टंकप्रसाद आचार्यले बीपीलाई गाली गर्दै पत्र लेखे

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–७



भारतमा सत्याग्रहको प्रतिपादक महात्मा गान्धीले ‘अनशन’ (अन्न त्याग) लाई विरोध जनाउने हतियारको रुपमा विकसित गरी उत्कृष्ट एवं अत्यन्त फलदायीरुपमा प्रयोग गरेका थिए । उनले केवल शक्तिशाली बृटिस राजलाई मात्र नभएर भड्किएको विध्वंशकारी जातीय दंगालाई समेत व्यक्तिगत दृढ इच्छाशक्तिको भरमा बसमा ल्याएका थिए ।

आफ्ना मागहरु पूरा नहुन्जेलसम्म अन्नको एक दाना पनि मुखमा नहाल्ने प्रण गरेका थिए । अन्यायको विरुद्ध र स्वतन्त्रताको लागि लामो कठोर संघर्षले महात्मा गान्धीको यस्तो छवि विकसित भएको थियो कि तन्केको बन्दुक र उठेको तरबार पनि नुहिन पुग्थ्यो । हत्या, हिंसा, लुटपाटमा अग्रसर भएका मानिसहरु पनि होसमा फर्कन्थे । पञ्जाब र कलकत्तामा यस्तै भएको थियो । त्यसरी नै महात्मा गान्धीले धेरै पटक अमनचयन र शान्ति फर्काएका थिए । उनको अन्तिम भोक हड्ताल दिल्लीमा सन् १३ जनवरी १९४८ (२००४÷०९÷२९) बाट शुरु भएको थियो । १८ जनवरीसम्म आइपुग्दा दंगामा उत्रेका हिन्दू र मुस्लिम समुदायका नेताहरु हिंसात्मक दंगा त्यागी सहमतिमा आए । भारत सरकारले पाकिस्तानलाई बटवारा सम्झौता अनुसार ५५० करोड भारतीय रुपियाँ दिन मञ्जुर गरेको थियो । शान्ति बहाली वा शान्तिको तगारो हटाउनु उनको प्रयासको गुदी थियो ।

निश्चय नै न गणेशमान, न त नेपालको जेलभित्र वा बाहिर रहेका कुनै पनि व्यक्ति महात्मा गान्धीको उच्चाइका थिए अथवा न त पुग्न नै सक्थे । गणेशमानले आमरण अनशनको धम्की दिँदा शायद अनुतापबस जुद्ध शमशेरले मागबमोजिम गर्न ओदश दिएका थिए । उनी अवश्य नै थप अर्को एकजनाको हत्याको दोष आपूmमाथि लगाउन चाहँदैनथे होला । तसर्थ गणेशमानले लामो अनशनको पीडा भोग्न परेन । शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गंगालालको मृत्युदण्डले जनमानसमा वितृष्णा र आक्रोश गढेको थियो । वास्तवमा प्रजा परिषद्ले केवल केही सय वा बढीमा केही हजार पर्चाहरु मात्र वितरण गरेको थियो । पारिवारिक कलह नै राणाहरुबीच उथलपुथलको कारण थियो । शास्त्रीले त पर्चासमेत वितरण गरेका थिएनन् । वास्तवमा उनले समर्थनको लागि महात्मा गान्धीसँग आग्रह गरेका थिए तर अनुत्साहित हुनुपरेको थियो । सम्भवतः पछि गएर जुद्ध शमशेरलाई आफू अति निष्ठुर भएको आभास भएको थियो होला । तसर्थ केही वर्षपछि उनी स्वयंले नै पद्म शमशेरको लागि पद त्याग गरेका थिए ।

