रुपन्देहीमा स्थानीय तहका लागि ३८ दल चुनावी मैदानमा



बुटवल ।

रुपन्देही जिल्लामा स्थानीय निर्वाचनका लागि थप ३२ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रूपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता भएका हुन् ।

निर्वाचन आयोगले केन्द्रीय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दलहरूलाई स्थानीय तहको निर्वाचनका लागि आफ्नो जिल्लामा जिल्ला स्तरको सङ्गठनात्मक संरचनाको विवरण बुझाउनका लागि आइतबारसम्मको समय सीमा दिएको थियो ।

सो समयभित्र रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि उक्त सङ्ख्याका दलले दल दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएको समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी(समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी(पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस(वी.पि.), समाजवादी एकता पार्टी, जन समाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन पार्टीले दल दर्ता गराएका छन् ।

त्यस्तै जनमत पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशिल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, र सचेत पार्टीले गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रूपमा सक्रिय रहेका छन् ।

आगामी ३० वैशाखमा हुने हुने स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भइसकेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोधाप्रसाद भण्डारीले बताउनु भयो । यसअघिको प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० वटा मतदान केन्द्र रहेको थिए । अहिले मतदाताको संख्या बढेकोले मतदान केन्द्र थप्नु परेको निर्वाचन कार्यालयका प्रमुख भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्