साहित्यकार केसीको ‘रन्को’ विमोचित



काठमाडौं ।

प्रगतिशील सामाजिक यथार्थवादी साहित्यकार राजन केसीको तेस्रो कृति ‘रन्को’ सार्वजनिक भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अशोक राई, प्रभाकर देव शर्मालगायतले उक्त पुस्तक विमोचन गरेका हुन् ।

लेखक केसी समाजसेवा, राजनीति, रंगकर्म र व्यवसायीका साथै रन्कोमार्फत साहित्यमा पनि आफ्नो प्रभाव राख्न सफल हुनुभएको छ । दैनिकी विधामा लेखिएको ‘रन्को’ पुस्तकमा केसीले २०७८ भाद्रदेखि मंसिरसम्मको ११० दिनको आफ्नो वरिपरिको घटनाक्रमको सूक्ष्म र यथार्थपरक ढंगले उल्लेख गर्नुभएको छ ।

विशेष गरी लेखकले आफ्नो टोल सीतापाइलास्थित संगमबस्तीको अध्यक्ष हुँदा देखिएको समस्या र समाधानको तत्परता पुस्तकमार्फत खोज्नुभएको छ । सामाजिक कार्य गर्दा आफूले भोगेका राम्रो र नराम्रो अनुभवलाई तत्कालीन अवस्थाको सरकारको नेतृत्वसँग तुलना गरेर रोचक ढंगले सिर्जनात्मक लेखन गर्नुभएको छ ।

हरेक क्षेत्रमा मौलाउँदो विकृति, विसंगति, समस्याहरूका कारणले समाजमा विचलन ल्याएको र त्यही तथ्य रन्को पुस्तकमार्फत प्रतिविम्बित हुन पुगेको अनुभूति हुन्छ । लेखककै भनाइमा समाज रूपान्तरण, जनताको समृद्धि, राष्ट्रको स्वाभिमानको निम्ति छुटेको रन्को हो रन्को कृति । चाहे त्यो कलाकारिता, समाजसेवा, व्यवसाय या सहित्यमार्फत प्रस्फुटित भएको होस् ।

प्रतिक्रिया दिनुहोस्