प्रचारप्रसारको कमीले सुजेपु झरना ओझेलमा



तेह्रथुम ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ मा रहेको सुजेपु झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको यो झरनाले पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेको छ । संरक्षण र प्रचारप्रसार नहुँदा गुमनामझैं बनेको हो ।
तेह्रथुमको उतरी भेगमा रहएको यो झरना वसन्तपुर बजार, लसुने, काँडे हुँदै पुग्न सकिन्छ ।

झरनासम्म पुग्न सवारीसाधनको यात्रापछि करिब आधा घण्टाको पैदल हिँडेपछि पुग्न सकिन्छ । झरनालाई पर्यटकीय रूपमा विकास गर्न स्थानीयवासी संरक्षणमा जुट्दै आएको स्थानीय दिलकुमार लिम्बुले बताउनुभया । ‘यो झरना प्रचार–प्रसारको अभावले खासै चर्चामा आएको छैन’, उहाँ भन्नुहुन्छ– ‘पर्यटकीय रूपमा विकास गर्ने हो भने तेह्रथुम थप पर्यटकीय गन्तव्य बन्नेछ ।’

केही साताअघि मात्र झरनालाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली कथानक चलचित्र तिमी कसको ? यहाँ छायांकन गरिएको चलचित्रका निर्माता तथा निर्देशक जीवन श्रेष्ठले बताउनुभयो । ‘ग्रामीणस्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हामीले यो झरनासहित तेह्रथुमको विभिन्न पर्यटकीयस्थलमा चलचित्र छायांकन गरेका छौं ।’ –उहाँको भनाइ छ ।

६५ मिटर लामो झरना अफैंमा सौन्दर्यताले भरिपूर्ण छ । झरनाको प्रचार–प्रसारसँगै स्थानीयवासी संरक्षणमा जुट्दै आएको स्थानीय नवीन भट्टराई बताउनुहुन्छ । ‘झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले पनि सहयोग गर्छ भन्ने आशा छ । यो झरना स्थानीयको मात्र नभई तेह्रथुमकै गहना भएकाले संरक्षणमा चासो देखाउन सरकारसँग आग्रह गर्छु ।’ –उहाँले भन्नुभयो ।झरनालाई प्रचारप्रसारसँगै संरक्षणमा जुट्दै पर्यटकहरू भित्र्याउने हो भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवद्र्धन गर्ने टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्