स्थानीय चुनाव, वितृष्णा र स्वार्थको भाष्य



चुनावले विगत र वर्तमानसँग आगतसँग गाँस्न सुझाउँदै छ । चुनावी परिणामलाई लगाइने अनुमानमध्ये काठमाडौँको लडाइँ निकै नै रोचक हुने देखिन्छ ।

जनतामा बढेको राजनीतिक वितृष्णा र सिद्धान्त बिर्सने दलीय शैलीलाई नियाल्दा भरतपुर पनि चर्चामा चुलिएको छ । यद्यपि यसअघि काठमाडौँ महानगरमा रञ्जु दर्शनालगायतका साझा पार्टीका उमेदवारका कारण ठूला दलको नतिजामा निकै ठूलो प्रभाव पा¥यो । यसपटक स्वतन्त्र उम्मेदवार बालेनको नाम उस्तै रूपमा आएको छ । फलतः युवाको जमातलाई पक्कै पनि प्रभाव पार्ने देखिन्छ नै ।
गठबन्धनलाई अस्वीकार गर्ने, नयाँपन खोज्ने, विशेषतः कलाकारितामा समर्पित युवा वर्ग, वैज्ञानिक प्रविधिप्रति आकृष्ट वर्ग अनि अझ राजनीतिक वितृष्णाले ‘नो भोट’ को अपेक्षा गर्नेहरूले बालेनलाई रोज्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।

वास्तवमा गठबन्धनका कारण ‘हाम्रोलाई भन्दा राम्रोलाई’ भन्ने सिद्धान्तचाहिँ सिद्धान्तमै अड्किएको देखिन्छ । नीतिभन्दा फरक रहेर पुरुषवादी अनुहार मैदानमा देखिनु पनि यसको अर्को कारण रह्यो । यसरी हेर्दा भोलिका दिनमा ‘तपाईँलाई हामीले जिताएको हो’ भन्दै बाँडी खाने रीतले निरन्तरता दिने भय पनि छ । विचारको बेमेल रहँदा अस्थिरता नहुनेमा पनि ढुक्क हुनै सकिन्न । चुनावमा मत हाल्न बढीमा ५ सेकेन्ड लाग्छ अनि ५ वर्षसम्म पछुताइरहने स्थिति हुन पनि सक्छ । हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनुभन्दा विवेकी बन्नु अहिलेको आवश्यकता हो । यसर्थ वर्तमान चुनावी शैलीले नै स्वार्थको बीजारोपण गरेको प्रतीत हुन थाल्दा सचेत जनतामा वैकल्पिक शक्तिप्रतिको चाख तीव्ररूपमा बढेकै हो ।

हिजोको दूरावस्था र यथार्थ

विगतको चुनावी प्रतिस्पर्धामा रहेको नेकपा एमालेभित्रको शक्ति आज तीन टुक्रामा विभाजित छ । स्वार्थको साइनो नमिलेर चोइटिएका एकीकृत माओवादी र समाजवादी पार्टीले विचार नमिले पनि नेपाली काङ्ग्रेससँग गठबन्धन गरिरहेको अवस्थामा हिजो र भोलिको दोसाँधमा मतदाता अन्योलावस्थामा छन् । नयाँपन केही नहुने अनि उही सत्ता प्राप्तिको रस्साकस्सीमा भाग मिलाई खाने पद्धतिबाट निष्पक्ष जनतामा आशाभन्दा बढी वितृष्णा नै छ । हिजो आपसमा भएका तर्क, विवाद र द्वन्द्वसम्म पुग्दा पनि घरभित्रको कुरा घरमा नै मिलाउन नसकेर नै बाक एकला बिथोलियो ।

तथापि, अन्तरविरोध र विभाजनको कुरा नितान्त फरक विषय हुन् । माक्र्सवादी मान्यतामा अन्तरविरोध जति सामान्य भए पनि विभाजनको परिणाम घातक बन्छ । मिलेर बढ्ने अग्रमन र फुटेर लड्ने पतनको भाष्यभित्र झुन्ड–झुन्डमा विभाजित बुद्धिले नकारात्मक नतिजा दियो । यसर्थ जनतामा शिशु संविधानको दुरुपयोग गर्ने झुन्डवादी बुद्धिबाट तर्सिनु स्वाभाविकै हो ।विभाजनले हिजोको क्रान्ति, जबजको सिद्धान्त वा आचरणको पार्टीगत विरासतलाई जोगाएको हो भन्न सकिने स्थिति छैन । आजैबाट मीठा भाषण उही अनि उसै गरी जनतामा मपाईँत्ववाद हाबी देखिए पनि जनतामा २०७४ को भन्दा केही बढी चेतना त बढेकै देखिन्छ । यति भएर पनि भुईँमान्छेलाई फसाउने र भोट किन्ने प्राचीन शैलीमा दलहरू होमिएकै देखिन्छन् ।

भोज शुरु भएको छ । पछि हाम्रो बेवास्ता गर्दै चाकडीबाज बन्नेहरूले अहिले हात जार्ने कठिन अभ्यास गरिरहेकै छन् । कसैलाई सिध्याएर आपूm महान् हुने मात्रै बुद्धिलाई निरुत्साहित पार्ने संयन्त्र आफै गन्हाएको देखिन्छ । जनताको मत तान्ने विकासवादी रचनात्मक बुद्धिलाई धमिराले खाएको भान भइरहेकै छ । व्यवस्था बदलियो तर सोच र प्रवृत्ति डुङडुङ्ती गन्हाइरहेकै छ ।शिक्षा र सभ्यता विकासका विचारलाई घोषणापत्रमा विरलै समेटिएका छन् । समेटिए पनि महत्वाकाङ्क्षाका पोका राखिएका छन् । यसो गर्ने र उसो गर्ने भनिरहँदा स्रोत कसरी खोजेर पूरा गर्ने भन्ने कुरा नै स्पष्ट नभएका हचुवा विचारको बाहुल्यता देखिन्छ । अनुसन्धान नगरेरै झुक्याउने घोषणापत्र सार्वजनिक हुनुले हामी कुन हैसियतमा छौँ भन्ने कुरालाई सङ्केत गरेको छ ।

संविधान र परिवर्तनको जनआकाङ्क्षा

संविधानले स्वतन्त्रताको वकालत ग¥यो । जनताको सन्ततिले जनतालाई शासन गर्ने सुव्यवस्था कायम ग¥यो तर भ्रष्टाचारी शैलीलाई नवीन शैलीले पुस्तान्तरण गरिरहेकै छ । चाकडी, चाप्लुसी र हजु¥याइँका कारण चुनावमा टिकट पाउने कि क्षमताका आधारमा पाउने भन्ने समस्याले गाँज्यो । आखिर शासनसत्तागत पद्धतिले जनतामा स्वतन्त्रता त दियो तर सुव्यवस्था दिएन । सुपात्र र सुशासन दिएन । विडम्बना, मुलुकले पाएको परिवर्तनको अर्थ व्यवस्थाको नाम हो तर व्यवस्थापन पक्षले चाहिँ सधैँ सत्तास्वार्थको गाईजात्रा देखाइरहेकै छ । एउटै मान्छे पटक–पटक सत्तामा पुगिरहेका हुन्छन् । पञ्चायतकालीन व्यवस्थादेखि नै उही व्यक्ति मुलुकका निर्णायक बन्छन् । घुमेर नेतृत्व गरिरहन्छन् । यसर्थ अहिलेको राजनीतिक बहस न वैचारिक धारमा केन्द्रित छ, न त नीतिगत लक्ष्यमुखी नै । यो केवल शक्ति सम्पन्नताका खातिर चलिरहेको खेल मात्रै हो । यस अन्तर्यको अभ्यास हिजो २००७ सालबाटै भइरहेको हो र आज पनि बदलिन सकेन ।

