मन्त्री आलेद्वारा दृष्टिविहीन पर्वतारोही केसीलाई दश लाख सहयोग हस्तान्तरण



काठमाडौं ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दृष्टिविहीन सगरमाथा आरोही अमिट केसी भन्ने चित्रबहादुर खत्रीलाई दश लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।  बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच मन्त्री आलेले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री आलेले उच्च मनोबल राखेर सर्वोच्च शिखर सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्न समेत केसीलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, – ‘अमिट जीले जुन साहस देखाउनुभयो, यो सराहनीय छ । आरोहण सफल रहोस् शुभकामना छ ।’

मन्त्री आलेले सहयोग रकमसँगै केसीलाई नेपालको झन्डा उपहार दिनुभएको छ । गत चैत्र २४ गतेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रोत्साहन स्वरूप हिमाल आरोहण गर्दा लाग्ने रोयल्टी रकम मिनाह गर्ने र दश लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केसीलाई मन्त्री आलेले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम ग्रहण गर्दै आरोही केसीले आफू सरकारको सहयोगप्रति आभारी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले शुक्रवार सगरमाथा आरोहणका लागि यात्रा तय गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्