स्थानीय चुनावपछि सुधार्नै पर्ने संस्कार र प्रणाली



प्रायः सानातिना लोकतान्त्रिक मुलुकमा राजनीतिक बखेडा, फितलो कानुन, बेरोजगार तथा महँगीजस्ता समस्या भई नै रहन्छन् । यस्ता समस्याको हल हामीले नै गर्ने हो ।

तर भनेर के गर्ने र ? कडा परिश्रम नगर्ने, बसी–बसी कमाइ गर्ने संस्कार मौलाएको छ हाम्रो मुलुकमा । पैसा कमाउनका लागि धुर्त व्यापारी भएर हुन्छ कि, राजनीतिमा गएर हुन्छ कि, सरकारी कर्मचारी भएर हुन्छ कि अथवा हनुमान नै भएर हुन्छ कि अनेक उपाय गरेको देखिन्छ । सर्वप्रथम यस्ता कुसंस्कारहरुको अन्त्य हुनु जरुरी छ यो देशमा । अब यस्तो बेलामा कसलाई मात्र दोष दिने ? जे होस्, अब यस्तो हुनुभएन । यानेकि सधैँझैँ समाजले तमासा हेरेर बस्नु भएन ।

समाज परिवर्तन हुनु जरुरी छ । हरेक मानिसको इच्छा, आकांक्षा हुन्छ लोकतान्त्रिक मुलुकमा । उसको जीवन सुखमयले बितोस् । तर यहाँ यस्तो भएन । नेताहरुको लालच र स्वार्थले आम नागरिकको जीवन समस्यै समस्याले गिजोलिएको छ ।एउटा हिन्दीमा कहावत छ– ‘घोडे बेच् कर सोना, मुहावरे ।’ यहाँ पनि यस्तै भइराखेको छ । लोकतन्त्र ल्याइहाल्यो, सकिइगयो नि ! तर यसबाहेक कडा कानुन कायम गर्ने, राजनीतिज्ञहरु कम गर्ने, महँगी नियन्त्रण गर्नेजस्ता कुरामा जोड दिनु देश चलाउनेहरुको कर्तव्य हो । अन्यथा यो देशमा लोकतन्त्र ल्याउनुको कुनै अर्थ छैन । यी कुराहरु किन भन्नुपरेको भने, मानिसलाई दैनिक जीविकोपार्जन गर्न गाह्रो भएको छ ।

यो देशमा सरकारी प्रशासनको कुरा गर्ने हो भने सधैँ माथिको इशारामा कठपुतली बन्ने परिपाटी बसिराखेको छ । हुन त सरकारी प्रशासनिक निकायहरु पनि कम छैनन् । कमिसन र रकमको मामलामा देश चलाउनेहरुलाई कमिसनको भाग पु¥याइराखेका हुन्छन्, जसरी मानिसहरुले भगवान् गणेशजीलाई लड्डु चढाइराखेका हुन्छन् । यो मामलामा सरकारी कर्मचारी र देश चलाउनेहरुबीच साइलेन्स एग्रिमेन्ट भइराखेको हुन्छ, तैं चुप मै चुप, जसले गर्दा आर्थिक दृष्टिकोणले देश भ्वाङ बनिराखेको छ ।

अब भने समाजले सोच्नु जरुरी छ कि आउने चुनावमा के गर्ने, पुराना नेता नै छान्ने कि नयाँ युवा पुस्ता छान्ने ? यस्ता कुरा मनमा राख्नु जरुरी छ । चुनाव नजिक आउँदै छ । मुख्य कुरा मासु–भात खाएर गलत मान्छेलाई भोट दिनुहुँदैन । कुनै पनि देशको द्रुत विकासको लागि एक दलीय सरकारको जरुरत पर्दछ तर हाम्रो देशको दुर्भाग्य, कहिले कमिसनले त कहिले घमण्ड र कलहले गर्दा यहाँ एक दलीय अर्थात् दुई तिहाइको सरकार पनि सफल हुन सकेन ।

लाग्छ, यही कारणले गर्दा यो देशमा अब एक दलीय सरकार आउने आशा पनि कम देखिएको छ । अब यो देशमा बहुपक्षीय सरकार नै आउने लक्षण छ । तैपनि सबै पक्ष लालच र स्वार्थ छोडी इमानदार हुने हो भने मुलुकमा द्रुत विकास हुन केही समय लाग्दैन । र, एक दलीय सरकार नै हुनुपर्छ भन्ने छैन । तर यसको लागि सधैँको जस्तो ढिडपनालाई छोडी केही कुराहरुमा ध्यान दिनु जरुरी छ र आपसमा लचिलो हुनु जरुरी छ ।

