मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



गुल्मी ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बीच बिहीबार कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भएको छ । निर्वाचनको लागि वैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयनका दर्ताको तालिका तालिमसमेत सार्वजनिक गरेको छ । जिल्लामा दर्ता भएका १६ वटा दललाई वभिन्न समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताउनुभयो । ‘निर्वाचनमा मतदातालाई कसरी उत्साहपूर्वक सहभागिता गराउने चुनौती पनि रहेको छ’, उहाँले भन्नुभयो– ‘मतदानमा मतपत्र धेरै हुने सम्भावना रहेकाले दलहरुले मतदाता शिक्षालाई सशक्त भूमिका खेल्न जरुरी छ ।’ उम्मेदवारको मनोनयपत्र दाखिला गर्ने क्रममा रीत पु¥याउनुपर्ने कुरा धेरै रहेको उप्रेतीले दलहरुलाई सुझाउनुभएको थियो ।

त्यस्तै, कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो । मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गरेर गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ । निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गाउँ–गाउँमा खटाइएको पौडेलको भनाइ छ ।

दलहरुको मनोनयन तालिका सार्वजनिक
मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरुको मनोनयन तालिका सार्वजनिक गरेको छ । नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४ बजेसम्म, नेपाली कांग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ बजेसम्म र नेकपा माओवादी केन्द्रका लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २ बजेसम्म, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाउनुभयो ।

साथै, राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, विवेकशील साझा पार्टीका लागि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ । मंगोल नेसनल अर्गानाइजेसन, नेपाली कांग्रेस बीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ ।

२ सय ७९ मतदान केन्द्र
स्थानीय तह निर्वाचनका लागि जिल्लामा २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ पुरुष र १ लाख १४ हजार २ सय १५ महिला रहेका छन् भने २ अन्य मतदाता रहेका छन् ।

जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणनाअनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ जना रहेको छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७ सय ८८ रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना छन् । निर्वाचनका लागि १ सय ४२ मतदानस्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

दुई निर्वाचन क्षेत्र १२ वटा स्थानीय तह रहेको छ । जिल्लामा ९३ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्