पाठ सिक्ने नै हो भने तत्कालीन माओवादीको विचार र भाषण अनि प्रतिबद्धताले मूर्तता पाउन नसक्नुमा एकताको अभाव हो । एकै थालमा भात खाँदै द्वन्द्वमा होमिएका महानायकहरू नै आज आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित छन् । बुर्जुवा शिक्षा बदल्ने लगायतका वचनबद्धता पनि सधैँ शक्तिकै वरिपरि घुम्ने पद्धतिभित्र पुरानो शरीरको नयाँ कपडाजस्तो मात्रै देखियो । सत्ताकै वरिपरि घुम्ने लालसा देखिरहियो । उही आसे राजनीतिकै होड रहनुले पनि नयाँपनको आशा कहिल्यै भएन ।भोट माग्दा जनतासँग गरिएका बाचा एकाएक पद र सत्ताको भागवण्डासँग गएर मोडिए । जनतामा झाङ्गिएको अन्धसमर्थन र अन्धविरोधको अर्को सङ्कीर्णताले असल नेतृत्व चयनमा समस्या उब्जिरहेकै छ ।

मुलुक बनाउने र समृद्धिको द्वारलाई खोलेर विश्वव्यापी प्राविधिक विकासतर्पm लम्किने मौकालाई हरेक चुनावी यात्राले समेट्न सकेन । असल मान्छेलाई सफल हुन नदिने घटिया बुद्धिको प्रभुत्व अद्यापि कायमै रहँदा सानालाई ऐन ठूलालाई चैन भइरहेकै छ । सबैभन्दा उत्तम र प्रभावकारी अवसर नै बहुमत र एकतामा हुने थियो । आखिर जुनसुकै सरकारले उठाएको भए पनि रेलमार्ग, सुरुङमार्ग, जल यातायातका ठूला खाले विकासका कुराले मुलुकमा एउटा राम्रै प्रभाव छोड्न सक्ने नै थियो । ‘उसले भनेका कुरा हामीले किन गर्ने’ भन्ने बुद्धि बोकेका नेतृत्वमा केवल ईष्र्याको कल्मष छ ।

यद्यपि, व्यवहार र वास्तविकताको कसीमा रहेर हेर्दा आन्तरिक टकरावले विकासतिर लाग्ने ध्यान विनाशतिर बढी केन्द्रित भयो । यसको परिणाम त अहिले हामी सबैले भोगिरहेका छौँ । सरकार पनि फेरिए तर उसलाई सत्ताको मेलोको खेलोले देशले विकासका आयामलाई अपनाउन सकेन । कमाउने, रमाउने र पचाउने नातावाद, कृपावाद र हजुरियावादी नवसामन्तवादले देशको समुन्नतिको ढोका बन्द गरिदिएकै हो । अहिले शासन व्यवस्था बदल्ने लडाइँ गर्नुपरेको छैन तर सोचको लडाइँमा चाहिँ नवसामन्तवाद र विकासवादबीचको तीव्र द्वन्द्व देखिन्छ ।

जनअभिमतको सम्मानमा आशङ्का

ठूलो दलविभाजनले शक्तिको लडाइँमा तानातान बढी हुन्छ । फलतः कालान्तरमा राजनीतिक र शासकीय अस्थिरताको भाष्य गाँसिएको रहिरहन्छ । देश र जनतालाई केन्द्रमा राख्ने हो भने नेतृत्व पंक्तिले संविधानको बालापनलाई मूर्तता दिने अभिष्टमा फुट्नेभन्दा जुट्ने नीति लिने हिम्मत गर्नुपर्छ ।

यद्यपि लामो अन्तरविवादको परिणतिले दलको वैचारिक र नीतिगत साध्यकै खिल्ली उडाएको प्रतीत हुन्छ । आज हामी ७० वर्षअघिदेखिको यही अभ्यासमा उही प्रयोगशालाभित्र मुकदर्शक छौँ । यो झिनाझपटी र स्वार्थलिप्साको जाँतोभित्र हामी पिसिइरहेका मात्रै हौँ । गाली र तालीबाहेक सिर्जनात्मक, रचनात्मक शैलीमा विश्लेषण गर्ने मथिङ्गल नभएका अधिकांश जनतामा देशको भन्दा दलभित्रको गुटकै चिन्ता छ । केही ठूलै नेतामा त अझ बढी संवेदनामा खेलेर परिवारवाद मच्चाउने कुसंस्कारले जरो गाढिरहेकै छ । अतः नेल्सन मन्डेलाको जस्तो आदर्शता हाम्रो देशको नेतृत्वमा रहेन । पाएसम्म आपूmले नत्र भने पनि आफ्नाले हैकम जमाउने नीतिमा हामी जनता दशकौँदेखि कठपुतली मात्रै भयौँ ।

