सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई दर्ज्यानी चिन्ह प्रदान 



काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अर्याललाई बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णयले उहाँलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरेको थियो ।  महानिरीक्षक केसीले समारोहमा सम्बोधनको क्रममा पदोन्नति हुनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई बधाई दिनुभयो ।

महानिरीक्षक केसीले सङ्गठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरूमा सृजनशील, चेतनशील रहँदै सकारात्मक सोचेकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा साङ्गठनिक विकासमा  पुर्‍याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको उल्लेख गर्दै उहाँलाई कार्य सफलताको समेत शुभकामना दिनुभएको थियो ।

उहाँले पदोन्नति वृद्धि विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्नुहुँदै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरूले निःस्वार्थ भावनाका साथ फौजी संकार र पद्धतिको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीहरूलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य पद्धति अपनाई कार्यसम्पादनमा क्रियाशील रहनु पर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् उद्धार लगायतका साङ्गठनिक जिम्मेवारीहरूमा खरो रूपमा उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत  निर्देशन दिनुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष ज्योति केसीले संघकी नवनियुक्त उपाध्यक्ष अनिता अर्याललाई फुलमालाकासाथ बधाई दिँदै सो संघमा स्वागत गर्नुभएको छ । वि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर हुनुभएको थियो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्