कतै जस्तापाता, कतै महिलालाई सारी

आचारसंहिता उल्लंघनको आरोप



हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ मा नेकपा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेकाले निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको दाबी गरिएको छ ।

उम्मेदवार अनिल बानियाँले निर्वाचन आचारसंहिता उलंघन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाँड्न लैजाँदै गरेको करिब २ सय थान जस्तापाता प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष उम्मेदवार बानियाँले चुनाबमा प्रभाव पार्न हेटौंडा उपमहानगरपालिकाको रकमबाट खरिद गरी आचारसंहिताविपरीत उक्त जस्तापाता बाँड्न लागेको स्थानीयले आरोप लगाएका छन् । बानियाँले लालभित्तेमा बाँड्न लैजाँदै गरेको जस्तापाता रामधुनीमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

बानियाँ यसअघि एमालेबाट उम्मेदवार रही सोही वडाध्यक्ष निर्वाचित हुनुभएको थियो भने स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत् सोही वडाको एमालेबाट पुनः अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ ।तर, उम्मेदवार बानियाँले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरूले भ्रामक प्रचार गरेको दाबी गर्नुभएको छ । निर्वाचन आचारसंहिताविपरीत लालभित्ते, सुकौरा, घट्टेखोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्ष उम्मेदवार बानियाँले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले पराजित मानसिकताले गलत प्रचार गरेको बताउनुभयो ।

बानियाँले आफू वडा अध्यक्ष रहँदा फागुनमा उपभोक्ता समितिमार्फत् सुकौरा टोलका स्थानीयलाई जस्तापाता लागि बजेट छुट्याएको बताउनुभयो । ‘हामीले असारमै जस्तापाता दिने भनेर निर्णय ग¥यौं । फागुनमा उपभोक्तासँग सम्झौता गरेका थियौं । जेठसम्म सम्झौता अवधि थियो,’ बानियाँले भन्नुभयो–समितिका अध्यक्ष र कोषाध्यक्षले जस्तापाता लैजानुभएछ । जस्ता समातेर एमालेले बाँड्यो भनेर भ्रम फैलाए । आरोप गलत हो, खेदजनक छ ।

उहाँले आफू वडाध्यक्ष रहँदा उक्त कार्यक्रमका लागि वडाले ५ लाख, उपमहानगरपालिकाले ३ लाख र २ लाख उपभोक्ता समितिले उठाएको बताउँदै एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गरिएको बताउनुभयो । उहाँले आफूले वडाका गाउँगाउँमा विकासका लहरहरू ल्याएको र काम गरेको बताउँदै वैशाख ३० गते हुने निर्वाचनमा पुनः निर्वाचित हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

उता, हेटौंडा–७ मा गठबन्धनको चुनाब प्रचारमा हिँड्ने महिलाहरूमा कमी देखिएपछि निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै महिलालाई सारी दिएर फकाउन थालेको आरोप छ । हेटौंडा–७ मा नेकपा एमालेविरूद्ध वडा तहमा भएका सबै राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपा मिलेर गठबन्धन बनाएका छन् ।

-यालीमा हिँड्ने महिलालाई पहिलो चरणमा ५० वटा सारी वितरण गरिएको दाबी छ । उपहार दिइएको सारी लगाएर गठबन्धनको चुनाब प्रचारमा हिँड्न उर्दी जारी गरिएको एक महिलाले बताइन् । नाम उल्लेख नगर्ने शर्तमा ती महिलाले भनिन्–महिलालाई फकाउन एकै रंगका सारी दिइएको छ ।

अन्य महिलालाई पनि फकाउन र गठवन्धनको -यालीमा आकर्षित गराउने उद्देश्यले २ सय ५० वटा सारी किनिएको छ । हेटौंडा उपमहानगरपालिकाका वडामध्ये एमालेको पकड रहेको वडामा ७ नम्बर पनि पर्दछ । एमालेको विरासत भत्काउने उद्धेश्य लिएर सत्तारूढ गठबन्धनसहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको गठबन्धन बनेको छ ।चैत २५ गतेबाट निर्वाचन आचारसंहिता लागू भइसकेको छ । आचारसंहिताअनुसार कुनै पनि उम्मेदवार वा कुनै राजनीतिक दलले सहयोग वा राहत वितरण गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्