कांग्रेस पनि फुटको संघारमा पुगेको हो ?



पछिल्लो समय सिंहदरबारमा अधिकांश माननीय मन्त्रीज्यूहरु भेटिँदैनन् । आफ्नो काम लिएर गएका सर्वसाधारणलाई मन्त्री भेट्न हम्मेहम्मे परेको छ ।

मन्त्रीहरु छिन्का लागि सिंहदरबार आउँछन्, फेरि गायब । यता, प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीन महिनादेखि सिंहदरबार गएका छैनन् । उनले मन्त्रिपरिषद्को बैठकसमेत प्रधानमन्त्री निवास, बालुवाटारबाट गर्दै आएको पाइन्छ । प्रधानमन्त्री नै आउँदैनन् भने हामी किन जाने ? भन्ने मनसाय मन्त्रीहरुमा देखिएको छ । मन्त्रीहरु मन्त्रालय जान छोडिसकेका छन् । आएका पनि एकछिन् बस्छन्, फेरि दौडिहाल्छन् ।

सिंहदरबारभित्र धेरै मन्त्रालय छन् तर अधिकांशमा मन्त्री बाहिर भनेर राखिएको हुन्छ । मन्त्रालयका कर्मचारीहरु भर्खरै हुनुहुन्थ्यो, बाहिर निस्किसक्नुभो भन्ने बहाना बनाउँछन् ।यतिखेर मन्त्रालयका कर्मचारीहरुलाई कसैको डरत्रास छैन । अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुन्डिएका हुन्छन् । कोही खाजाघर त कोही राजनीतिक गफगाफमा । ‘सरकारी काम, कहिले जाला घाम’ भनेको यही नै रहेछ । दिनभरि गफ गर्ने, महिनामा तलब थाप्ने । सरकारले विदेशी ऋण लिएर भए पनि यिनीहरुलाई तलब खुवाइरहेको छ । भटाभट विदेशी ऋण स्वीकृत गरेर सरकारी कर्मचारीलाई मासिक तलब दिनुपरेको छ । नेपालीको थाप्लोमा ऋण बढेको बढ्यै छ । यता, सरकारी कर्मचारीहरु मख्खै परेका छन् । अहिले एउटा नेपालीको टाउकोमा ७० हजारभन्दा बढी विदेशी ऋण पुगिसकेको छ ।

ऋण दिने विदेशी छँदै छन्, बोकिदिने नेपाली । अनि सरकारलाई के चाहियो । सरकारी कर्मचारीलाई तलबभत्ता र सेवासुविधा भए भइहाल्यो । विकासको नाममा भ्रष्टाचार मौलाउँदो छ । देशको प्रधानमन्त्री आफू त ठाउँमा बस्न सक्दैनन्, अरुलाई के ठाउँमा राख्लान् ? सिंहदरबार आएर जनताको काम गर्न छोडेर भोट माग्दै हिँड्ने पनि प्रधानमन्त्री हो ? प्रधानमन्त्री देउवालाई अहिले भरतपुर महानगरबाट मेयरमा उठेकी रेणु दाहालका लागि भोट माग्न भ्याइनभ्याइ छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालद्वारा आयोजित कार्यक्रममा पुगेर भोट माग्न माननीय प्रधानमन्त्रीलाई आचारसंहिताले दिन्छ ?

बालुवाटारबाट सिंहदरबार आउन नसक्ने प्रधानमन्त्री देउवा भोट माग्न चितवनसम्म पुगेका छन् । पाँचचोटि प्रधानमन्त्री भएका देउवाले के गरे ? एउटा सिन्कोसम्म भाँच्न नसकेको प्रमाणहरु हाम्रै सामु छ । वडाध्यक्ष बन्न असमर्थ व्यक्तिलाई प्रधानमन्त्री बनाउनु नै नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो । अहिले बजारमा कांग्रेसकै कार्यकर्ताहरुले रोचक कुरा उठाएका छन् । कांग्रेसको सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा माओवादीको कार्यकर्ता बनेको कुरामा बहस शुरु भएको छ । आफ्नो पार्टी छोडेर माओवादीका अध्यक्ष दाहालको सुपुत्रीलाई भोट माग्दै हिँडेपछि प्रश्न उठ्नु स्वाभाविकै हो ।

