भरतपुरमा पौडेलको बागी, दाहाललाई संकट



काठमाडौं । 

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले फिर्ता नलिएपछि गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाल संकटमा पर्नुभएको छ । माओवादी नेता रेणु दाहाल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेसले शुक्रबारसम्म अन्तिम कोसिस गरेको थियो ।

पौडेलको उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेताहरू चितवनमा गएका थिए । उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले साधारण सदस्य पनि नरहने गरी पौडेलमाथि अनुशासनको कारबाही गरेको छ । पौडेललाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मका नेताहरूले कोसिस गरेका थिए । तर, पौडेलले शीर्ष नेताको आग्रहलाई पनि बेवास्ता गर्दै आफ्नो उम्मेदवारी फिर्ता नलिने निर्णय गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको नगरप्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले कांग्रेसकै सहयोगमा निर्वाचन जित्नुभएको थियो ।

पौडलको उम्मेदवारी कायमै रहेका कारण सत्ता गठबन्धनलाई निर्वाचनको नतिजामा प्रभाव पर्ने हो कि भन्ने आशंका उब्जिएको छ । तर, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउन कोसिस गर्दा पनि नभएपछि पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय लिएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीको निर्देशन नमान्ने नेता कार्यकर्तामाथि पार्टीको विधानमा रहेको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । पौडेललाई पनि विधानविपरीत काम गरेकाले कारबाही गरेका हौं, अझै पनि वक्तव्य जारी गरेर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्छु भन्नुभयो भने कारबाही फिर्ता हुन्छ ।’

सत्ता गठबन्धनले गरेको निर्णय अस्वीकार गरेर बागी उम्मेदवारी दिएका पार्टीको कारबाहीमा परेका पौडेलले चुनावी प्रचारप्रसार शुरू गर्नुभएको छ । कांग्रेसलाई जोगाउन आफूले उम्मेदवारी फिर्ता नलिने अडान लिँदै उहाँले भन्नुभयो– ‘कांग्रेसले पार्टीबाट निकाले पनि पार्टीसँगको आबद्धता रहनेछ, कार्यकर्ताको चाहना र भावनाअनुसार काम गर्छु ।’

पौडेलको पक्षमा कांग्रेसका ठूलो नेता कार्यकर्ताको पंक्ति जान सक्ने सम्भावना रहेकाले सत्ता गठबन्धनबाट नगरप्रमुखका उम्मेदवार दाहाललाई जित्नका लागि सहज नहुने आँकलन गर्न थालिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा रेणु दाहालले ४३ हजार १ सय २७ मत ल्याएर जित्दा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् । अघिल्लोपटक २ सय ३ मतले हारेको एमालेले यसपटक झन्डै ८ हजारभन्दा बढी मत रहेको राप्रपासँग महानगरमा तालमेल गरेको छ । एमालेले यसपटक विजय सुवेदीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । तर, दाहालले पाँच वर्षमा गरेको कामबाट केही लोकप्रिय मत पाउने बताइएको छ । कांग्रेसबाट अपेक्षाकृत भोट नआएको अवस्थामा लोकप्रिय मतबाट मात्र जित्न कठिन हुने अनुमान गरिएको छ ।

नेकपा माओवादी केन्द्रका एक नेता गठबन्धनले गरेको निर्णयअनुसार सबै पार्टी इमानदार भएर गठबन्धनको उम्मेदवार जिताउन लाग्नुपर्नेमा जोड दिँदै भने – ‘कांग्रेसले पार्टीको निर्णय नमानेको भन्दै बागी उम्मेदवारलाई कारबाही गरेको छ, अब गठबन्धनका दलहरू इमानदार भएर लाग्नुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्