बेगनासतालको पिडा कसले बुझिदिने ? 

तालमा छैन उद्धार टोली, चालक आफै उद्धारमा खटिनुपर्ने बाध्यता



पोखरालाई तालहरूको सहर भनेर पनि चिनिन्छ । तर, पोखरामा कुन ताल छन् भन्यो भने सबैको जवाफ आउँछ फेवाताल । विश्वकै सुन्दर ताल मध्ये पर्ने फेवाताल जस्तै सुन्दर छ लेखनाथमा रहेको वेगनास ताल र रुपाताल पनि । पोखरा महानगरपालिका भित्र नै पर्ने ताललाई राज्यले कर्णालीको जस्तै व्यवहार गरिरहेको छ । रुपातालको त कुरै छाडौँ ।

२०७५ भदौमा वेगनास तालमा ठुलो दुर्घटना भयो । डुङ्गा दुर्घटनामा परि ८ जनाको मृत्यु भयो । त्यस अघि पनि थुप्रै पटक घटना नघटेका होइनन् त्यसपछि भने दुर्घटना घटेको तथ्याङ्क छैन ।

तर, बेगनासतालको आफ्नै पिडा छ । वेगनासतालमा त्यसरी नै डुङ्गा दुर्घटना हुने हो भने तत्कालै उद्धारका लागि खटिने भनेको डुङ्गा चालकै हुन् । वेगनासतालमा अहिलेसम्म राज्यको तर्फबाट उद्धार टोली खटिएका छैनन् ।

स्थानीय र डुङ्गा व्यवसायीले पटक पटक यसबारे सम्बन्धित निकायलाई पत्राचार, खबरदारी गर्ने काम गरे पनि अहिलेसम्म सुनुवाइ कसैबाट हुन सकिरहेको छैन । तालमा व्यवसायी गर्नेले राज्यलाई कर पनि तिरिरहेका छन् । तर राज्यले उद्धार टोली तम्तयार अवस्थामा राख्न भने चाहेको छैन ।

फेवातालमा संघ सरकार देखी स्थानीय सरकार सबैले बजेट खन्याउने गर्छन् । उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि २४ सै घण्टा खटिएका हुन्छन् । राज्यले पनि सोहि अनुसारको योजनाहरु बनाइरहेको छ ।

पछिल्लो समय बेगनासताल पर्यटकहरूको रोजाइको गन्तव्य बनिरहेको छ । आन्तरिक पर्यटकको भिड लाग्ने गर्छ । तर, लाइफ ज्याकेट र चालक बाहेक त्यहाँ सुरक्षाका लागि केही पनि छैनन् ।  कोरोना अघि २५० बढी डुङ्गा रहेको वेगनासतालमा अहिले भने २०० डुङ्गा रहेका छन् । दैनिक एक सय भन्दा बढी पर्यटक घुम्न जाने वेगनासतालमा सुरक्षाका लागि उद्धार टोली भने छैन ।

३१ वर्ष देखी वेगनासतालमा डुङ्गा खियाउँदै आउनुभएको महादेव कँडेलले फेवातालमा राज्यको लगाव र वेगनासतालमा गर्ने व्यवहार देखेर अचम्म मान्नुहु्न्छ । २०५१ सालमा बाँध बनेसँगै वेगनास तालमा पर्यटकको आगमन सुरु भएको थियो । डुङ्गामै आफ्नो जीवन खियाइरहनुभएको महादेव २०७५ सालमा भएको डुङ्गा दुर्घटनामा उद्धार गर्न जाने पहिलो व्यक्ति समेत हुनुहुन्छ । वेगनासतालमा समेत राज्यको उद्धार टोली भएको भए ठुलो सङ्ख्यामा ज्यान गुम्ने खतरा कम हुने उहाँ बताउनुहुन्छ ।

‘वेगनास तालमा राज्यको तर्फबाट उद्धार टोली तथा टावरहरू केही पनि छैनन् । हामी आफैँ केही भयो भने खटिने हो’ उहाँले भन्नुभयो, ‘अचानक हावाहुरी आइहालेमा जता नजिक पर्ने उतैतर्फ डुङ्गा मोड्ने गरेका छौँ ।’

सशस्त्र प्रहरी लगायत कुनै पनि सुरक्षा निकाय नरहे पनि आफूहरूसँग पेट्रोलबाट चल्ने मोटरवोट र सक्षम चालक रहेको छ । उहाँले महानगर, पर्यटनबोर्ड लगायत क्षेत्रमा पत्राचार गरे पनि अहिलेसम्म चासो नदेखाएको  र आफूहरूले माग गरिरहेको  सुनाउनुहुन्छ ।

स्थानीय डुङ्गा व्यवसायी आफै सक्षम भएर दुर्घटनाका लागि तयारी अवस्थामा रहन्छन् तर, राज्यको तर्फबाट भने वेगनास तालमा कुनै सुरक्षा छैन । फेवातालमा आर्मी र सशस्त्र प्रहरी जसरी दुर्घटना घटिहालेको समयमा उद्धार गर्न जानका लागि टोली तम्तयार खटिन्छन् वेगनासतालमा भने त्यो दृश्य देख्न पाइदैँन् । डुङ्गा व्यवसायीहरूले उद्धार टोलीको बारेमा बारम्बार सुरक्षा निकाय र नगरपालिकालाई गुहारी रहे पनि उनीहरूको आवाज कुनै निकायले पनि सुनेका छैनन् ।

हरेक पटक हुने दुर्घटनामा यहाँका स्थानीय नै परिचालन हुँदै आइरहेका छन् । स्थानीय भूगोलसँग चिरपरिचित उनीहरूले कुनै तालिम नलिए पनि सामान्य ज्ञानकै आधारमा सुरक्षालाई समेत ध्यानमा राखेर काम गरिरहेका छन् । सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै दुई वटा पेट्रोलबाट चल्ने मोटरवोट सधैँ तयारी अवस्थामा रहेको र डुङ्गा व्यवसायीहरूले अचानक मौसममा फेरबदली भइहालेमा तालमा रहँदा कुन दिशातर्फ जाँदा सुरक्षित भइन्छ भन्ने हिसाबले पनि आफ्नो सुरक्षा गरिरहेको अवस्था रहेको वेगनासताल डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष रविराज कँडेलले बताउनुभयो ।

वेगनासताललाई पनि पर्यटकको मुख्य आकर्षणको केन्द्रबिन्दु बनाउन सकिन्छ । यसका लागि राज्यले विपद् व्यवस्थापन सम्बन्धी टोली राख्न आवश्यक छ । जसले विदेशबाट घुम्न आउने पर्यटकले वेगनासतालमा समेत सुरक्षाको अनुभूति गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्