आँखामा क्यान्सर भएका बालबालिकाको निःशुल्क उपचार



काठमाडौं । 

विश्व रेटिनोब्लास्टोमा दिवस नजिकिँदै छ । यसै सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १५ हजार नवजात शिशुुमा यो समस्या देखा पर्छ । रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो ।

यो नवजात शिशुदेखि पाँच वर्षमुनिका बालबालिकामा देखा पर्दछ । त्यसैले तिलगंगा प्रतिष्ठानले साताभरि आँखामा क्यान्सर भएका बालबालिकाको निःशुल्क जाँच तथा उपचार गर्दै छ ।यो एक जनामा देखिने रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्ने तिलगंगा प्रतिष्ठानले जनाएको छ । नेपाललगायत विकासोन्मुख देशहरूमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ तर विकसित देशहरूमा भने ५ प्रतिशत भन्दा कम पाइएको जनाएको छ ।

रेटिनोब्लास्टोमा एउटा जटिल रोग भए तापनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामा नै चिकित्सककहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रूपमा क्यान्सरमुक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिने प्रतिष्ठानको दाबी छ ।विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाउने कार्यक्रम तय गरेको जनाएको छ ।

त्यसै गरी २६ गते सोमबारका दिन त्रि.वि.शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि र जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्ने रहेको छ । विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवासीय चिकित्सकलाई आँखा विशेषज्ञद्वारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारका लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउनेसम्बन्धी जानकारी प्रदान गरिने र सोही कार्यक्रममा यस रोगबाट मुक्त भइसकेका बिरामीहरू पनि सहभागी हुने कार्यक्रम रहेको जानकारी गराइयो ।

रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु, आखाँको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका अन्य लक्षण हुन् ।

उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हँुदै आइरहेको छ । विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारद्वारा यसको उपचार भइरहेको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आइज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्