स्याङ्जामा एसईईका परीक्षार्थी घट्दो क्रममा



स्याङ्जा ।

कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्यांकनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रमार्फत सञ्चालन हुन लागेको छ । तर, स्याङ्जामा भने हरेक वर्ष परीक्षार्थीको संख्या घट्दै गइरहेको छ । गतवर्ष एसईई परीक्षाका लागि ५ हजार २ सय परीक्षार्थीले आवेदन दिएका थिए । तर, यो वर्ष भने जिल्लाबाट ९६ प्राविधिक धारका, ५१ ग्रेडवृद्धि र ४ हजार ७ सय ७६ साधारणतर्फ गरी ४ हजार ८ सय २७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

एसईई सञ्चालनको जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ््जाले यो वर्षका लागि जिल्लामा तय भएको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३५ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गर्न लागेको जनाएको छ । आज वैशाख ९ बाट २० गतेसम्म देशैभर एकसाथ सञ्चालन हुन लागेको परीक्षामा स्याङ्जाबाट करिब ४ हजार ८ सय विद्यार्थीहरु सहभागी हुँदै छन् ।

सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताइरहे पनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत सञ्चालन हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौंडेलले बताउनुभयो । कोभिड महामारी र स्थानीय निकायको नजिकिँदो निर्वाचनबीच सञ्चालन हुन लागेको एसईई परीक्षामा यो वर्षबाट उत्तीर्ण हुन ३५ प्रतिशत अनिवार्य गरिएको छ ।

एकाइ प्रमुख पौंडेलका अनुसार विद्यालयबाट विगत दुई वर्षमा भएका आन्तरिक मूल्यांकनको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रहरुबाटै परीक्षा सञ्चालन गर्न लागिएको हो । ‘विद्यालयमा गर्दा धेरै जनशक्ति लाग्ने र परीक्षाको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रमै गर्ने भन्ने छ’, उहाँ भन्नुहुन्छ– ‘विद्यालयमा गर्दा राम्रो नतिजा आएन भन्ने आयो ।’ परीक्षा र सम्परीक्षण स्तरीय नभएको गुनासोपछि परीक्षा केन्द्रहरुबाटै सञ्चालन गर्ने निर्णय भएको पौडेलको भनाइ छ ।

‘केन्द्रले गरेको सबै ठीक हुन्छ, तलकाले नराम्रो भन्ने मानसिकताले त शिक्षा प्रणाली कसरी सुध्रिन्छ र ? हामीले विद्यालय, शिक्षक र स्थानीय तहलाई जिम्मेवार बनाउने हो ।’ –प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रे भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्