स्मार्ट काठमाडौं मेरो प्रतिवद्धता : केशव स्थापित



काठमाडाै‌ं । 

२५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । मेयरका अन्य उम्मेदवारसँंगै बसेर छलफल गर्ने मन भएको तर ती उम्मेदवारहरू आफ्नोअघि आउनै नसक्ने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘मेरो प्रचारको कारण मेरो प्रतिद्वन्द्वी कोही देख्दिनँ, खै कहाँ के गरिरहेका छन्, आफूलाई जानकारी नै छैन । विगतमा केशव स्थापितको काम देखेर र अहिले तयार गरेको योजना सुनेर सबै मेयरका उम्मेद्वारलाई छटपटी हुन थालेको छ । शुक्रबार आयोजित पत्रकार भेटभाट कार्यक्रममा मेयरका उम्मेदवार स्थापितले भन्नुभयो– ‘यो अवस्था हेर्दा मेरो प्रतिस्पर्धामा कोही आउनै सक्दैनन् । मेरो मिसन, भिजन र गोल देखेर अरू उम्मेदवार आश्चर्य मान्न थालेका छन् ।’

आफूसँग सयाै योजनाकार र विज्ञ भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘महानगर बनाउने सयौं भिजन तयार गरेको छु । त्यसैले मलाई काठमाडाैंको योजना बनाएर र तत्काल कार्यान्वयन गर्न कुनै समस्या छैन ।’आफू पहिलोपटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले आफ्नो मतदाता बनिसकेको उल्लेख गर्दै स्थापितले भन्नुभयो–‘सायद पाँच दिनपछि अर्थात् वैशाख ३० गते हुने निर्वाचनमा उनीहरूले सूर्य चिह्नमै भोट हाल्नेछन् । ती युवाहरूको मत खेर जान दिनेछैन । अनि युवाको योजनाअनुसार महानगरपालिकाको विकास गर्नेछु, स्मार्ट काठमाडौं बनाउने प्रण गर्दछु ।’
उहाँको मिसन, भिजन र गोलको बारेमा नेपाल समाचारपत्रका ईश्वरराज ढकालले गरेको कुराकानी
 

तपाईंको पहिलो भिजन के हो ?

‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरूका लागि काठमाडौंमा ठाउँ नै छैन । म युवाहरूलाई जीवन र भविष्यको विषयमा कथा हाल्ने एकसयवटा स्थान निर्माण गरिदिन्छु । युवाको इच्छाअनुसार महानगरलाई स्मार्ट सिटी बनाउनेछु । राजधानीका सम्पदा छोपिने गरी लगाइएका अग्ला पर्खाल भत्काएर पारदर्शी बनाउन लगाउनेछु । युवा पुस्ता घुम्न, खेल्न जानेगरी महानगरका विभिन्न स्थानमा रमणीय क्षेत्रको विकास गर्नेछु ।मसंग नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना छ । ‘पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैंचा देखेर युवाहरू खुसी हुन्छन् । त्यो क्षेत्रमा साँझमा घुम्न पुग्दा स्वर्गको अनुभूति हुने काम गर्नेछु ।नारायणहिटीभित्र संघीय सरकारको सहयोगमा झलमल्ल बत्ती बाल्नेछु, पानीको फोहरा बनाउनेछु । त्यहाँ बालबालिका, युवा र जेष्ठ नागरिकका लागि पानीको फोहोरा भएको पार्क निर्माण गर्न जोड दिनेछु ।केशर महलको वरिपरिको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ बनाउन पहल गर्नेछु । विशेषगरी युवा र बालबालिका साँझपख त्यहाँ आउँछन, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा काठमाडौं महानगर भन्दै खुशी भएर फर्कनेछन् । महानगर त यस्तो पो हुँदोरहेछ भन्ने बनाउनेछु । यस्ता पार्क शहरभर धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरूको योजना के छ ? अपेक्षा के छ ? भनेर घुलनशील गराउने योजना छ । युवाहरूलाई प्रोस्ताहन गर्न विश्वस्तरीय २० वटा जिम हल स्थापना गर्ने र शहरी पार्क निर्माण गर्ने योजना छ । मसँग युवाहरूलाई उनीहरूको योग्यता, क्षमता र रुचिअनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता छ । त्यति मात्रै होइन, तत्काल गुनासो सुन्न ‘क्वीक रेस्पोन्स टीम’ निर्माण गर्ने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्नेछु ।
 

महानगर क्षेत्रको कहिल्यै समाधान नहुने जस्तो देखिएको फोहोरमैलाको समस्या कसरी समाधान गर्नुहुन्छ । डरलाग्दो ट्राफिक समस्या कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?

