‘राजविराजका महिलाहरुको हक र अधिकारका लागि लड्छु’

जनमत पार्टीबाट नगर प्रमुखको उम्मेदवार



पहिलो पटक चुनावी मैदानमा होमिएको जनमत पार्टी आफैमा नयाँ छ । पूर्वी तराईमा निकै राम्रो पकड बनाउन सफल भएको यो पार्टीका संयोजक डाक्टर सिके राउत छन् । सिके राउतको आफ्नै राजनीतिक इतिहास पनि छ । त्यसो त यो पार्टीले तराईका केही जिल्लामा राम्रो कब्जा जमाउने होडमा छ । त्यसमा पनि सप्तरी राजविराज नगरपालिकामा यस पार्टीले मेयर र उपमेयरको रूपमा महिलालाई अगाडी सारेको छ । त्यसैले पनि यस क्षेत्रमा जनमत पार्टी के गर्ला भन्ने आम जनमानसमा निकै नै चासोको विषय बनेको छ । चुनावी मैदानमा होमिएकी जनमत पार्टीकी सप्तरी राजविराज नगरपालिकाकी मेयरको उम्मेदवार ममता झाँ चुनावकै सोरोफोरमा रहेर गरेको कुराकानी:

राजनीति मै किन होमिनु भयो त ?

राजनीतिमा सानैदेखि नै लगाव थियो । समाजमा भएको विभेदको बारेमा मैले आफ्नो बुबालाई भन्ने गर्थै,यो समाजमा भएको हरेक गरिबलाई पैसा दिनुपर्छ । तर मेरो बुबा भन्नुहुन्थ्यो यो समाजमा पैसा दिएर मात्र पनि समस्याको समाधान हुन सक्दैन । अधिकार पनि आवश्यक पर्ने भएकोले म राजनीतिमा होमिएकी हुँ । बुबा भन्नुहुन्थ्यो ‘राजनीतिमा होमिएपछि ठुलो ठुलो विकासको कार्य पनि गर्न सक्छौँ ।’ सबैभन्दा पहिला टोल, गाउँ त्यसपछि नगर, जिल्ला हुँदै हामी राष्ट्र सम्म पुग्न सक्छौँ । मेरो वुबा पनि राजनीतिज्ञ हुनुहुन्थ्यो । साही प्रेरणाबाट म पनि राजनीतिमा आएकी हुँ ।

भावी मेयरको रूपमा आफूलाई कसरी सक्षम साबित गर्नुहुन्छ ?

मैले राजनीति गरिरहेको थिए । अन्य पार्टीको क्रियाकलाप मलाई चित्त बुझ्दो लागेन । सिद्धान्त अर्कै र व्यवहार अर्कै । त्यसैले म जनमत पार्टीतर्फ आकर्षित भए । तराईमा भएका शोषित, जनजाति, उत्पीडन वर्गको वकालत जुन तरिकाले हुनुपर्ने थियो सोही अनुसार भएकै थिएन । त्यसैले म त्यस खत राजनीतिबाट टाढा र जनतासँग घुलमिल भइरहेको थिए । यसै क्रममा डाक्टर सिके राउत जो वैज्ञानिक, विद्धान तथा आफ्नो पेसाको साथै सेवा सुविधाहरू छोडेर यही शोषित पीडित, जनजातिहरूको लागि केही गरौँ भन्ने चाहना लिएर यहाँ आउनुभयो त्यो वास्तामा सार्थक थियो । यस्ता उत्पीडन वर्गको लागि केही गरौँ, अरूबाट हैन नीति तथा कानुन परिमार्जनबाटै गरौँ भन्ने विशेष जनमत लिएर आउनुभएको छ । यो समग्र तराइवासीका लागि हर्षको कुरा हो । जनमत पार्टीको मुख्य कार्य नै शोषित र पीडितको जीवनस्तरलाई माथि उकास्ने छ भनिसकेपछि म यस पार्टीसँग प्रभावित भए । कोभिडको समयमा खानपान र स्वास्थ्योपचारमा पनि पनि मैले सम्पूर्ण नगरवासीलाई सक्दो मद्दत गरे । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत ल्याएको रासनले पनि नपुगेपछि मैले व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गरे । साँचिएकै भन्ने हो भने त्यस खत अन्य कुनै राजनीतिक दलहरूले सहयोग नै गरेनन् र म राजनीतिबाट टाढै बसेकी थिए । तर पछि जनमत पार्टीको अध्यक्ष सिके राउतको वैज्ञानिक भिजनबाट म प्रभावित भए । वास्तवमा भन्ने हो भने अझैसम्म पनि महिलाहरू पीडित नै छन् । जबसम्म महिलाको विकास हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन । यो कटु यथार्थ हो । त्यसै अध्यक्ष स्वयमले तपाई जस्तो राजनीतिक चेत भएको र समाजमा केही गर्न सक्ने निडर महिला एउटा नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ भनेपछि मैले मेरो उम्मेदवारी पेस गरेकी हुँ । त्यति मात्र नभई उहाँले मेयर–उपमेयरमा नै महिला जन प्रतिनिधिको लागि उम्मेदवार बनाउनु भएको छ । यति गरेपछि उहाँले महिलाको लागि पनि केही विचार गर्नु भएको रहेछ भन्ने विश्वास लागेको छ । वर्तमानमा विगतको जस्तो महिला उपमेयर रहने व्यवस्थामा नै परिवर्तन भएको छ । मेयर–उपमेयर दुवैमा महिला उम्मेदवारको टिकट दिनु पार्टीका अध्यक्षको महिलाप्रतिकै सम्मान हो । यसो गर्दा उहाँले महिला वर्गको उत्थान र प्रोत्साहनको लागि केही सोच्नुभएको रहेछ भन्ने प्रष्टै बुझिन्छ ।

चुनाव प्रचार–प्रसारमा निकै नै धेरै रकम खर्चिनुपर्ने बाध्यतालाई तपाईँले कसरी लिनुभएको छ ?

