मिटर ब्याजीले सडकपति बन्नेको संख्या झनै बढ्ने



पहिले–पहिले गाउँ–गाउँमा पुँजीपतिहरुले खेतबारीको तमसुक गराएर ३६ प्रतिशत ब्याजमा पैसा लगाउँथे । दुई–तीन वर्ष साउँ–ब्याज तिर्न नसकेपछि पुँजीपति वर्गहरुले खेतबारी नै खाइदिन्थे । त्यसपछि त्यो व्यक्तिको उठीबास हुन्थ्यो । त्यहाँ पनि घिउ खुवाउनुपथ्र्यो । अर्कोतिर महिनैपिच्छे ब्याज लिन आएको बेलामा मिठोमसिनो खुवाउनै पथ्र्यो । आफ्ना बालबच्चालाई भोको पेट राखेर ती सामन्तीहरुको पेट भर्नुपर्ने बाध्यता थियो ।

कतिपयले पैसाचाहिँ दुई लाख दिन्थे तर कागज भने पाँच लाखको बनाउँथे । अक्षर नचिनेको फाइदा उठाउँदै सामन्ती वर्गहरुले यसरी लुट्ने गरेका थिए । यता, सिधासाधी व्यक्तिले पनि उसले जहाँ भन्यो त्यहीँ ल्याप्चे लगाइदिन्थे । यता, साउँ–ब्याज नै फिर्ता गरे पनि खेतबारी नै हडप्छन् । किनकि कतिपयले घरखेत नै नामसारी गरेर पैसा लिएका हुन्छन् ।साउँ–ब्याज फिर्ता गर्छु भन्दा पनि घरखेत फिर्ता नगर्दा ऊ त सडकमा आउँछ । अहिले पनि मिटर ब्याजको नाममा यो कार्य भइरहेको छ । विदेश जानका निम्ति मिटर ब्याजमा ऋण लिन्छन् । बजारमा मिटर ब्याजमा रकम लाउने र लिने छ्याप्छ्याप्ती भेटिन्छन् ।

गरिब, नपढेका र बाध्यतामा परेकालाई ‘मुर्गा’ बनाउने काम भइरहेको छ । झोलामा पैसा बोकेर हिँडिरहेका हुन्छन्, मिटर दलालीहरु । दिनको हजार रुपियाँ ब्याज दिने सर्तमा उनीहरुले पैसा दिन्छन् । पहिले नै समयावधि तोकेर साउँ–ब्याज तिर्ने मिति तोकिदिन्छन् । अगाडि नै यति महिनामा साउँ–ब्याज फिर्ता गर्छु भनेर कागजात गर्नुपर्छ । साउँ–ब्याज नतिरेको खण्डमा यिनले नै ऋणीलाई फसाउँछन् । किनकि पहुँच र पैसाको आडमा यी सबै काम भइरहेको छ ।

मिटर ब्याजमा पैसा लगाउने अधिकांश ठूला व्यापारी र गुन्डा छन् । अरुलाई मिटर ब्याजमा कसरी पैसा लगाउने ? थाहा हुँदैन । यता, स–साना व्यापारीहरुलाई समेत मिटर ब्याजमा पैसा लगाइएको पाइन्छ । २० हजार ऋण दिएबापत दैनिक २ सय ४० रुपियाँ ब्याज उठाउने गरेको पाइन्छ । तरकारी, फलफूल व्यापारीहरुले प्रायजसो उनीहरुसँग ऋण लिएका छन् । बाध्यतामा परेर ऋण लिएकालाई यी दलालीहरुले ‘धोती न टोपी’ को बनाइदिएका छन् । व्यापारीहरुलाई जति बेला पनि पैसाको खाँचो पर्ने र वित्तीय संस्थाले तत्कालै नदिने भएकाले मिटर ब्याजमा पैसा चलाउनेहरु दिनहुँ बढिरहेका छन् । दलालीहरुले आफ्नै घरमा पैसा राख्ने र सर्त पूरा गर्नेबित्तिकै पैसा दिने भएकाले पनि बजारमा यस्तो गैरकानुनी काम फस्टाएको छ ।