पछि त्यस बेला आएर मोहन शमशेरले तीन बन्दीहरुले गरेको ‘अनशन’ को सामना गर्नुपरेको थियो । सन् १ मे १९४९ (२००६÷०१÷१९) देखि उनीहरुले अन्न त्यागेका थिए । त्यो ‘अनशन’ को हावा पैmलिएलगत्तै भवानी शंकर राजोपाध्यायको अगुवाइमा अन्य शहरवासीहरुसमेतले त्यसकै अनुशरण गरे । त्यस घटनालाई भारतीय अखबारहरुले प्रमुखता दिएर खबर प्रकाशित गरेकाले प्रधानमन्त्रीलाई थप अप्ठ्यारो प¥यो । त्यस घटनालाई बनारसमा नेपाली राष्ट्रिय कांग्रेसले झनै बढाइचढाइ प्रचारप्रसार ग-यो । निरक्षणमा खटेका चिकित्सकले धेरै दिनदेखि अन्न त्यागेकाहरुको स्वास्थ्य अवस्था चिन्ताजनक भएको बताएपछि सर्वत्रबाट उनीहरुको रिहाइको माग हुन थाल्यो । उनीहरुलाई छोड्न पण्डित नेहरुले दिएको दबाब थाम्न कठिन परेकै थियो । अझ त्यसमाथि बाहुनको मृत्युको कारण बन्न नचाहेका मोहन शमशेरले सन् २१ मे १९४९ (२००६-०२-०८) मा कोइराला, प्रधान र तुलाधरलाई जेलमुक्त गरेका थिए । उनीहरु २१ दिन लामो अनशनमा बसेका थिए ।

अन्न त्यागेको दिनदेखि पानीको थोपासमेत नलिएका भवानी शंकरको अवस्था सबैभन्दा चिन्ताजनक थियो । उनीहरुको अनशन १७ दिन लामो थियो । कोइरालालाई सबल बन्न भनियो र प्रधानमन्त्रीले उनीसँग भेट गर्ने अनि त्यसै क्रममा सुधारका कुराहरु लागू गर्ने उनको विचार रहेको भनियो । त्यसपछि उनलाई भारतको सीमा रक्सौल लगियो, जहाँबाट उनलाई शंका गरिएको उनको अर्बुद रोगको परीक्षण र उपचार गर्न भारत पठाइयो । आवश्यक खर्च नेपाल सरकारले व्यहोर्ने भयो ।थप आन्दोलनविरुद्ध अर्ति दिँदै मोहन शमशेरकोे सुधार गर्ने आश्वासनप्रति सन्तुष्ट जनाई कोइरालाले दिएको वक्तव्यले जेलभित्रका टंकप्रसाद आचार्यलगायत अन्य बन्दीहरुलाई आहत र आक्रोशित बनाएको थियो ।

नेपाली राष्ट्रिय कांगे्रसले पूर्वनिर्धारित जुन महिनादेखि गर्ने भनेको राष्ट्रव्यापी आन्दोलनका कार्यक्रमहरु हत्तपत्त फिर्ता लियो । कोइरालको यस कार्यले कैदमा रहेका पार्टी अध्यक्ष टंकप्रसाद आचार्यले शीघ्र एउटा तीतो पत्र पठाए । जेलबाट मुक्त हुनासाथ गरेको त्यस कार्यले जेलभित्रका अन्य विद्रोहीप्रति कोइरालाको संवेदनहीनताबाट टंकप्रसाद आचार्य कुन हदसम्म रिसाएका थिए भन्ने कुरा बन्दीगृहबाट लुकाइछुपाई बाहिर पठाइएको त्यस पत्रबाट स्पष्ट हुन्छ–

‘अत्याचारी शासनले यहाँ राजनीतिक बन्दीहरुमाथि कत्रा अपराध गरिरहेको छ ? तिमीलाई छर्लङ्ग नै छ । राजनीतिक कार्यकर्ताहरुप्रति सरकारको रवैया सन्तोषजनक छ भनी तिमीले कसरी भन्न सकेको ? राजनीति भनेको कपटी खेल मात्र होइन, तिमीले यो तथ्य मनन गर्नुपर्छ….., तिम्रो त्यस कार्यबारेमा बाबु जय प्रकाश नारायणलाई पनि लेखी पठाएका छौं ।’ कोइरालालाई आचार्यले पत्रमा यसरी हपारेका थिए ।

