काठमाडौं मेयरकी उम्मेदवार सिंहलाई प्रश्न – नेताको श्रीमती हुँदा सहजै टिकट पाउनुभएको हो ? 



काठमाडौं ।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । तर, उनले आफू प्रकाशमान सिंहको पत्नी भएको आधारमा नभई राजनीतिक योगदानको आधारमा टिकट पाएको दाबी गरिन् ।

राष्ट्रियसभा गृहमा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपछि उनले आफूले पार्टीमा ठूलो योगदान गरेको बताइन् । नेताको पत्नी भएकाले तपाईँले सहज रूपमा टिकट पाउनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो म गणेशमान सिंह बुहारी, प्रकाशमान सिंहको श्रीमती हो । यो कुरा कतै लुकाएर लुक्दैन । प्रकाशमानलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नो राजनीतिक योगदान पार्टीमा थियो ।’

देशमा प्रजातन्त्र ल्याउन धेरै सङ्घर्ष गरेको उनले स्मरण गराइन् । ‘देशमा प्रजातन्त्र ल्याउन, महिलाहरूको हकहितका लागि धेरै सङ्घर्ष गर्दै आएको व्यक्ति हुँ । मैले हनुमान ढोका छिँडी धेरै कटाएको छु,’ उनले भनिन्, ‘प्रजातन्त्र ल्याउन मेरो आफ्नै योगदान छ । बिहे गरेपछि मैले राजनीति छोडेन । तर, कुनै पनि पदमा बसिन । घरका सबै जना राजनीतिमा भएकाले कुनै पद ओगटेर बसेको थिइन । तर, मैले राजनीतिक रूपमा गर्नुपर्ने कामहरू गर्दै आएकी थिएँ ।’

भातृ संगठनमा, महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ छ । उनी अहिले पनि नेपाली कांग्रेस महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार रूपमा जिम्मेवारी बहन गर्दै आएकी छन् ।

उनीमाथि १४ औँ महाधिवेशनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गरेको कारण टिकट पाएको आरोप लाग्दै आएको छ । तर, उनले भने त्यो आरोप निराधार रहेको बताइन् ।

‘म जीवनभर लोकतन्त्रको लागि लडेर आएको परिवारको मान्छे हुँ । मैले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेर आएको हुँ । पार्टीले मलाई मेरो क्षमता र पार्टीमा पुर्याएको योगदानको आधारमा टिकट दिएको हो ।’ सिंहले भनिन् ।

प्रतिक्रिया दिनुहोस्