बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट



विमल विष्ट, डोटी  ।

जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनमा बुधबार एकैदिन टोलीले १ लाखभन्दा बढी मूल्यको अखाद्य सामग्री नष्ट गरेको छ । डोटीमा पछिल्लो केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ ।

डोटीको सिलगढी, दिपायल, राजपुर, एयरपार्ट क्षेत्रमा रहेका बजारमा गरिएको अनुगमनमा टोलीले १ लाख ३४ हजार ३ सय ६० रुपियाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजिया दाना, दालमटरहरु, बिस्कुट, खाने तेल, सोयबिन, काजु बदाम, चाउचाउ, मसालाहरु भेटिएका थिए ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीकी प्रशासकीय अधिकृत रमा कुँवरको कथन छ । बजार अनुगमनका क्रममा खाद्य पदार्थमा सुजी, मरमसाला, चाउचाउ, बिस्कुट, कोकाकोला, दालमोट प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिने गरेका उहाँले जानकारी दिनुभयो ।

खाद्य पदार्थमा म्याद नाघेका, पकाउने खाद्य सामग्रीहरूमा कलरको बढी प्रयोग गर्ने गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राविधिक सहायक सागर सापकोटाले जानकारी दिनुभयो । उपभोक्ताहरुले सामग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न उक्त अनुगमन समितिले सुझाव दिएको छ ।

नापतौलका सामग्रीहरू सम्बन्धित कार्यालयबाट परीक्षण पश्चात् मात्र प्रयोग गर्न आवश्यक रहेको गुणस्तर तथा नापतौल कार्यालय सिलगढीका प्रमुख शम्भु आचार्यले बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘बजारमा अनुगमन गर्दा आधारभूत रूपमा राम्रो देखिए पनि केही पसलमा तौलका रूपमा ढुङ्गाको ढक बनाई प्रयोग गर्ने गरिएको भेटियो, केही व्यवसायीले अनुमति नलिई पसल सञ्चालन गरेको पाइएको छ, उपभोक्ताले सामग्री खरिदा गर्दा ध्यान दिन जरुरी छ ।’

उक्त अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे-नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको थियो ।अनुगमन कार्यमा प्रहरी, प्रशासन, नगरपालिका, गुणस्तरीय तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य संघ, घरेलु तथा उद्योग विकास कार्यालयलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्