महानगर मेयर उठ्न प्रदेश सांसदद्वारा राजीनामा



हेटौंडा, (नेस) ।

वागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिनुभएको छ । नेकपा एमालेबाट भरतपुर महानगर प्रमुखमा सर्वसम्मत सिफारिस हुनुभएपछि सुवेदीले बिहीबार प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई बुझउनुभएको राजीनामापत्र स्वीकृत भएको छ ।

सुवेदी, प्रमुख प्रतिपक्षी नेकपा एमालेका वागमती प्रदेश सदस्य हुनुहुन्छ । ४ वर्ष ३ महिना १ दिन प्रदेश सांसद भएर दिइएको राजीनामा प्रदेश सभामुख श्रेष्ठले संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनमा लड्न चाहने बहालवाला जनप्रतिनिधिले मनोनयन दिनुअघि राजीनामा गर्नेपर्ने जनाएका कारण सुवेदीको राजीनामा आएको हो । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि छुट्इयाएको छ । राजीनामापछि उहाँले आफू २०६२/०६३ को आन्दोलनपछि सधैं चितवनको विकासका लागि लागिपरेको दाबी गर्नुभयो । त्यसैले अब चितवन विकासकै लागि आफू मेयरका उम्मेदवार बनेको सुवेदीले बताउनुभयो ।

नेकपा एमालेले भरतपुर महानगर मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । अघिल्लोपटक मेयरमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुवेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज पनि हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा सुवेदीले चितवन क्षेत्र नम्बर २ (ख) बाट चसनाव जित्नुभएको थियो । अष्टलक्ष्मी शाक्य छोटो समय वागमती प्रदेशको मुख्यमन्त्री हुँदा उहाँ सामाजिक विकासमन्त्री बन्नुभएको थियो ।

सत्तारुरूढ गठबन्धनबाट भरतपुर महानगरमा माओवादी केन्द्रले प्रमुखमा उम्मेदवार उठाउनेछ । माओवादीबाट बहालवाला प्रमुख रेनु दाहाल र सुवेदीबीच भिडन्त रोचक हुने देखिन्छ । सुवेदीले स्थानीय सरकार सबैभन्दा प्रभावकारी सरकार भएकाले पनि आफूले उम्मेदवारी दिन लागेको बताउँदै स्थानीय सरकार नै जनताले चाहेको विकास गर्ने सरकार भएकाले आफ्नो आकर्षण बढेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारप्रति आफ्नो निराशा बढेको भन्दै प्रदेश सरकारले जनताले चाहेअनुसार विकास भन्दा पनि खर्च बढाउने काम गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्