मिटर ब्याजीहरुले न्यायकर्मीहरुसमेत पालेका छन् । वकिलहरुको आडमा मिटर ब्याज धन्दा मौलाएको हो । वकिलहरुले यसो गर्नुस्, यसरी ब्याजमा लगाउनुस् भनेर सिकाउने काम गर्छन् । यता, जनतालाई सडकमा ल्याउने कागज बनाउने पनि वकिलहरु नै हुन् । मिटर ब्याजमा पैसा लिनेमध्ये कति विस्थापित भए । घरजग्गा, खेतबारी सबै मिटर ब्याजीले हडप्दा कतिपय रोडमा आइपुगे । देशको राजनीति परिवर्तन भए पनि शोषक, सामान्ती र दलालीहरुको नियतमा परिवर्तन आएन ।

एकातिर सिधासाधीको जेथो पनि खाइदिने, अर्कोतिर उसलाई फसाउनका निम्ति झुटो उजुरी दिने । प्रहरी प्रशासनले पनि बैंकमा पैसा नभएको चेक हेर्छ तर के कारणले उसले त्यो चेक दिएको थियो ? त्यो हेर्दैन ।मिटर ब्याजमा पैसा लिनेबित्तिकै दुर्दशा शुरु हुन्छ । हामीले सुनेका छौं– मिटर ब्याजमा लिएको पैसा तिर्न नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन् । कति आफ्नो गाउँठाउँ नै छोडेर हिँडेका छन् । बाँच्नका निम्ति भारत छिर्नेहरु पनि उत्तिकै छन् । नेपालको कानुनमा उल्लेख भएअनुसार यसरी मिटर ब्याजमा पैसा लगाउन पाइन्न । १० प्रतिशतभन्दा बढी ब्याज लिएमा त्यसलाई गैरकानुनी मानिन्छ । एक लाखको पाँचदेखि ३० हजारसम्म मिटर ब्याजमा लगाइएको छ । यस्तो महँगो ब्याजमा पैसा लगाउनेहरु कतिखेर भाग्नुपर्ने हो ? कतै प्रहरीले लगेर थुन्ने त होइन ? आफ्नो घरखेत खाइदिने पो हो कि ? भन्ने त्रासमा बसिरहेका हुन्छन् ।

मिटर ब्याजीहरुको कारणले सुकुम्बासी बन्नुपरेका घटना पनि सार्वजनिक भइरहेको हुन्छन् । बैंक र सहकारीकै कर्मचारीहरुसमेत यसमा मुछिएका छन् । उनीहरु पनि चोखो छैनन् । वित्तीय संस्थाका कर्मचारीहरुले थोरै ब्याजमा रकम निकालेर मिटर ब्याजमा लगानी गरेको पाइन्छ । अध्यक्ष र चेयरम्यानहरुलाई थोरै ब्याज पनि तिर्नुपर्दैन । पछिल्लो समय कर्जा नदिने बरु मिटर ब्याजमा लगानी गर्ने ट्रेन्ड चलेको छ । चौतारा, चियागफमा प्रायजसो मिटर ब्याजकै कुरा हुन्छ । मिटर ब्याज लिँदा यो सखापै भयो, त्यसको घरखेत नै सिद्धियो भनेर गफ चलिरहेको सुनिन्छ । अहिले बैंकले पाँच लाखको चेक साट्न सक्ने अवस्था छैन । एक लाखको चेक साट्न नसक्दा सहकारीले किस्ताबन्दीमा पैसा लैजान आग्रह गर्दछ ।

