पर्यटन प्रवद्र्धनका लागि भारतीय शहरमा रोड सो योजना हुने



काठमाडाैं।

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीपछि दुवै संस्थाहरू पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गर्नुभयो । समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ ।

त्यसै गरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादन (हिल स्टेसन, पार्कलगायत अन्य पर्यटकीय गतिविधि) मा सहकार्य हुनेछ ।
कार्यक्रममा वोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताउनुभयो । उहाँले महासंघले लिएको पहल सकारात्मक भएको भन्दै यसका लागि बोर्ड मिलेर काम गर्न तयार रहेको धारणा राख्नुभयो । कार्यकारी प्रमुख रेग्मीले नेपालको क्रस बोर्डर पर्यटन प्रर्वद्धनका लागि बोर्ड नेपालगन्ज, धरान र धनगढीमा पर्यटन मेला तथा मार्टहरू सञ्चालन गरिसकेको बताउँदै बोर्डले सीमा क्षेत्रका भारतीय पर्यटक ल्याउने गरी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहत् कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोहीअनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रूपमा विकास र विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरमा रोड सो योजना गरिने जानकारी दिनुभयो

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले दुवै संस्थाबीचको सहकार्य सकारात्मक भएको उल्लेख गर्दै यसबाट नेपालको पर्यटनमा नयाँ सन्देश प्रभाव हुने बताउनुभयो ।महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताउनुुभयो । महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्