फ्रान्समा माक्रोन पुनः राष्ट्रपतिमा निर्वाचित



पेरिस । 

फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिस्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याउनु भएको हो । उहाँले झन्डै ५८।६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।

दोस्रो चरणमा उहाँका प्रतिस्पर्धी पेनले ४१।४ प्रतिशत मत पाउनु भएको थियो । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६।१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३।९ प्रतिशत मत पाएका थिए ।

राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरे पनि आफू उनीहरूको समेत राष्ट्रपति भएको उल्लेख गर्नु भएको छ । उहाँको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।

उहाँलाई युरोपेली मुलुकका राष्ट्र प्रमुखहरूले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिनु भएको छ । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरूले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्