२०७४ सालको चुनावमा पुष्पकमल दाहाल नेकपा एमालेसँग लहसिएका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी पार्टीलाई भोट दिनुस् भन्दै हिँडे । अहिले उनले कांग्रेस च्यापेका छन् । पहिले ओली अहिले देउवा । दाहालले आफू जित्नका लागि एक–अर्कासंग टाँसिनेबाहेक केही गर्न सकेनन् । पहिले–पहिले बूढापाकाले फटाहाको पछाडि लाग्नुहुँदैन भनेर सम्झाउँथे । फटाहाको पछि लाग्यो भने सीधा मान्छे पनि फटाहा हुन्छन् । दाहाललाई अहिले सबैले फटाहाको संज्ञा दिएका छन् । त्यही दाहालको अघि–पछि दुईवटा पार्टी लागिपरेको छ । काम गर्न नसक्दा माओवादी पार्टीले जनताबाट विश्वसनीयता गुमाइसकेको छ । त्यसैले माओवादी कहिले यता लहसिने कहिले उता टाँसिने गरिरहेको छ । काम नगरे पनि जसरी हुन्छ उसलाई पद चाहिएको छ ।

माओवादीबाट मुलुकले केही पनि हासिल गरेन । आफ्नी छोरीलाई मेयर, बुहारीलाई मन्त्री र भाइलाई सांसद । हिजो जनयुद्धमा लागेका कार्यकर्तालाई फर्केर पनि नहेर्ने व्यक्तिलाई जनताले भोट नै किन दिने ? टाँसिएकै भरमा सरकारमा बस्न पाइन्छ ? सरकार पाएन भने माओवादी बाँच्न सक्दैन । पानीबाट निकालेको माछाजस्तो भइहाल्छ । सरकारको प्यासी बन्नका लागि केही काम पनि गरेको हुनुप-यो । माओवादी सरकारमा आउँदा मुलुकले के उपलब्धि हासिल ग¥यो ? जवाफ छ माओवादीसँग ? देश र जनताको लागि केही गर्न नसक्नेले सरकार चलाउने भोक राख्नु नै गलत हो । हिजो पुष्पकमल दाहाल एमालेसँग गएर मिल्दा एमाले चकनाचुर भयो । त्यत्रो ठूलो पार्टी टुक्राटुक्रा भयो । आज माधव नेपाल र केपी ओली एक–अर्काको मुख पनि हेर्न चाहँदैनन् ।

अब कांग्रेसको दुर्दशा शुरु भएको छ । कांग्रेस पार्टी फुटेर टुक्राटुक्रा बन्न बेर लाग्दैन । एउटा चलेकै उखान ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुलाई पनि बनाउन दिँदैन’ । पुष्पकमल दाहालमा पनि यही उखान लागू भएको छ । अहिले केपीले माधव नेपाललाई सक्दो गाली गर्छन् । माधव नेपालले पनि केपीलाई देखिसक्दैनन् । यसमा पुलको काम गर्ने श्रेय वरिष्ठ नेता दाहाललाई जान्छ । केही दिनपछि शेखर कोइराला र शेरबहादुर देउवाको पनि हानाथाप हुन्छ । मुखबाट गोलीको वर्षा हुन्छ । अब कांग्रेस पनि धेरै दिन टिक्दैन । हिजो पहिलो पार्टी बनेको माओवादी यी दुई पार्टीका कारण फुटेको थियो । कांग्रेस र एमालेको कारण माओवादी छरपस्ट बन्यो । आफ्नो पार्टी फुटाएको कुराले अहिले पनि दाहालको मन पोलिरहेको छ । पार्टी नफुटेको भए माओवादी आज पनि पहिलो पार्टी नै हुन्थ्यो ।