तर, मिटर ब्याजीहरुले एक करोड रुपियाँसम्म तुरुन्तै दिने गरेको बताइन्छ । आफ्नो खातामा भएको रकम निकालेर कतिपयले घरमा लुकाएर राखेका छन् । कतिपयले मिटर ब्याजमा लगानी गर्ने गरेका छन् । वित्तीय संस्थाले आफूमाथिको विश्वसनीयता गुमाउँदा बचतकर्ताको संख्या स्वाट्टै घटिसकेको छ । सहकारीमा पैसा राख्ने शून्य बराबर भइसकेको छ । डुब्ने कि भाग्ने भन्ने अवस्थामा आइपुगेका वित्तीय संस्थामा अब सर्वसाधारणले पैसा राख्दैनन् । पाँच करोडको सम्पत्ति धितो राखेर सहकारीका अध्यक्षहरुले एक करोड रुपियाँ दिन्छन् ।
त्यसमा पनि तीन प्रतिशत सेवाशुल्क, घूस गरेर २१ प्रतिशत ब्याज पुग्छ ।

तर, सहकारी विभागले कर्जा लगानी गरेबापत १६ दशमलव तीन प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भनेका छन् । यता, नेपाल राष्ट्र बैंकले घरजग्गा, बेयर र निजी प्लेटका सवारी धितो राखेर कर्जा नदिनू भनेर परिपत्र गरेको छ । तर, सहकारी र निजी बैंकले सरकारकै निर्णयलाई धोती लगाइदिएका छन् । घूस र महँगो ब्याज पाउने लोभमा राष्ट्र बैंकले गरेको निर्णय अटेर भइरहेको छ । यता, मिटर ब्याज र वित्तीय संस्थाबाट कर्जा लिने व्यक्तिहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । धितो बिक्री नभएर र बजारमा मन्दी आएर उनीहरु अहिले छट्पटाइरहेका छन् ।

पाँच सय र हजारको नोट वित्तीय संस्थामा छैन । मिटर ब्याजमा लगानी गर्नेहरुको हातमा छ । मिटर ब्याजमा पैसा लगानी गर्नेहरुले अब कतिको घरखेत नै खाइदिन्छन् । कतिपयलाई सडकमा पु¥याउँछन् र उठीबास बनाइदिन्छन् । राष्ट्र बैंक र अर्थविद्हरुले अर्थतन्त्र पहिलेकै गतिमा आउन समय लाग्ने भनेका छन् । बैंक, फाइनान्सले अझै पनि कर्जा दिन नसक्ने उनीहरुको भनाइ छ । बैंक, फाइनान्सले ब्याज बढाएको भनी सूचना जारी गर्दा पनि पैसा राख्ने भेटिएनन् । बैंक, फाइनान्सहरु धराशायी हुँदै छन्, मिटर ब्याजीहरु मौलाउँदै छन् । उनीहरुको गैरकानुनी धन्दा झनै फस्टाउँदै छ । मिटर ब्याजीहरुलाई नरोक्ने हो भने अर्थतन्त्र तहसनहस बन्छ । आफू धनी बन्नका निम्ति एकजनाले हजारौंलाई सडकमा पु-याउँछ ।

विस्थापित भएकालाई सरकारले नै सुकुम्बासीको संज्ञा दिनुपर्छ । उनीहरुलाई घरजग्गाको व्यवस्था पनि राज्यले नै गर्नुपर्ने हुन्छ । यता, कसैले तनाव सहन नसकेर आत्महत्या ग-यो भने राज्यले एउटा नागरिक गुमाउनुपर्छ । कि त सडकमा मागेर खानुबाहेक अरु विकल्प छैन । व्यापारी र नेताहरुले पैसा लुकाउँदा बजारमा तरलता देखिएको छ । अब अर्थमन्त्री र राष्ट्र बैंकले हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउने हो भने मिटर ब्याजीहरुको कारोबार चकनाचुर हुन्छ । दुई हजारको नोट निकाल्न जरुरी देखिएको छ । महँगो ब्याज र मिटर ब्याजमा पैसा लगाउने व्यक्ति, संस्थालाई सरकारले कारबाही गर्नै पर्छ । बचत गर्ने काम ठप्प भएको छ भने निकाल्ने होडबाजी चलिरहेको छ । ऋण लिएर विदेश गएकाहरुले दुःखजेलो गरेर कमाएको पैसा साउँ–ब्याज गर्दै सिद्धिएको छ । मिटर ब्याजलाई नियन्त्रण गर्न नसक्ने हो भने देशको अर्थतन्त्र थप डामाडोल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्