जनमत पार्टी, भरखरै उदाउँदै गरेको पार्टी हो । त्यसमा पनि हाम्रो अध्यक्षले सम्पूर्ण काम परित्याग गरी मूलधारको राजनीतिमा आएको त्यति धेरै लामो समय भएको छैन । त्यसैले खर्चको मामिलामा हामीलाई पार्टीले जति दिएको छ त्यसमा नै हामी लड्छौँ । अर्थको मामिलामा हाम्रो प्रष्ट धारणा छ । पार्टीले जतिसम्म गर्न सक्छ हामी त्यती नै गर्छौ । चुनाव लड्छौँ । मेरो विचारमा राजनीति कुनै लगानी होइन । आज लगानी गर्ने र जितेपछि लगानी उठाउने जुन परिपाटी नेपालको राजनीतिमा छ त्यो अन्त्य गरिनुपर्छ । हामीले आफ्नो क्षेत्रको जनतालाई यही भन्दै आएका छौँ । पैसा दिएर भोट किन्नेलाई भोट नदिन पनि हामीले यहाँका स्थानीयलाई आग्रह गर्दै आइरहेका छौँ ।

मधेसवादी दल, गठबन्धन र नेकपा एमालेको साख पनि त्यस क्षेत्रमा राम्रै छ । त्यसो त तपाईँलाई त्यहाँ चुनाव लड्न र विजयी बन्न निकै ठुलो चुनौती देखिन्छ नि ?

मधेसमा जनजाति र दलितको अवस्था निकै नै नाजुक छ । यस्ता अत्यन्तै पीडित वर्गलाई हेरिने नजरमा परिवर्तन आवश्यक छ । यसमा खास गरी ठुला पार्टीहरूको ध्यानै पुगेको छैन भन्दा पनि फरक नपर्ला । यस्तोमा डा. सिके राउतले भरखरै स्थापना गरेको जनमत पार्टीलाई विश्वास गर्नेको जमात छ । जनमत पार्टीले यहाँ साना–साना अत्यन्तै संवेदनशील व्यवहारिक समस्याहरूलाई सुझाउने प्रयत्नमा लागेको छ । त्यसले गर्दा पनि यहाँका मतदातामा जनमत पार्टीले एक किसिमको विश्वास दिलाउन सफल छ । त्यसैले पनि हामी अगाडी आउन सक्छौँ भन्ने लागेको छ ।
यस नगरमा तपाईँले नै चुनाव जित्छु भन्ने आधारहरू के–के हुन ?

राजविराज नगरपालिका जेठो नगरपालिका हो । जब काठमाडौं महानगरपालिका स्थापित भयो, त्यस वखत यो पनि निकै चर्चित नगरपालिकाको रूपमा स्थापित भयो । तर पनि राज्यको उपेक्षामा यो नगरपालिका पर्याे । राजविराज नगरपालिकामा लामखुट्टेको समस्या ठुलो छ । हुन त यो सुन्दा सामान्य समस्या भएपनि यहाँका जनताको लागि सबैभन्दा ठुलो समस्या हो । लामखुट्टे आउँने अवस्था किन आयो त ? फोहोर मैला व्यवस्थापन नगरेर होइन र ? त्यसैले हामीले आफ्नो घोषणापत्रमा पनि राजविराजमा पोहोर मैलाको समस्यालाई जडै देखि समाधान गर्नेछौँ । फोहोर मैलाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने आम जनतालाई विश्वास दिलाउन सक्छौँ । आजको युवामा हार्नुभयो भने पढेको धेरै हुन्छ तर जागिर हुँदैन । जसले गर्दा उनीहरू कुलतमा फसिरहेका छन् । त्यसैले जनतालाई रोजगारीको व्यवस्था गरी यस्ता साना भन्दा पनि साना समस्याहरूलाई हल गर्ने हाम्रो योजना छ । यती मात्र नभई हामीले यहाँका खेल प्रेमी युवाहरूका लागि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रगंशाला पनि बनाउनेछौँ । यस्ता नयाँ योजनाहरूलाई हामीले पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ । यस्तै फरक विषयहरूमा टेकेर हामीले चुनाव जित्ने आधार तयार पारेका छौँ ।

अन्त्यमा: यस क्षेत्रका आम जनतालाई के भन्न चाहनुहुन्छ ?

म मेरो नगरवासी जनमानसलाई यही भन्न चाहन्छु, जनमत पार्टी निर्माणकर्ता वैज्ञानिक डा.सिके राउतसँग नयाँ भिजन छ । अन्य पार्टीका नेताहरू सतहबाट उठेर मूलधारको राजनीति गरिरहेको बेलामा सिके राउत मूलधारको राजनीतिमा माथिबाट सतहमा हामीसँग हुनुहुन्छ । यसले राजनीतिमा पक्कै पनि आमूल परिवर्तन ल्याउने वाला छ । त्यसैले तपाईँहरू बुझ्नुहोस्, म यो नगरको छोरी हुँ । मैले गरेको कामहरू तपाईँहरूको अगाडी छन् । यसपालि कसैको पैसामा, कसैको कुरामा निडर भई, विना कुनै स्वार्थ जनताको पार्टी जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेकी छु । हरन छापमा आफ्नो अमूल्य भोट दिएर मलाई जनप्रतिनिधिको रूपमा स्वीकार गर्नुहुन्छ भन्ने अपेक्षा गरेकी छु । सबै युवाको उठानको लागि हरन छापलाई मत दिनुहोस् । तपाईँहरूका आम मागहरू सबै पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्