टिकट वितरणको प्रभावले एकीकृत समाजवादीमा ‘पहिरो’



हेटौंडा । 

स्थानीय चुनावमा टिकट वितरणको प्रभावका कारण नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरमा ‘पहिरो’ गएको छ । पार्टीको मकवानपुर नेतृत्व गरिरहनुभएका बहालवाला अध्यक्ष श्रीधर पोखरेलसहित नेताहरूले वैशाख ३० गते हुने स्थानीय तह चुनावको मुखैमा पार्टी परित्याग गर्नुभएको हो । यसलाई मकवानपुरको राजनीतिमा अर्थपूर्णरुपमा हेरिएको छ । पार्टीको सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा गर्ने निधो गरेको पोखरेलले बताउनुभयो ।

पार्टी छाड्न दलबलसहित मनहरिबाट हेटौंडा आइपुग्नुभएका नेकपा (एस) मकवानपुर सचिवालय सदस्य वीरेन्द्र डिसीले पत्रकार सम्मेलन गरेको केही मिनेटमै पार्टी जिल्ला अध्यक्ष पोखरेलले समेत पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । दुवै नेताहरूले लगातार पत्रकार सम्मेलन गर्न भ्याउनुभयो । उहाँहरूले स्वतन्त्रढंगले केही दिन रहने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँहरूले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणका विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

मनहरिबाट आउनुभएका नेताहरूको पत्रकार सम्मेलनमा पुगेका पत्रकारले नेकपा (एस) कै अर्को पत्रकार सम्मेलनसमेत भ्याए । नेकपा (एस) मा अब ठूलै पहिरो जाने अध्यक्ष परित्याग गर्नुभएका पोखरेलले दाबी गर्नुभयो । पार्टीमा गठबन्धनका नाममा अन्याय भएको उहाँको दाबी छ । भर्खर जन्मिएको पार्टीमा पनि चरम गुटबन्दी भएको उहाँले बताउनुभयो । तत्काल अन्य पार्टीमा नजाने र स्वतन्त्र रहेको घोषणा उहाँहरूले गर्नुभयो ।

पार्टी परित्याग गर्दै पोखरेलले भन्नुभयो–गठबन्धनका नाममा जे जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पर्ने गरी आफ्नो कुत्सित मनसाय पूरा गर्न जे षडयन्त्र भइरहेका छन्, एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति छ,’ उहाँले करिब ८ महिनाअघिको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वाकांक्षा र पदप्रतिको चरम इच्छा र सोच मात्र रहेछ ।

‘निर्वाचनपश्चात् देशव्यापी रुपमा पार्टी कमजोर हुन्छ । र, नेपालको कम्युनिस्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहरसाथ मलाई ८ महिना नेकपा (एस) मकवानपुर अध्यक्ष हु“दा साथ र सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दछु,’ उहाँले कम्युनिस्ट आन्दोलन रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी पद्धतिविरुद्ध आवाज उठाउन अनुरोध गर्नुभयो । ‘एकीकृत समाजवादी पार्टी होइन, कम्पनी मात्र हो । यो प्राइभेट कम्पनीको म्यानेजर हुन मैले अस्वीकार गरें,’ उहाँले भन्नुभयो । स्थानीय तह निर्वाचनपछि पार्टी कमजोर हुने दाबी गर्दै राजीनामा दिइएको उहाँले उल्लेख गर्नुभएको छ ।

‘८ महिनाअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विद्रोह गरी सुशासन, पार्टीलाई विधि र पद्धतिसंगत ढंगबाट सञ्चालन, पार्टीका नेता÷कार्यकर्ताको मूल्याङ्कन, गुटबन्दी अन्त्य, नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एक व्यक्ति–एक पदलगायत सुन्दर नारा दिएर भएको विद्रोह ८ महिना नपुग्दै पार्टीभित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजिएको व्यक्तिवाद, सरकारमा गएका मन्त्री र राजकीय ठाउँमा पाएका अवसरमा पठाइएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रष्टाचारमा लिप्स मनोवृत्ति र दास बनाउने सोच हाबी हुँदै गएको छ,’ उहाँको विज्ञप्तिमा भनिएको छ–पार्टी नभई केही व्यक्तिको स्वार्थ पूरा गर्न कार्यकर्ताको समस्यालाई नजरअन्दाज गर्दै प्राइभेट कम्पनीमा रूपान्तरण गर्ने गलत मनसायलाई टुलुटुलु हेरेर बस्ने कि त्यस प्रवृत्तिको विरुद्ध विद्रोह गर्ने कि आत्मसमर्पण गर्ने भन्ने द्विविधाबिच मेरो ४१ वर्षको राजनीतिक जीवनमा गलत विचार र प्रवृत्तिविरुद्ध सधैँ विरोध गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई जति सकिन्छ योगदान गरेँ भन्ने मेरो ठहर छ ।

पोखरेललाई एक कुशल संगठकका रुपमा लिइन्छ । उहाँले पार्टीभित्र हेटौंडा उपमहानगर मेयरको दाबी गर्नुभएको थियो । पोखरेललाई पछाडि पार्दै नेकपा (एस) की मीना लामाले सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बन्न सफल हुनुभएको छ ।

जिल्ला सचिवालय सदस्य डिसीले पनि पार्टी परित्यागको घोषणा गर्नुभयो । उहाँले पश्चिम मनहरी, राक्सिराङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र सङ्गठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो ।

डिसीले पार्टीले गठबन्धनको नाममा हेटौंडालाई मात्र ध्यान दिएर जिल्लाभरका अन्य स्थानीय तहका कार्यकर्तालाई बिचल्ली बनाएको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नै पार्टीका मन्त्रीसमेत भएको जिल्लामा समाजवादीको हैसियत सकिएको उहाँको टिप्पणी छ । उहाँसँगै जिल्ला सदस्य गोपालबहादुर स्यांतान, गाउँपालिका सहसचिव जोन प्रजालगायतले पनि पार्टी परित्याग गर्नुभएको छ ।

पार्टी परित्याग गर्नेहरूमा जिल्ला सदस्य टी एन शर्मा, रवीन्द्र पोखरेल तथा रामजी भट्ट हुनुहुन्छ । समाजवादीका हेटौंडा उपमहानगरपालिका वडा–५ का उपाध्यक्ष सुनिल लामिछानेले पनि पार्टी परित्याग गर्नुभएको छ । पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा (एस) मा आबद्ध हुनुभएको थियो ।

उहाँहरूको यस्तो घोषणाले हेटौंडा उपमहानगरमा नेकपा एमालेले राजनीतिक फाइदा लिने अनुमान छ । गठबन्धनमा रहेको कांग्रेसलाई समाजवादीका नेताहरूको यस्तो घोषणाले प्रभाव पार्नसक्ने देखिन्छ । किनकि, पछिल्लो समय हेटौंडामा कांग्रेसले निकै मेहनत गरेर सङ्गठन बिस्तार गर्दा उसका मतदाता बढेको दाबी गरिएको छ ।

हेटौंडामा गठबन्धनका तर्फबाट मेयरमा समाजवादीकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट मेयरमा अनन्त पौडेल र सुमित्रा काफ्ले (पराजुली) को उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्