सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७२ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

उक्त अवसरमा महानिरीक्षक केसीले पदोन्नति हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै सङ्गठनमा रहेर उहाँहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कन स्वरूप पदोन्नति प्राप्त भएको बताउनुभयो ।

उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै कमान्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिँदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक केसीले पदोन्नति वृत्तिविकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रहरूमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र ईमानदारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशील रहन निर्देशन दिनुभयो ।

नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको वैशाख १५ गतेको निर्णयले सशस्त्र  प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानुन उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्