म पनि पार्टी प्रवेश गर्ने !



बिहानै रेडियोले हाँडीगाउँका ५ सय कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण ग-यो । घरको मतानमा रेडियो झुन्ड्याएर भैँसी दुहुँदै गरेका वीरकाजी त्यो समाचार सुनेर छक्कै परे । ओहो ! अस्ति मात्रै पनि यही रेडियोबाट हाँडीगाउँका ३ सय कार्यकर्ता चोचोमोचो पार्टी परित्याग गरी भद्रगोल पार्टीमा प्रवेश गरेको समाचार सुनेका थिए वीरकाजीले ।

वीरकाजीले मनमनै आफ्नो गाउँको जनसंख्या जोडे । पीपलबोटछेउ तीन घरका १८ जना, पाटीटोलको सात घरका ४५ जना, भीरमुनि १५ घरका १०३ जना र आफ्नै घर भएको काजीटोलको आठ घरका ५५ जना । गाउँको जम्मा जनसंख्या २२१ । त्यसमा पनि सातजना विभिन्न खाडीमुलुक पुगेका छन् । १३ जना मतदान अधिकार नभएको १८ वर्षमुनिका बालबालिका छन् । यसरी हिसाब निकाल्दा पार्टी प्रवेश र मतदानको लागि परिपक्व जनसंख्या भनेको २०१ छ । अब कसरी एक साताको बीचमा दुई पार्टीमा गरी ८ सय कार्यकर्ता प्रवेश गरे होलान् ?

उनले यो पार्टी प्रवेशको हिसाबकिताबको मेसो मिलाउनै सकेनन् । अझ भनौं उनले यसबारे त्यति धेरै तथ्य–तथ्याङ्क खोज्नपट्टि मतलबै राखेनन् । बरु उनको ध्यान त गलाभरिको माला, दुई–चारवटा खादा र निधारमा लामो रातो टीका लगाएर कुनै एउटा पार्टी प्रवेश गर्न पाए हुने थियो भन्नेतिर पो तानियो । तर फसाद ! उनी त कुनै पार्टीको सदस्य नै पो छैनन् त । आफू कुनै पार्टीको सदस्य नै नभएपछि कुन पार्टी परित्याग गरी कुन पार्टी प्रवेश गर्नु र ?

उनलाई याद भएसम्म १८ वर्ष पुगेर नागरिकता बनाएपछि पहिलोपटक भोट हाल्दा गाउँकै एकजना ठुटे नेताले भद्रगोल पार्टीको पुतली चिन्हमा भोट हाल्नु है भनेर खल्तीमा ५ सयको नोट घुसारिदिएका थिए । उनले मतदान केन्द्रमा पुगेर त्यही पुतली चिन्हमा स्वस्तिक छाप ठोकिदिए । अर्को पटक उही पहिलेकै ठुटे नेताले खल्तीमा हजारको नोट घुसार्दै मारमुङ्ग्री पार्टीको तबेला चिन्हमा भोट हाल्नु है भनेर सुझाए ।हजारको नोट सम्हाल्दै उनले ती ठुटे नेतालाई सोधेका थिए– हैन अघिल्लो चुनावमा त तपाईंले भद्रगोल पार्टीको पुतली चिन्हमा पो भोट हाल्नु भन्नुभएको थियो । अनि अहिले चाहिँ किन मारमुङ्ग्री पार्टीको तबेला चिन्हमा हँ ?

ठुटे नेताले सहजै जवाफ फर्काएका थिए– ‘मैले पार्टी फेरेँ नि यो पटक । आफू बसेको पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेँ ।’
किन ? उनले आँट गरेरै फेरि सोधे । ठुटे नेताले भने– ‘कारण धेरै छन् । निर्वाचनमा टिकटको कुरा, टिकटमा पनि पदको कुरा, पैसाको कुरा, प्रतिष्ठाको कुरा, प्रगतिको कुरा, प्रशंसाको कुरा आदि ।’त्यति बेलै उनको मनमा पार्टी प्रवेशको झड्का परेको थियो । ठुटे नेताको विगत र आगतको राम्रो ज्ञान भएको वीरकाजीले उसको लवाइखुवाइ, उठबस, सरसम्पत्तिमा भएको प्रगति देखेर पार्टी प्रवेशको नतिजा उपलब्धिमूलक हुने ठानिसकेका थिए । तर त्यति बेला उनले पार्टी प्रवेशको मेसो समाउन नसक्दा मतदानको दिन हजार÷पाँच सयमै चित्त बुझाउनुपरेको थियो ।

यो पटक भने उनी जुनसुकै जुक्ति लगाएर भए पनि कुनै एउटा पार्टी प्रवेश गर्ने निर्णयमा पुगेका छन् । गलामा खादा र माला अनि निधारमा रातो धर्सा टल्काउँदै उनको घरको बाटो तेर्सिने पार्टी प्रवेशीहरुको हुलले उनमा यो पटक पार्टी प्रवेशको हुटहुटी झन् बढी देखिएको छ ।भैँसी दुहिसकेर दूधको भाँडो खोपामा थन्क्याउँदै उनले कम्मरमा लत्रिएको कछाडलाई कसेर बाँधे । अनि बत्तीस मुजा परेको मैलो ढाकाको टोपी तानतुन पारेर टाउकोमा घुसार्दै भीरमुनि गाउँतिर बत्किए, उनै ठुटे नेता भेट्न । वीरकाजी ठुटे नेताको घरमा पुग्दा ती नेता दुई÷चार गाउँलेसँग गफिँदै थिए । शरीरलाई धनुष्टङ्कार बनाएर उनले ठुटे नेतालाई नमस्कार टक्र्याए । पुरानो स्टीलको गिलासमा बाफ उडाएर चिया सुर्काउँदै गरेका ठुटे नेताले रवाफसाथ वीरकाजीलाई सोधे– किन आइस् ओई वीरे ?

नामको त आफैँ काजी थिए वीरकाजी । तर उनको वास्तविक काजी त तिनै ठुटे नेता थिए । त्यसैले वीरकाजीले नम्र भावमा विन्ति बिसाए– ‘काजी म पनि पार्टी प्रवेश गर्नुप-यो ।’ ठुटे नेता गर्जिए– ‘कौन सा बढी बात छ यार । भोलि लतपते पार्टीको कार्यक्रम छ, त्यो कार्यक्रमको सभापति मै हो, त्यही बेला प्रवेश गर्नू ।’वीरकाजी फेरि छक्क परे । हैन मैले पहिलोपटक मतदान गर्दा यी ठुटे काजी भद्रगोल पार्टीमा थिए । दोस्रोपटक मारमुङ्ग्री पार्टीमा भोट हाल्न यिनैले हजारको नोट खल्तीमा घुसारिदिएका हुन् । अहिले फेरि लतपते पार्टी पो प्रवेश गर भन्छन् !’
यसपटक वीरकाजीले ठुटे नेतासँग कुनै सवालजवाफ गरेनन् ।

उसलाई न पार्टीसँग सरोकार थियो, न पार्टीको नीति, कार्यक्रम र सिद्धान्तसँग मतलब थियो, न चुनावमा कसले जित्छ र हार्छ भन्ने कुराको चासो नै थियो । कखरा नपढेको र जम्मा एकभोट भएको वीरकाजीलाई त गलामा खादा र माला अनि निधारमा लामो रातो टीका धस्काएर गाउँलेहरुको अगाडि मञ्चमा उपरखुट्टी लगाई बस्ने अनि तल्लो घर, माथिल्लो घर त्यही माला–खादा र टीका टल्काउँदै एक–दुई फन्को लगाउने रहर मात्र न थियो ।वीरकाजीले ठुटे काजीसँग यति चाहिँ सोधे– ‘काजी मेरो त कुनै पार्टी नै छैन अनि फेरि कुन पार्टीबाट प्रवेश गर्ने त म लतपते पार्टीमा ?’ ठुटे नेताले भने– ‘चिन्ता नगर त्यो भोलि नै मिलाउँला । बरु टोलका अरु कोही प्रवेश गर्न इच्छुक छन् भने लिएर आउनू ।’

ठुटे नेताको कुराले हौसिएका वीरकाजीले गाउँकै आइते, भुङ्ग्रे, टुलप्रसाद, बाटुली, साइमानहरुलाई सम्झिए । यिनीहरुलाई पनि वीरकाजीलाई जस्तै माला–खादा र निधारमा रातो टीका धस्काउने अनि सुर्ती–मदिरा तान्न दुई–चार सय उठाउने लालसा थियो । वीरकाजीले ठुटे काजीलाई सोधे– ‘प्रवेश गर्दा चुनावमा जस्तो खल्तीमा पैसा घुसार्ने चलन छ कि छैन ? नत्र टोलका अरु चार–पाँचजना प्रवेश हुन्छन् है काजी ।’

