७७ जिल्लामै पुग्यो मतपत्र



काठमाडौं । 

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।
आयोगले वैशाख १३ गतेदेखि कडा सुरक्षा प्रबन्धका साथ मतपत्र जिल्लाजिल्लामा पठाउन शुरु गरेकोमा निर्वाचनको आउन एक साता बाँकी रहेको अवधिसम्म सबै जिल्लामा मतपत्र पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित स्थानीय तहका लागि प्याकिङ गराई चाँडै स्थानीय रूपमा मतपत्र ढुवानी गराउने आयोगका प्रवक्ता पौडेलको भनाइ रहेको छ ।उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल २ करोड ७ लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका थिए ।

कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमुना मतदान कार्यक्रमलगायत काममा पनि ती कार्यालय जुटिरहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाको घेराबीच सो मतपत्र मतदान केन्द्रमा पुराउने तयारी भइरहेको विवरण प्राप्त भइरहेको आयोगले जनाएको छ ।

यसैबीच, आयोगले राजनीतिक दलका उम्मेदवारले चुनावका बेलामा गर्ने खर्चको सूक्ष्म अनुगमन गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकोप्टरको प्रयोगजस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म अनुगमन गरी वा गर्न लगाउन आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताउनुभयो । अन्य खर्च विवरण अनुगमन गर्न सकिने भएमा सोसमेत गरी मतदान हुने दिनअघि नै गोप्य रूपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्