फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण



काठमाडौं ।

काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ । झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो । पुस्तक प्रकारको साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो । समारोहमा विकास अर्थशास्त्री प्रा. डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो ।

उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो । उक्त कार्यक्रममा साहित्यकार लब गाउँले र डा.घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ । उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप लामो समयको प्रयासपछि पुस्तक तयार भएको हो ।

पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः शहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, वस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ । लिच्छविकालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातिय विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ । फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ ।

काठमाडौ उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले बर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो । त्यस्तै, उनीहरुको परम्परा र गुठीसम्वन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ । फुटुङ्ग क्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहलसम्वन्धी विवरण पुस्तकमा समेटिएको छ । पुस्तक अनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् ।

कुनै समय कृषि पेशामा अंगाल्ने यस क्षेत्रका बासिन्दाहरुको जीवनशैलीमा आएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्व दिएको छ । त्यस्तै, फुटुङ्गमा शिक्षा शीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिक विकास र औपचारिक शिक्षाको संघर्षपूर्ण छ दशकलाई चित्रण गरिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनसंँगै भौतिक विकासमा भएका उपलव्धि तथा सामाजिक संघसंस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतना विकासमा महत्वपूर्ण पहल भएपनि निरन्तरताको अभाव भएको यथार्थलाई औंल्याएको छ ।

फेरिएको फुटुङ्ग शीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथानिजी घर र आवासमा भएको वृद्धि र शहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ । पहिला छुट्टै गाउँ विकास समिति भएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङको स्थानीय विकास, कला संस्कृति र शैक्षिक–सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको परिचय र कथालाई पुस्तकमा उतारिएको छ ।

भौतिक पूर्वाधारमा अघि बढेपनि समग्र विकासका लागि गर्नुपर्ने १७ वटा कामको सूचि राखेर पुस्तकलाई सामाजिक विकासको दृष्टिले महत्व दिन खोजिएको छ । स्थानीय चुनावको सन्र्दभमा आएको यस्तो सूचिले दलहरुलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगी हुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ । विमोचन कार्यक्रममा फुटुङ्ग एवम् तारकेश्वरका बौद्धिक वर्ग लगायत, साहित्यकार लेखक, विकास पे्रमी तथा राजनैतिक दलका प्रतिनिधि एवम् संचारकर्मी गरी करिब १ सय ५० जना व्यक्तित्वको सहभागिता थियो । पुस्तक विमोचनका अवसरमा पुस्तकमा चर्चा गरिएका स्थानीय समुदायको परम्परागत बाजा तथा लोक भजनको समेत प्रस्तुति थियो । फुटुङ्गमा गरिएको पुस्तक विमोचन यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्