयरको उम्मेदवार हुनुहुन्छ । हामीसँग निर्वाचनअघि विभिन्न पार्टीबाट दशौं हजार नेता, कार्यकर्ता एमाले प्रवेश गरेका छन् । यसरी हेर्दा हामीलाई अबको निर्वाचनमा विजयी हुन कुनै गाहे छ जस्तो लाग्दैन ।समृद्ध र सांस्कृतिक महानगर बनाउन हाम्रो विजयी आवश्यक छ । समस्याको समाधानका लागि मेयर उपमेयरसहित २९ वटै वडाका नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवार विजयी गराउनुहुन सम्पूर्ण महानगरबासी दाजुभाई दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु ।

व्यञ्न्जनकारका प्रतिबद्धता
विद्युतीय चुल्हो वितरण
– सामाजिक सुरक्षाभत्ता थप गर्ने
-स्थानीय संस्कृति जगेर्ना गर्न सांस्कृतिक कोष स्थापना
-ढुङ्गेधारा जीवित राख्न पानी रिचार्ज, पोखरी निर्माणमा जोड
-७० वर्षमाथिका ज्येष्ठ नागरिकको निशुल्क स्वाथ्य सेवा
-महिलालाई व्यवसाय सञ्चालन गर्न निब्र्याजी ऋण
– मुख्य चोकमा आकाशे पुल र फ्लाई ओभर
-सबै वडामा ‘आपतकालीन उद्धार केन्द्र

प्रतिक्रिया दिनुहोस्