बनेपा कांग्रेसको ‘विवाद छोप्न’ पत्रकार सम्मेलन

गठबन्धनका कारण अलपत्र घोषणापत्र



काभ्रे ।

नेपाली कांग्रेस बनेपा नगर समितिमा नगर प्रमुख पदको उम्मेदवारका लागि १८ जना प्रतिस्पर्धामा रहेका बेला नगर सभापतिमा झिनो मतान्तरले पराजित शान्तिरत्न शाक्य छनौट भए पछि कांग्रेस भित्र भएको विवाद छोप्न बनेपा नगर समितिले बिहीबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

‘हिजोसम्म हामी टिकटको प्रतिस्पर्धामा थियौँ, टिकट प्राप्त भएकै दिन देखि त्यो तुष बाँकी छैन’–सभापति महेश कर्माचार्यले भने–‘अब हामी काँग्रेस जिताउन लाग्ने छौँ ।’ २०७४ को स्थानीय तहको चुनावमा उनै शान्तिरत्न शाक्यको समूह सक्रिय नहुँदा कांग्रेसको तर्फबाट उम्मेदवार भएका राम जोशी १ हजार ७ सय मतान्तरले एमालेका लक्ष्मीनरसिं बादेसँग पराजित भएका थिए ।

पत्रकार सम्मेलनमा यस अघि नगर सभापति समेत रहेका राम जोशी र उनी निकटका नेताहरूको सहभागिता रहेन । १८ जना दाबेदार मध्ये प्रचण्डराज प्रधान, सुरकृष्ण बैद्य, कृष्णगोपाल भैल, महेश कर्माचार्य, योगराज दाहाल, सरस्वती बैद्य र उपप्रमुख पदका आकाँक्षी केहि उपस्थित भए । सबै एउटै मञ्चमा सहभागि भएर कांग्रेस भित्रको विवाद छैन भन्ने देखाउने उद्देश्यले घोषणापत्र विनै गठबन्धन बाहेक नै पत्रकार सम्मेलन गर्नु परेको उम्मेदवार शान्ति रत्न शाक्यले बताए । सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य जस्ता विषय प्राथमिकतामा राखेर काम गर्ने शाक्यको प्रतिबद्धता थियो । प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेले गठबन्धनको बाध्यता सुनाएका थिए ।

बनेपामा गठबन्धनको तर्फबाट कांग्रेसका शान्तिरत्न शाक्य र समाजवादीका रघुवर चौ प्रधान उपप्रमुख पदमा प्रतिस्पर्धा गर्दै छन् । एमालेको तर्फबाट रत्नकुश रञ्जित र विमला सापकोटा क्रमशः प्रमुख र उपप्रमुख पदमा प्रतिस्पर्धा गर्दै छन् । गठबन्धनले प्रमुख पदमा महिला शून्य गरे पछि महिला नेताहरूको आक्रोश त छँदै छ काँग्रेसले उपप्रमुख नपाए पछि झनै आक्रोश बढेको छ ।

एमालेलाई सिद्ध्याउन पार्टीको साख नै बिगारेको भन्दै कार्यकर्ताहरूले विद्रोहको धम्की दिइरहेका छन् । गठबन्धनका दुवै उम्मेदवार बनेपा ७ का हुन् । प्रमुख र उपप्रमुख दुवै एउटै वडाका, दुवै पुरुष, दुवै एउटै समुदायका र दुवै बजार भित्रका भएकाले भोट बैक बजार बाहिर रहेको, अन्य समुदाय र महिलाको प्रतिनिधित्व नभएको भन्दै गठबन्धन भित्रै आवाज उठाइएको छ ।

मतदाताहरूले क्षेत्र, भूगोल, समुदाय र समावेशितालाई हेरेर मतदान गर्नु पर्ने भन्दै काँग्रेस भित्रै बहस भएको नेताहरूले बताएका छन् । उम्मेदवारी दर्ता गर्ने दिन समाजवादी भित्र उपप्रमुख पदका उम्मेदवार रघुवर चौ प्रधान र वडा अध्यक्ष पदका उम्मेदवार सचितानन्द केसी बीच सडकमै भएको कुटाकुटले पनि कार्यकर्ता र मतदातामा निराशा छाएको छ ।

यता कांग्रेस भित्रको विवाद साम्य भएको भनिए पनि व्यवहारतः त्यस्तो नभएको नेताहरूले बताएका छन् । बनेपामा १४ वटा वडा छन् । पनौती पछिको दोस्रो धेरै मत र जनसङ्ख्यामा जिल्लामै धेरै भएको नगरपालिका हो । ‘गठबन्धनको बाँडफाँड वडा तहसम्मै गर्न घोषणापत्र र पत्रकार सम्मेलन एकै पटक गर्ने तयारीमा छौँ’– उम्मेदवार शान्तिरत्न शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस्