केन्द्रलाई जसपाको २४ घण्टे अल्टिमेटम



बाँके, (नेस) ।

गठबन्धन भए आफ्नो नेतृत्वमा या एकल नै नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रको निर्णयलाई नमान्ने भन्दै सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

केन्द्रबाट बुधबार सार्वजनिक भएको सहमतिपत्रमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जसपालाई दिने भनिएको छ । यो निर्णय बाहिर आउने वित्तिकै विद्रोह थालेको जसपाले बिहीबार बैठक नै बसेर आधिकारिक रूपममै निर्णय नमान्ने अल्टिमेटम दिएको हो ।

जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले २४ घण्टाभित्र केन्द्रले निर्णय नसच्याए जिल्लामा आफ्नै तरिकाले अघि बढ्ने निर्णय गरेको छ । जसपाले जिल्लामा भएका गठबन्धनका शुरुआती बैठकमै नेपालगञ्ज उपमहानगरपालिका, जानकी, डुडुवा र नरैनापुर गाउँपालिका दाबी गरेको थियो ।

यसमा कुरा नमिल्ने भएपछि दुईवटा बैठकमा मात्रै उपस्थित भएर जसपा गठबन्धनबाट बाहिरिएको थियो । जिल्लाबाट बाहिरिए पनि केन्द्रबाट गठबन्धनको नाममा लाद्ने काम भएपछि जिल्लाले विद्रोह गरेको हो । २४ घण्टाभित्र अल्टिमेटममा केन्द्रले निर्णय नसच्याए अर्को निर्वाचन चिह्न लिएर पनि मेयरमा चुनाव लड्ने जसपाले तयारी गरेको छ । जिल्ला सचिव राजेन्द्र विकले केन्द्रीय निर्णय नमान्ने निर्णय भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार २४ घण्टाभित्र निर्णय सच्याउन केन्द्रलाई अल्टिमेटम दिइएको छ ।

बैठकमा पूर्वमन्त्री एवं क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, केन्द्रीय सदस्यहरुमा अजय श्रीवास्तव, हिक्मत विक, बाबु खाँ पठान र राजकुमार यादव तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थिति रहेको थियो ।

जिल्लाका चारवटा पालिकामा एक्लै चुनाव लड्ने गरी जसपा धेरै अगाडि बढिसकेको छ । संगठन राम्रो बनाएकाले जित्ने आधार रहेको नेताहरुको दाबी रहेको छ । कांग्रेसलाई नेपालगञ्जको मेयर र जसपालाई उपमेयर दिने गठबन्धनको केन्द्रीय निर्णयप्रति माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ । उसले पनि आफूहरुलाई अपमानीत गरेको भन्दै एक्लाएक्लै चुनावमा जान सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्