भारतमा जस्ताको त्यस्तै नै थियो । कोइरालाको वर्तमान संवेदनहीन कार्यले पनि नेपाली राष्ट्रिय कांग्रेस फुटेर बनेको दुई समूहबीच कुनै सहमति हुन सकेन । विरक्तिएर गंगालालका भाई पुष्पलालले निरञ्जन गोविन्द वैद्य र अन्य केहीका साथ सन् १५ सेप्टेम्बर १९४९ (२००६-०५-३०) को दिन छुट्टै पार्टी– नेपाल कम्युनिस्ट पार्टी घोषणा गरे । पुष्पलालले कम्युनिस्ट घोषणापत्रसमेत नेपालीमा अनुवाद गर्ने विस्मयकारी कार्य पनि गरे । कोइराला र रेग्मीबीच हुने गरेको छुद्र कचिंगलबाट निभ्र्रान्त र वितृष्णावश तुल्सीलाल अमात्य, गौरीभक्त प्रधान, मनमोहन अधिकारी, केशरजंग रायमाझी, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्यायजस्ता र अन्य अनेक विद्रोहीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरका थिए ।

त्यसै कारण आचार्यले कोइरालाको राजनीतिक गुरु जय प्रकाश नारायणलाई एउटा लामो पत्र लेखेका थिए । जसमा उनले नेपालमा भइरहेको राजनीतिक क्र्रियाकलापप्रति भारतको समाजवादी पार्टीले दिएको नैतिक समर्थनको लागि धन्यवाद दिँदै कोइरालालाई विगतका गल्तीहरु नदोहो-याउन सम्झाइदिन अनुरोध गरेका थिए । ‘….हामी तपाईंलाई हाम्रो आदरणीय समकक्षी एवं शुभचिन्तक मान्दछौं । श्री कोइरालाले पनि यस्तै मान्छन् होला । यस्तो अवस्थामा उनले आफ्नो कमी–कमजोरीलाई सुधार गर्नुपर्ने बारेको पत्र तपाईंलाई पठाएर उनको खराबी गरेका होईनौं’ भनी आचार्यले लेखेका थिए ।

भारतमा रहेका विभिन्न समूहमा विभाजित नेपाली राजनीतिक कार्यकर्ताहरुबाट सामूहिक कदम उठाउने सम्भावना न्यून थियो । त्यस्तै देशभित्रका विद्रोहीहरुलगायत महिला समूह ‘नेपाल महिला संघ’ समेत निष्क्रिय बसेका थिए । पहिला सन् १९४४, अगस्टमा शहीद पत्नी, आफन्त र अन्य राजनीतिक कार्यकर्ता सम्मिलित ३६ महिलाहरु सम्मिलित भई गठित त्यस संगठनमा सयभन्दा बढी महिला सदस्य रहेको सशक्त समूह बनिसकेको थियो ।

शहीद गंगालालका कान्छा भाइ देवीलालले त्यस संगठनको विधान लेखेका थिए । त्यसको कार्यालय उक्त समूहकै एक सदस्य नर्स पेसाकी सविता श्रेष्ठको निवासमा बडो चतु¥याइँका साथ राखिएको थियो । विनाकुनै शंका महिलाहरुलाई उनकोमा चिकित्सकीय परीक्षणको बहानामा कुनै पनि बेला आउजाउ गर्ने सुविधा थियो । ११ जनाको कार्यकारी समिति रहेको उक्त संगठनको अध्यक्ष गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी थिइन् । शहीद गंगालालकी विधवा हसिनादेवी श्रेष्ठ, गौरीभक्त प्रधानकी बहिनी साधना र सहानाका साथै सरोजनी मानन्धर, शान्ता श्रेष्ठ र टंकप्रसाद आचार्यकी धर्मपत्नी श्रीमती रेवन्तकुमारी आचार्य, रामहरि शर्माकी धर्मपत्नी सीतादेवी शर्मा उक्त संगठनका सक्रिय सदस्य थिए ।

नेपाल महिला संघले शासनविरुद्धको आन्दोलनमा गतिलो सहभागिता जनाएको थियो । अहिले उनीहरुको क्रियाकलाप सदस्य वृद्धि गर्नु र महिलाहरुलाई जाग्रित गर्नुमा नै सीमित रहेको थियो । त्यस क्र्रममा उनीहरुले नगरपालिकाको चुनावअघि महिला मताधिकारको माग राख्दै प्रधानमन्त्री पद्म शमशेरकोमा प्रतिनिधि मण्डल गएको कुरा सगौरव बारम्बार वर्णन गर्थे । उनीहरुको मागलाई गम्भीरताका साथ मनन गरेर भविष्यमा महिला मताधिकार पाउने आश्वासन दिइएको थियो ।

