तामाङले दिए स्वास्थ्य संस्थालाई जग्गा दान



रसुवा ।

गोसाइँकुण्ड गाउँपालिका–३ का ५१ वर्षीय पेम्वा घ्याल्वु तामाङले उत्तरी रसुवाको खाम्जिम क्षेत्रका स्थानीय बासिन्दालाई प्राथमिक उपचार सेवा सहज बनाउन जग्गादान गरेका छन् । आफ्ना स्वार्गीय पिता घ्याक्पा तामाङ तथा माता ल्हाक्पाबुरी तामाङको सम्झना गर्दै खाम्जिम स्वास्थ्य एकाइ भवन निर्माण गराउन उहाँले दुई रोपनी जग्गा दान गर्नुभएको हो ।

खाम्जिङ क्षेत्रको स्वास्थ्य समस्या हल गर्न गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको स्वास्थ्य संस्था बनाउन पहल गर्नुभएको थियो । खाम्जिङ स्वास्थ्य एकाइको भवन निर्माणका लागि गाउँपालिकाले आवश्यक रकम विनियोजन गरिसकेको र छिट्टै भवन तयार हुने पालिकाको स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी गाउँपालिका अघ्यक्ष तामाङले स्वास्थ्य क्षेत्रमा गरेको योगदान हितकारी बन्दै गएकाले पालिकाको नीति नियममा रही आफूले छिटो–छरितो सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ ।

जग्गादाता तामाङले परिवारको सहमतिमै जग्गाको हक स्वामित्व प्रदान गरेको बताउनुभयो । स्वास्थ्य एकाइले खाम्जिङको साथै बृद्विम शेर्पागाउँ, भञ्ज्याङ, वांगल, क्षेत्रका बासिन्दालाई उपचार सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्