एमाले त फुटिसकेको छ, अब कांग्रेसको फुट्ने दिन आउँदै छ । ‘शत्रुलाई ढाल्नुप-यो भने उहीसँगै मिल्नुपर्छ’ भनेर बूढापाकाले भनिरहन्थे । दाहालले पनि त्यही नै गरे । अब कांग्रेस फुटेर चार टुक्रा बन्ने देखिन्छ । एकातिर शेरबहादुर देउवा र शेखर कोइराला, अर्कोतिर गगन थापा र रामचन्द्र पौडेल । अरुलाई कमजोर बनाएर आफू सरकारमा आउने दाहालको योजना हो । दिमागी खेलमा दाहालसँग कसैले भ्याउँदैन भनेर पुष्ट्याइँ गरिरहन जरुरत छैन । कांग्रेस छियाछिया भयो भन्ने खबर नेपाली जनताको कानमा छिट्टै नै पर्नेछ ।

कांग्रेसको सभापतिले नै यो घोषणा गर्नेछन् । सँगसँगै हिँडेको केपी र माधवबीच आगो लगाउने दाहाल नै हुन् । दाहालको पछि लागेर माधवले एमालेलाई कुहिएको फर्सीसमेत भने । हिजो एमालेबाटै माधव नेपालले प्रधानमन्त्री पाएका होइनन् ? लामो समय एमालेमा जिम्मेवारी बहन गर्ने पनि उनी नै थिए । तर, पछिल्लो घडीमा एमालेलाई नै तँछाडमछाड गर्न उनी पछि हटेनन् ।

कांग्रेस र एमालेलाई सिध्याएपछि आफ्नो छुट्टिएको पार्टी जोड्ने तयारीमा दाहाल छन् । राजनीतिक दलहरुको खुट्टा तान्ने क्रम कहिल्यै नरोकिने भयो । मुलुकले विकास होइन, विनाश पायो । अक्षम नेताहरुका कारण नेपाल नै नरहने स्थितिमा आइपुगिसकेको छ । राजनीतिक दलहरु छाडा हुँदा मुलुकमा ठूलो क्षति हुँदो रहेछ भन्ने सिको नेपालले अरुलाई दियो ।
महँगी दिनहुँ बढेको बढ्यै गर्छ । तैपनि सरकार अनुगमन गर्दैन । बजारमा आर्थिक तरलताको खाडल झनै बढिरहेको छ ।

रोजगारीको अवसर नहुँदा बेरोजगारी बढ्दो छ । व्यापार व्यवसाय गर्छु भन्दा पनि कर्जा पाइँदैन । बिहान–बेलुका छाक टार्न निकै सकस परिसकेको छ । जनताको सरकारमाथिको विश्वास गुमिसकेको छ । सरकार नै जिम्मेवार नभएपछि जनता जिम्मेवार बन्लान् ? स्थानीय तहको चनाव ढोकैमा आइसकेको छ । चुनावपछि मुलुक कतातिर मोडिन्छ ? भनेर धेरै चिन्तित बनिसकेका छन् । चुनावपछि महँगीले सीमा नाघ्ने अड्कलबाजी शुरु भइसकेको छ । अब सरकारले कसरी खर्च धान्ने ? विदेशी ऋण त सधैं पाइँदैन होला ? आर्थिक तरलताको दलदलमा मुलुक फस्दै जान्छ । नेताहरु अक्षम हुँदा जनताले धेरै दुःख पाए ।

प्रधानमन्त्री पत्नी आरजु राणाले भनेको एउटा वक्तव्यले सबैतिरको माहौल ततायो । कांग्रेस पार्टीलाई भोट नदिए बजेट सबै कटौती गर्छु भनेर उनले भनिन् । आरजु राणाको व्यक्तिगत सम्पत्ति हो र बजेट कटौती गर्नलाई ? उनले आफ्नो घरखेत बेचेर विकास गर्ने हो र ? यस्ता व्यक्तिले के राजनीति गर्छन् ? देशको के विकास होला ? प्रधानमन्त्री पत्नी भएर बजेट कटौती गर्छु भन्न नैतिकताले दिन्छ ? अब पनि नसुध्रिने हो भने यिनीहरुलाई नेपाली जनताले सजाय दिनेछन् । यस्तै, पारा हो भने नेपाली जनताले नै यिनीहरुलाई लखेट्छन् । कि त जेलको हावा खान तयार हुनुप-यो । भ्रष्टाचार गरेर जोडेको सम्पत्ति राष्ट्रियकरण गरौं, जनता र मुलुकपट्टि जिम्मेवार बनौं ।

– अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्