जनताले दिएको अभिमतलाई के नेतृत्वले कदर गर्न सकेको छ ? मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फसेको छ । हिजो राजाको शासन हत्याउँदा मात्रै पनि ठूलै उपलब्धि भयो भन्ने हामीले आज नेतृत्वलाई सोही शैलीको व्यवहार अपनाइरहेका छौँ । चाकडीबाज, चाप्लुसी, अति सम्मानको सोचभित्र हामी चुर्लुम्मै डुबिरहेसम्म जनताद्वारा चुनिएकै व्यक्ति पनि सत्तामा स्वार्थको चक्रव्युहभित्र फसिरहने देखिन्छ । एउटै व्यक्तिको चङ्गुलमा घुम्ने पार्टीभित्रको पद्धतिले शक्तिलाई अँठ्याएर राखिरहन्छ अनि हामी त्यसभित्रै पूजारी बनिरहनुचाहिँ गलत पद्धति हो ।
अहिलेको गठबन्धन र हिजोको विभाजन दुवै पद्धति स्वार्थजनीन धृष्टता मात्रै हुन् ।

यसमा न सिद्धान्त मिल्छ, न त विचारको शृङ्खला नै । हालका सत्ताधारीले कुनै रचनात्मक र विकासवादी अभिष्ट राख्न सकेको भान नै हुँदैन । अर्कोतिर, हिजो भएको बाम एकता र आजको त्रिमुखी पार्टीको भाष्य पनि स्वार्थ सिद्धान्तमै केन्द्रित रहेको साबित भइसकेको छ । पार्टी विभाजन र मेलको अन्तर्यभित्र सैद्धान्तिक, वैचारिक वा नैतिक जनसेवामुखी कारण पटक्कै देखिएन । खाली दुई नेताबिचको असन्तुष्टि न थियो । यस्तो अवस्थामा दुई नेताको विकल्पमा वा मझधारको बाटो खोजिनुपथ्र्यो तर त्यसो भएन । खाली दुई जनालाई मनाउने अभ्यास मात्रैमा सीमित भइरह्यो ।

माक्र्सवादी सिद्धान्त नबोके पनि हिजो कांग्रेस, राप्रपाजस्ता दल विभाजनबाट गुज्रँदै आएका हुन् । आखिर बाम राजनीतिको एकता पनि दिवास्वप्ना मात्रै बन्न पुग्यो । सर्वहारा, श्रमजीवी वर्गका पक्षमा लड्ने सैद्धान्तिक धारमा केन्द्रित हुनुपर्नेमा स्वार्थ र पदीय लोलुपतामै ठोक्किएको हो । यो पनि वास्तवमा जनताको अभिमतमाथिको अन्याय हो । यो विभाजनले जनताको जनमतलाई बेतुकको राजनीतिक स्वार्थको अचानो बनाइदिएको छ ।

आगामी बाम राजनीतिक अभ्यासमा हाम्रो देश फेरि प्रयोगशाला मात्रै हुने भयबाट मुक्त रहेन । यो विसङ्गतिबोधलाई वर्तमान अस्वाभाविक राजनीतिक लुछाचुँडीले जन्माएको हो । लोकतन्त्रमा दल विभाजनलाई जति स्वाभाविक माने पनि जनताको स्वार्थ भुलेर व्यक्ति स्वार्थको लडाइँ मात्रै केन्द्रित शैली मान्नुपर्छ । अतः यो लडाइँले जनताको अभिमतलाई लत्याएको हो । यसले पुँजीवादी स्वार्थी शक्तिको झल्को बढाएको हो । यसर्थ विगतको चुनावी बाम ध्रुवीकरणले जनअभिमतमाथि एसिड प्रहार गरेको बोध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्