एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट



काठमाडौं । नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

अध्यक्ष वज्राचार्यका अनुसार एसियाडका लागि ९–९ पुरुष÷महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष÷महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ ।

एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहेका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ छन् । यि १६ खेलाडी २४ औं खुला पौडी प्रतियोगिताबाट छनोट भएका हुन् ।

ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकिया ओलम्पिक– २०२० मा प्रतिस्पर्धा गरेका थिए ।

विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको जनाइएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्