प्रतिवेदन बुझाउने तयारीमा पर्यटन पुनर्उत्थान समिति



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गठन भएको पर्यटन पुनर्उत्थान  समितिले आफ्नो कार्यादेश सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । उक्त समितिलाई दिइएको जिम्मेवारी अनुसार पर्यटन पुनर्उत्थानका कार्यक्रमहरू तयार गरी समितिका अध्यक्ष तथा पर्यटन मन्त्री आलेलाई प्रतिवेदन बुझाउने तयारीमा रहेको समितिका संयोजक राजाराम गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले पर्यटन क्षेत्रको पुनर्उत्थान का लागि के–कस्ता काम गर्नुपर्छ र त्यसका लागि के–कति बजेट लाग्छ भन्नेबारेमा स्पष्ट कार्यादेश सहितको प्रतिवेदन पेस गर्नेछ । कोरोना भाइरस (कोभिड–१९) पछिको नेपालको समग्र पर्यटन क्षेत्रको अध्ययन गरी पर्यटन क्षेत्रसँग विषगत रिपोर्ट तयार गरिएकाले अब छिट्टै बुझाइने समितिले जनाएको छ ।उक्त प्रतिवेदनमा उड्डयन सम्बन्धी, पर्यटनका विद्यमान ऐन, कानुन, पर्यटन गतिविधिहरु र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका क्षेत्रका बारेमा अध्ययन गरी तयार गरिएको संयोजक गिरीले बताउनुभयो ।यसैबिच पर्यटन पुनर्उत्थान को पहलका लागि नेपाल स्थित विभिन्न राष्ट्रका कूटनैतिक नियोगका पदाधिकारीहरूसँग भेट तथा छलफल गरी कोभिड–१९ पछिको पर्यटन पुनर्उत्थान का लागि पहल भइरहेको समितिले जनाएको छ ।

यसैगरी सम्बन्धित देशका कूटनैतिक नियोग मार्फत पर्यटन पुनर्उत्थान का लागि सहयोग गर्न आग्रह गरिएको समेत संयोजक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले हाल सम्म कतार, जापान, युएईका राजदूतसँग भेटघाट गरी पर्यटन पुर्न उत्थानका विषयमा छलफल गरी सकेको र निकट भविष्यमै अस्ट्रेलिया, चिन, बेलायत र फ्रान्सका नियोग प्रमुखसँग उक्त विषयमा छलफल चलाउनका लागि कार्यक्रम तय भएको छ । आउँदो जेठ १४ गते भारतीय चर्चित कलाकार सलमान खान र टर्कीका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातानको नेपाल आगमनलाई समेत स्वागत गर्न समिति तयारी अवस्थामा रहेको संयोजक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्