श्रीमती र साथी खेलाडीबाट धोका पाएका कार्तिक



नयाँ दिल्ली ।

जारी सिजनको आईपीएलमा ३६ वर्षको उमेरमा पनि दिनेश कार्तिकले शानदार ब्याटिङ गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरबाट जारी आईपीएलमा खेलिरहेका कार्तिक यस सिजनमा नयाँ रूपमा देखिएका पनि छन् । उनले एक्लै नै म्याच फिनिस गरिरहेका पनि छन् । यस उमेरमा प्रायजसो क्रिकेटरहरूले संन्यासको सोच बनाएका हुन्छन् । तर, विकेटकिपर ब्याटर कार्तिकले यस उमेरमा सबैलाई हैरान बनाएका छन् । उनले हालै एनी टीभी न्युज वेबसाइटमा बताए कि उनका मिल्ने साथी र उनकी श्रीमतीले उनलाई धोका दिएका थिए । त्यही कारण उनको दिमागमा आत्महत्या गर्ने सोचसमेत आएको उनले खुलासा गरेका थिए ।

२००७ देखि २०११ बीच महेन्द्रसिंह धोनीपछि भारतीय टोलीमा कार्तिकलाई विकेटकिपरको रूपमा दोस्रो विकल्प मानिएको थियो । धोनीलाई टोलीबाट विश्राम दिँदा कार्तिकले विकेटकिपिङ गरेका थिए । घरेलु क्रिकेटमा उनको प्रदर्शन निकै राम्रो थियो । तमिलनाडुको टोलीका कप्तान पनि उनलाई बनाएको थियो । तर, उनले निजी समस्याको कारण टोलीका लागि त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन्।

श्रीमतीको मुरलीसँगको सम्बन्ध
२००७ मा कार्तिकको आफ्नो बाल्यकालका साथी निकिता बञ्जारासँग बिहे भएको थियो । केही वर्षपछि कार्तिकका टोली साथी मुरली विजयसँग निकिताको अफेयर चल्न थालेको थियो । उनी मुरलीको तर्फबाट आमा बन्न लागेकी थिइन् । यो कुरा कार्तिकलाई थाहा थिएन । जबकि, तमिलनाडुका सबै खेलाडीलाई यसबारे राम्ररी जानकारी थियो । अकस्मात् एक दिन निकिताले कार्तिकलाई वास्तविक कुरा बताइन् र उनीसँग पारपाचुके लिने बताइन् ।

दुवैको पारपाचुके भएपछि निकिता मुरलीसँगै बस्न थालेकी थिइन् । मुरली आईपीएलमा चेन्नाईको लागि शानदार प्रदर्शन गरिरहेका थिए । उनी लगातार रन बनाएर चर्चित बनेका थिए । उनको छनोट भारतीय टोलीका लागि पनि भयो । अर्कोतिर श्रीमतीको घातले गर्दा कार्तिकको प्रदर्शन खस्केको थियो । उनी टोलीबाट बाहिर पनि भएका थिए ।

कार्तिकको आत्महत्या गर्ने सोच
खराब प्रदर्शनका कारण कार्तिकलाई तमिलनाडुको टोलीको कप्तानीबाट पनि छिनियो र कप्तान बने उनकै शत्रु मुरली । यसै कुराले कार्तिक डिप्रेसनमा गएका थिए । आईपीएलमा पनि राम्रो प्रदर्शन गर्न नसकेपछि उनका ट्रेनरले बताए कि उनी निजी जीवनबाट निराश थिए र आत्महत्या गर्नेसमेत सोच्न भ्याएका थिए ।

कार्तिकले आफ्नो ट्रेनिङ पनि छाडे र जिम जान पनि छाडेका थिए । उनका ट्रेनरलाई चिन्ता भयो र उनको घर गएर कार्तिकलाई सम्झाउन लागेका थिए । ट्रेनरका अनुसार कार्तिक पूरै दाह्री पालेर देवदास जस्तै बनेर बसिरहेका थिए । एउटा कुनामा एकोहोरो झोक्र्याएर बसेका उनलाई ट्रेनिङ फेरि शुरू गर्न सल्लाह दिएको ट्रेनरले बताए । उनलाई बल्लतल्ल सम्झाउन सफल भएको उनले बताएका थिए ।

दीपिकासँगको भेटले कार्तिक परिवर्तन
फेरि कार्तिक जिममा लागे । कार्तिकको भेट दीपिका पल्लीकलसँग भएको थियो । दीपिकाले उनलाई पूरै परिवर्तन गरिदिइन् । उनीहरू अभ्यासमा सँगै हुने भएकोले पनि कार्तिकले राम्ररी अभ्यास गर्न थाले र उनले रन पनि बनाउन सकेका थिए । दीपिकाले हरेक पाइलामा साथ दिएपछि उनी भारतीय टोलीका लागि छनोट भए । उनीहरूले बिहे पनि गरेका थिए ।

३४ वर्षको उमेरमा आईपीएलमा कार्तिकलाई कप्तानी भार दिइएको थियो । त्यतिबेला उनी संन्यास लिन चाहन्थे, तर उनलाई कोलकाताले कप्तानी बनाएको थियो । यही दौरानमा २०२१ मा उनी जुम्ल्याहा छोराका बाबु बने । यसपछि कार्तिकले खेल्ने बन्द गरेर कमेन्ट्री गर्न थालेका थिए ।

कार्तिकको सपना चेन्नाईको पोएस गार्डेनमा ठूलो घर किन्ने थियो । तर, यसको मूल्य धेरै भएकोले उनले किन्न सकेका थिएनन् । तब दीपिकाले दुवै जना खेलमा फर्केर राम्ररी खेल्ने उनलाई बताइन् । दीपिका स्क्वासकी खेलाडी हुन् । उनीहरूले खेलमा फर्केपछि पोएस गार्डेनमा ठूलो घर किन्न सफल भए ।

आईपीएल २०२२ शुरू हुनुअघि चेन्नाईको टोलीले कार्तिकलाई किन्न चाहेको थियो । अक्सनमा चेन्नाईले लगातार कार्तिकमाथि बोली लगाइरहेको थियो । तर, रोयल च्यालेन्जर्सले बाजी मारेपछि चेन्नाईको कार्तिकलाई टोलीमा ल्याउने योजना भताभुंग भएको थियो । रोयल च्यालेन्जर्सले उनलाई भारतीय रकम ५ करोड ५० लाखमा किनेको थियो ।

त्यस्तै, उनकी खेलाडी श्रीमती दीपिकाले स्क्वासमा शानदार खेल देखाइन् । उनले ग्लास्गोमा भएको विश्व च्याम्पियनसिपमा जोशना चिनप्पासँग मिलेर महिला युगलमा उपाधि जितिन् । साथै, उनले मिश्रित युगलमा पनि उपाधि जितेकी थिइन् । यसमा उनका साथी सौरभ घोषाल थिए ।

प्रतिक्रिया दिनुहोस्