नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच सम्झौता



काठमाडौ ।

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिने समझदारी भएको छ ।

यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुुक्तानी प्रणालीलगायतका बैंकका विद्युतीय भुक्तानी च्यानल प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवामा आकर्षक छुट प्रदान गरिने भएको छ । समझदारीअनुरूप त्यसरी हुने कारोबारमा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै, होटलले विशेष छुट प्रदान गरी ९९ हजार ९ सय ९९मा वार्षिक सदस्यता प्रदान गर्ने कम्पनीले जनाएको छ । वार्षिक सदस्यताअन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निःशुल्क स्विमिङ पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुुरेन्टहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिने होटलले जनाएको छ ।

देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटलले क्रिमसन होटलको व्यवस्थापनअन्तर्गत रहने गरी हाल मोरङकोे सुन्दरहरैंचा नगरपालिकाको विराटचोक र झापाको दमक नगरपालिकामा थ्रि–स्टार स्टान्डर्डका होटलहरू सञ्चालनमा ल्याइसकेको छ । साथै, थप गन्तव्यहरूमा नयाँ होटलहरू निर्माणको प्रक्रियामा रहेको होटलले जानकारी गराएको छ ।
नेपालीरिका होटल र नेपाल बंगलादेश बैंकबीच भएको समझदारीले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवद्र्घनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्