ठुटे नेताले मुस्कुराउँदै जवाफ फर्काए– ‘चिन्ता नगर न वीरे, हाम्रो यो पार्टीमा सबै धनाढ्यहरु मात्रै छन् । तिमी मानिस बटुल्ने काम गर न, पैसाको चाँजोपाँजो म मिलाई हालौंला नि !’रातभरि चटारो भयो वीरकाजीलाई । तल्लो घर, माथिल्लो घर, वल्लो घर, पल्लो घर सबैतिर खै ग-यो । अनि भोलिपल्ट सखारै पुग्यो कार्यक्रम स्थलमा । वीरकाजी पुग्दा कार्यक्रम स्थलमा ठुटे नेता र अरु दुई–चारजना कार्यक्रम स्थल सिँगार्ने खेतीमा व्यस्त थिए । वीरकाजीले पनि मञ्च बनाउने, कुर्सी मिलाउने, ब्यानर टाङ्ने काममा सघाए ।अब कार्यक्रम स्थलमा मानिसहरु थपिँदै गए । निर्धारित समयकै आसपास लतपते पार्टीको नेता पनि आइपुगे । ठुटे नेता र गाउँका अरु आसेपासे पनि मञ्चतिर उक्लिए । कार्यक्रम शुरु भएपछि नेताले भाषण ठोक्न थाले । सहभागीहरुले परररर ताली ठोक्न थाले । वीरकाजीले पनि अरुको तालिको तालमा आफ्नो दुई हातलाई जोड–जोडले ठटाउन थाले ।

नेताको भाषण सकिएपछि निर्धारित कार्यतालिका अनुसारकै पार्टी प्रवेश कार्यक्रम शुरु भयो । वीरकाजीलगायत गाउँका १०–१२ युवा, केही अधबैंसे र केही ज्येष्ठ नागरिकलाई फूलमाला, खादा र रातो टीका लगाएर नेताजीले पार्टी प्रवेश गराए । ठुटे नेता मञ्चबाट तल ओर्लिएर, वीरकाजीलाई अङ्कमाल गरेर, चुनाव ताकाकै शैलीमा सुटुक्क खल्तीतिर हात घुसारेर हजारका केही नोट राखिदिए । कार्यक्रम सकिएपछि सबै तितरबितर भए । वीरकाजी पनि आफ्नो टोलका पार्टी प्रवेशीहरुलाई पछि लगाएर गलाको माला र खादा मिलाउँदै नजिकैको भट्टीतिर छिरे । सबैले लोकल ठर्रा दुई–दुई गिलास भ्याए र लर्खराउँदै घरतिर लागे ।

सधैँ बिहान पाँचै बजे उठेर भैँसीको गोबर सोहोर्ने र दूध दुहुने कर्म सकिसक्ने वीरकाजी ठर्राको प्रभावले आज भने झन्डै सात बजेसम्मै निदाएछन् । निद्राले छोड्नासाथ उठेर मतानतिर दौडिएका वीरकाजीले हतार–हतार रेडियो खोले । रेडियोमा सात बजेको समाचार आउँदै थियो– ‘यो रेडियो नेपाल हो, …. हिजो हाँडीगाउँमा सम्पन्न लतपते पार्टीको आमसभामा मारमुङ्ग्री पार्टीका टोल कमिटी अध्यक्ष वीरकाजीसहित डेढ सय कार्यकर्ता उक्त पार्टी परित्याग गरी लतपते पार्टीमा प्रवेश गरेका छन् ।’

समाचार सुनेर वीरकाजी फेरि एकपटक चकित प-यो । मनमनै खुशी पनि भयो । राजनीतिक रुपमा कुनै पहिचान नभएका उनलाई रेडियोको समाचारले मारमुङ्ग्री पार्टीको टोल कमिटी अध्यक्ष बनाइदिएको थियो । अनि जम्माजम्मी १० जनाजतिले फूलमाला, खादा र टीका लगाएको कुरालाई डेढ सयले प्रवेश गरेको भनेर प्रचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्