म मेयर भएपछि पहिलो प्राथकिमता फोहोर व्यवस्थापनलाई दिनेछु । सधैं अवरोध गर्ने स्थानीयसँग वार्ता गर्नेछु । तत्काल समाधान गर्न पहल थाल्नेछु । कुहिने र नकुहिने फोहोरका छुट्टाछुट्टै व्यवस्थापन गर्न बाध्यकारी व्यवस्था गर्नेछु । मेरो कार्यकालमा फोहोरमैलाको कहिल्यै पनि समस्या नहुनेगरी समाधान गर्नेछु । उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मतहतमा राख्नुपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्नेछु ।काठमाडौं महानगरपालिका मात्रै होइन, उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुलीलगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ । त्यसो भएपछि मात्रै समस्या समाधान हुन सक्छ । उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छु । केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नुपर्नेजस्तो परम्पराको अन्त्य गर्नेछु ।ट्राफिक व्यवस्थापन र वातावरण मैत्री शहर निर्माणका लागि अपाङ्ग, बालबालिका र वृद्धवृद्धा मैत्री विद्युतीय सवारीलाई प्राथमिकता दिनेछु । पार्क निर्माण गर्नेछु । ट्राफिक व्यवस्थापनलाई सहज गर्न ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थित सवारी पार्किङको व्यवस्थापन गर्नेछु ।

महिला र बालबालिकाको लागि के कस्तो योजना अघि बढाउनुहुन्छ ?

अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना छ । मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने छु । केही महिना बृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करीब २ हजार स्वयंसेवकलाई पारिश्रमिक सहित राख्नेछौं ।

त्यो टीमले कुन वडामा कति बिरामी र कस्ता प्रकारका बिरामी छन् भनी अनुसन्धान पनि गर्नेछ । त्यही टिमले उहाँहरूको थप स्वास्थ्यका लागि सहजीकरणसमेत गर्नेछ । यस्ता पाँच–सात वटै स्वास्थ्यसम्बन्धी प्रष्ट योजना बनाएर अघि बढ्ने छौं । यतिमात्रै होइन, जेष्ठ नागरिकलाई निःशुल्क स्वाथ्य परीक्षण गर्ने व्यवस्था गर्नेछौं । दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।बालबालिकालाई बगैंचा र खेल मैदानको व्यवस्था गर्नेछु । शिशु कक्षालाई प्राथमिकतामा राख्नेछु । हरेक विद्यालयमा अनिवार्य शिशु कक्षा सञ्चालन गर्न प्रोत्साहन गर्नेछौं । महिलाको हित र सशक्तिकरण योजना ल्याउनेछु । महिलालाई कुनै पनि समस्या परे महानगरमै महिला सहयोग केन्द्र स्थापना गर्नेछु । बालअधिकार सुनिश्चित गर्ने पहल गर्नेछु ।

 उपत्यकाका सवारी व्यवस्थापन कसरी गर्ने योजना छ ? धूलो र धुवाँ नियन्त्रण गर्ने कस्तो योजना छ ?

उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना छ । उपत्यकाका १८ वटै स्थानीय तहसँगको समन्वयमा महानगरपालिकाको नेतृत्वमा उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्छौं । त्यहाँ प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले सबै कुराको जाँच गर्छ । त्योसँगै उपत्यका बाहिरबाट प्रवेश गर्ने सबै सवारीलाई धोइ–पखाली गरी राजधानी भित्रिने व्यवस्था गर्छौं । धुलो भित्र्याउने सवारी साधन नियन्त्रणमा लिएर गाडी धोएर मात्र उपत्यका छिर्ने व्यवस्था गर्नेछाैं । त्यति मात्रै गर्ने हो भने यहाँको धुलोको ९० प्रतिशत समस्या समाधान हुन्छ ।वृक्षरोपणलाई व्यापक बनाउने छौं । सवारीको मापदण्ड जाँचमा कडाई गर्नेछौं । ठूला सवारी साधनलाई राती रिङरोडमा मात्रै प्रवेश गर्ने व्यवस्था गर्नेछाैँ । विद्युतीय सवारी साधन ल्याउन पहल गर्नेछाैं।

शिक्षामा कस्तो परिवर्तन गर्न खोज्नुभएको छ ?