१) जुनसुकै सरकारले देशमा राज गरे पनि सर्वप्रथम यो सोच्नु जरुरी छ कि कलह एक ठाउँमा छ, देशको द्रुत विकास एक ठाउँमा छ । त्यसकारण देश चलाउनेहरुले शुरुमा कलहमा मात्र समय खेर फाल्नुभन्दा उद्योग व्यवसायको विकास, रोजगार र महँगीजस्ता कुराहरुमा जोड गर्ने हो । यसको लागि साम, दाम, दण्ड, भेद जे गर्नुपरे पनि गर्ने हो । हेरौं न कसरी हुँदैन मुलुकको द्रुत विकास ? कसरी जनताले सुख पाउँदैनन् ? खाली एक–अर्कालाई गाली गर्न छोड्नुस् ।
२) अहिले आएर हाम्रो देशमा धेरै राम्रा मगज भएका युवा पुस्ताहरु छन् । यिनीहरुले नै हाम्रो मुलुकमा विकास, योगदान र चमत्कार गर्ने हो । त्यसकारण यिनीहरुलाई हौसला दिएर अघि बढ्नु नै सरकारको दायित्व हो । यसले गर्दा युवा पुस्ताको विदेश जाने तृष्णा पनि कम हुँदै जानेछ ।
३) प्रायः सरकारहरु कुर्सीमा आएपछि यिनीहरुको उद्देश्य नै पार्टीको लागि पैसा कमाउनु हो, पैसाको लागि यिनीहरु कुनै पनि गलत काम गरिहाल्छन्, जुन भनिराख्नुपर्ने कुरा होइन । यही कारणले गर्दा मुलुक अहिलेसम्म अघि बढ्न सकिराखेको छैन । अब भने यस्ता कुसंस्कारलाई सबै मिली अन्त्य गर्नु जरुरी छ, सिर्फ जनताभन्दा नेता बढी हुनुचाहिँ भएन ।

४) हामीले यो देशमा लोकतन्त्र ल्याएको मगन्ते मानसिकताको विकास गर्नको लागि होइन, दिमागको कसरत गरेर देशमा धन बर्साउने हो । यो बाहेक देशमा रहेको आयस्रोत प्रयोग गरेर युवा पुस्तालाई रोजगार, जनतालाई सुख–सुविधा दिने हो । तर खोइ त ? त्यसकारण सरकारहरुले चाहिनेजति मात्र पूर्वाधारको विषयको बारेमा सोच्ने हो र इच्छाशक्ति जगाउने हो ।

५) यो मुलुकमा एउटा दुःख लाग्दो कुरा के छ भने, सरकारहरु जनताको मर्का बुझ्दैनन्, न त जनताका सुझाव गम्भीररुपले लिने गर्दछन् । सरकारहरु खाली आफ्नो मात्र सोच्ने गर्दछन् । जस्तै– भत्ताको सुविधा,, सवारीसाधनको सुविधा, औषधि उपचार सुविधा, आवास सुविधा, भर्ती सुविधा आदि । तर महँगी नियन्त्रण, रोजगारजस्ता कुरालाई लिएर कहिल्यै सरकारहरुले सोचेका हुँदैनन् । अब यस्तो हुनु भएन ।

६) लोकतन्त्र आएको ३ दशक बितिसक्दा पनि नेताहरुमा एक–अर्कालाई गालीगलौज, दोषारोपण आदिमा नै चलिराखेका छन् । यसको पनि अन्त्य हुनु जरुरी छ । अन्यथा समाज र युवा पुस्ताले पनि यही अभ्यासलाई दो¥याइराख्ने छन् ।
हामी जतिसुकै नेताहरुलाई गाली गरौं, सम्झाऊँ, लेखौं, सडकमा नारा–जुलुस गरौं, यो टाइम पास मात्र हो । हाम्रो राम्रो दिन नआउन्जेल केही हुनेवाला छैन । तैपनि प्रयास गर्नु सबैको कर्तव्य र दायित्व हो । वास्तवमा यहाँको समाजअनुसार देश चलाइराखेका छन् नेताहरुले । हाम्रो सहने बानी, एकताको कमी, गलत मतदान प्रक्रिया, दोषारोपणजस्ता अवगुणले गर्दा हामीले नेताहरुलाई सही मार्गमा ल्याउन नसकेको हो । विकासका कुरा गर्ने तर योगदान गर्न नचाहने परिपाटी बसेको छ यहाँ, अनि कसरी हुन्छ मुलुकको द्रुत विकास ? सधैँ विदेशीको मुख ताक्नुपरेको छ ।

हुन त सरकारले वृद्धवृद्धा, विधवाहरुका लागि केही राहत दिएको पछ, तर असहाय र गरिबका लागि पनि बिहान–बेलुकाको हातमुख जोड्ने व्यवस्था मिलाउनु जरुरी छ । यसबाहेक सस्तो र सर्वसुलभ शिक्षा अनि स्वास्थ्योपचारमा पनि जोड दिनु अत्यावश्यक छ । सर्वप्रथम यसको लागि ‘गरिब असहाय कार्ड’ वितरण गर्नुपर्दछ । यी कुरा पूरा भएको खण्डमा हामी भन्न सक्छौं कि यो देशमा असली लोकतन्त्र आउन लागेको छ । संघसंस्था एवं धन–मन भएका व्यक्तिहरुले सरकारसँग समन्वय गरेर अघि बढ्ने हो भने यी कुराहरु सम्भव छन् । यसको लागि सबै पक्ष मिलेर प्रयास गरौं ।

प्रतिक्रिया दिनुहोस्