रामलाल ताम्राकार र देवीलाल श्रेष्ठले बी.पी. कोइराला र सूर्यप्रसाद उपाध्यायलाई पर्खी बसेका थिए । उनीहरु खास मिटिङ हेतु आएका थिए । मिटिङ भारतको पटना, बैंक रोडस्थित प्रसिद्ध समाजवादी नेता जय प्रकाश नारायणको आफ्नै निवासमा राखिएको थियो । सन् १९४५ मा ताम्राकार र श्रेष्ठ अन्य केही कार्यकर्ताका साथ नेपालबाट बाहिरिएका थिए । ताम्राकार नेपाल प्रजातन्त्र कांग्रेसको सदस्य थिए । उक्त मिटिङको उद्देश्य नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसलाई एकसूत्रमा बाँधी एउटा मजबुत राजनीतिक संगठन बनाउने बाटो र उपायको खोजी सन्दर्भमा रहेको थियो । मिटिङ सन् १९४९ को अन्त्यतिर शुरु भएको थियो । घन्टौंको लामो छलफलका बाबजुद उक्त मिटिङ निष्कर्षविना नै टुंगियो ।

तथापि ताम्राकारको जोडदार जिकिर र देवीलालले सुझाएमुताबिक यी दुई पार्टीका प्रतिनिधिलगायत काठमाडौंबाट आउने विद्रोही कार्यकर्तासमेतको निकट भविष्यमा अर्को एउटा मिटिङ राख्ने एवं उक्त सभाबाट लिएको निर्णयबमोजिम कार्य गर्न मञ्जुर भएका थिए । भारतका नेताहरुले पनि संयुक्त पार्टीको पक्षमा सल्लाह दिएका थिए । फलतः त्यस विषयमा थुप्रै मिटिङहरु भए । त्यस्ता कुनै मिटिङ कहिलेकाहीँ नेतृत्व सन्दर्भमा कोइरालाको सङ्कीर्णताबाट रिसाएर ताम्राकारले सुइरोले आँखामा घोचिदिने धम्की दिएपछि कटु र हातपातको अवस्थामा समेत परिणत हुन पुग्थ्यो । अन्त्यमा सन् ९ अप्रिल १९५० (२००६÷१२÷२७) को दिन कलकत्ताको टाइगर सिनेमा हलमा भएको साधारण सभामा यी दुई पार्टी एक–अर्काेमा विलय भई नेपाली कांग्रेस गठन भएको घोषणा भयो । एकीकृत भएको उक्त पार्टीको नाम गणेशमानले सुझाएअनुसार नेपाली कांग्रेस राखिएको थियो ।

अब नेपाली कांग्रेससँग जनरल सुवर्ण शमशेर र जनरल महावीर शमशेरको आर्थिक स्रोत, बी.पी.को भारतसँगको पहुँच र गणेशमानको छवि अनि नेपालीहरुसँगको सम्बन्ध एकसाथ जुरेको थियो । कुनै खास विशेषताले नभई परिस्थितिवश बी.पी.को बेमात्री दाजु मात्रिकाप्रसाद कोइराला पार्टीको सभापति चुनिए । नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापक सभापति महेन्द्रविक्रम शाह महामन्त्री बने । सुवर्ण शमशेर कोषाध्यक्ष र कृष्णप्रसाद भट्टराई सहमहामन्त्रीमा चयन भए । बी.पी. कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर, रुद्रप्रसाद गिरी र कुँवर कल्लु सिंह सम्मिलित जम्मा आठजनाको कार्यकारी समिति सदस्य चयन गरियो । राजनीतिक सक्रियतावादीहरुमा अपेक्षा र अड्कलको नयाँ अनुभूति जाग्रित हुन थाल्यो । डिल्लीरमण रेग्मी र उनका समूह भने यस एकीकृत पार्टीबाट बाहिर बस्ने भए । उनीहरुले अंगिकार गरेको सिद्धान्त अहिंसात्मक भएको घोषणा गरी राणा शासन उखेलेर फ्याँक्न सशस्त्र क्रान्तिलगायत जस्तोसुकै उपाय अपनाउने नीति लिएको नेपाली कांग्रेससँग विमति जनाई नेपाल फर्के ।

(क्रमशः अर्को मंगलबार)

प्रतिक्रिया दिनुहोस्