मेयरले शिक्षामा परिवर्तन गर्न सक्दैन, सुधार्न मात्र सक्छ । त्यसको लागि सामुदायिक विद्यालयलाई सुचनाप्रविधिले भरिपूर्ण हाइटेक बनाउनेछु । सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास गर्नेछांै । विद्यालयमा इन्टरनेट फ्रि गर्ने योजना ल्याउनेछौं । महानगरक्षेत्रमा विद्यालयको संख्या धेरै भएका छन् । विद्यालय मर्जको नीतिलाई अघि बढाउनेछौं । ठूलो क्षेत्रफल भएका विद्यालयलाई व्यवस्थित बनाउनेछौं । दुईचार आना जग्गा भएका विद्यालयलाई मर्ज गरी ठूलो विद्यालयमा गाभ्नेछौं । विद्यालयको भवन भव्य भवन बनाउनेछौ । विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने वातावरण बनाउनेछौं । लामो समयसम्म पढाइसकेका शिक्षकलाई थप रकम दिएर बिदा दिने योजना बनाएका छांै । राम्रो शिक्षक भर्ना गरेर सामुदायिक विद्यालयको अवस्था निजीको भन्दा पनि राम्रो बनाउने सोचमा छौं । सरकारले मावि तहसम्म निःशुल्क शिक्षा दिएको छ । कतिपय विद्यालयले शुल्क लिने गरेको गुनासो सुनेको छु । सरकारले गरेको निर्णय सबैले पालना गर्नुपर्ने व्यवस्था गर्नेछौं ।छात्रवृतिलाई पारदर्शी बनाउने योजना छ । गरीब विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्नेछौं । शिक्षामा आमूल परिर्वन गर्ने सोच लिएका छौं । स्थानीय भाषा, र पाठ्यक्रमलाई जोड दिनेछौं ।

तपाईंले पहिलो कार्यकालका बाँकी काम पूरा गर्न कस्तो योजना बनाउनुभएको छ ?

म पहिलोपटक मेयर निर्वाचित हुँदा काठमाडौं महानगरपालिका महानगर जस्तो थिएन, सफाइ अड्डा जस्तो थियो । म मेयर भएपछि कालिमाटीमा सामान्य रूपमा रहेको कार्यालयलाई टेकु हुँदै बागदरबारको भब्य महलमा सार्न सफल भए । भूईंको कार्यालयलाई महलमा लगेर व्यवस्थित बनाउने मै हुँ । प्रशासन सुधारमा पनि मैले उल्लेख्य भूमिका खेलेको छु
निराशाहरूलाई आशामा बदल्न त्यसबेला सहरी योजना आयोग स्थापना गरेको हुँ । मैले नेतृत्व सम्हालेको करीब ६ महिनापछि एकीकृत सहरी विकासको योजना अघि बढाएँ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणको कामलाई अघि बढाएँ । अहिलेको लाइफलाइन बनेको धोबिखोला करिडोरको कामलाई मेरै कार्यकालमा अघि बढाएँ ।

रानीपोखरी, धरहरा, कमलपोखरी महानगरको स्वामित्वमा ल्याउन सफल भएँ । बाटो चौडा गर्न सफल भए । आकाशेपुल बनाए । रत्नपार्क र माइतीघरको अधिग्रहण गरेको जग्गा खुला बनाएँ । यस्तो दर्जनौं काम मेरो कार्यकालमा भएको थियो । त्यही काम देखेर महानगरबासीले अहिले पनि केशव स्थापितलाई मेयर भएको हेर्न चाहेका छन् । अब उहाँहरूको सुन्दर महानगर हेर्न पाउने सपना पूरा गर्नेछु ।उहाँहरूको चहना पूरा गर्न सबै महानगरबासीको सहयोग आवश्यक पर्छ, उहाँहरूको सहयोग पाउने अपेक्षा राखेको छु । म मात्र होइन, उपमेयरसहित सबै टिम जित्नुपर्छ । ललितपुर महानगरपालिका पनि हामीले नै जितेपछि दुवै नगरपालिकामा नयाँ योजनाअनुसार काम अघि बढाउन सफल हुनेछौं ।
-पहिला योजना अनि विकास
– राजधानीलाई पर्यटकीय हब बनाउँछु
– फोहोरमैलाको समस्या तत्काल समाधान गर्छु
-जेष्ठ नागरिकलाई निःशुल्क स्वाथ्य परीक्षण
-विद्यालयमा इन्टरनेट फ्रि गर्ने योजना
-राजधानीका सम्पदा छोपिनेगरी लगाइएका अग्लापर्खाल भत्काएर पारदर्शी बनाउन लगाउँनेछु

प्रतिक्रिया दिनुहोस्