पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक



काठमाडौं ।

नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक आज वैशाख ४ गते सार्वजनिक भएको छ ।

स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उहाँको जीवनको अन्तिम लेख बन्यो, जो २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उहाँको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो ।कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उहाँको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो ।

यात्रा संस्मरणमा उहाँले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूतिहरु समेट्नुभएको थियो भने ‘नेपाल किन बनेन ?’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरुको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो ।

पुस्तकका सम्बन्धमा प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ भन्नुहुन्छ, ‘नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि मेरा ड्याडीले एक प्रकारले हामी परिवारका सदस्यलाई नै बिर्सेर जीवन सुम्पनुभएको हो । उहाँका आलेखहरुमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रुपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ ।’ किताबमा प्रकाशक श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख पनि समावेश गर्नुभएको छ ।

सीईओ श्रेष्ठले ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ कृतिलाई आम पाठकले मन पराइदिएकोमा धन्यवाद पनि व्यक्त गर्नुभएको छ । स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा घटेका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएको त्यस पुस्तकले कोरोना महामारीलाई चिर्दै राम्रो व्यापार गरेको थियो ।

नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ । आज देश चुनावको माहोलमा गइसकेको छ । यस पुस्तकमा लेखक श्रेष्ठले विगत ३० वर्षका सन्दर्भलाई समेटेर नेपाल नबन्नुका कारण खोतल्नुभएको छ, जो मतदानमा जान लागेका हरेक नेपालीलाई असल उम्मेदवार छान्न अभिप्रेरक हुनसक्छ । सम्भवतः आलस्य र अविश्वासका साथ मतदानमा उभिन लागेका मतदाताले निर्वाचनमा जानुअघि यस किताबबाट सायद राम्रो मार्गनिर्देशन पाउनुहुनेछ ।

किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता बन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल तथा देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आसाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणाहरु पनि समेटिएका छन् । २०७६ वैशाख ४ गते ६१ वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठ नेपालमा व्यावसायिक विकासका संस्थापक मानिनुहुन्छ । मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि उहाँको जीवन बुझ्नका निम्ति पनि यो पुस्तक सहायक हुनेछ ।

पुष्करलालले ६० वर्षपछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकाश लिने र चारवटा किताब लेख्ने जानकारी गराउनुभएको थियो । यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरी चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २०७६ साल श्रावण २५ गते विमोचन गर्ने उहाँको योजना थियो । हरेक दिन डायरी लेख्ने उहाँसँग पुस्तकका लागि पर्याप्त सामग्री पनि थिए । तर, उहाँसँग समय रहेनछ, बीचमै यस संसारलाई छोडेर जानुपर्‍यो । उहाँको सोही इच्छा पूरा गर्ने यो दोस्रो प्रयास हो । उहाँ स्वयंले लेख्ने जीवन–कथा प्रकाशनको सपना उहाँको जीवनसँगै समाप्त भएको छ, तर बाँकी तीन विधामा उहाँले लेखेका आलेखहरु कामना समूहसँग सुरक्षित छन् ।

कुल ३०० पृष्ठको पेपर ब्याकमा प्रकाशित ‘नेपाल किन बनेन’ किताब मात्र रु. ६०० मा प्राप्त गर्न सकिन्छ । श्रेष्ठको जीवनीमा आधारित अघिल्लो कृति ‘कलम’ र यात्रा संस्मरण ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ जस्तै यस प्रकाशनलाई पनि सफल बनाउन प्रकाशकका तर्फबाट हामी सम्पूर्ण श्रद्धेय पाठक वर्गमा सादर अनुरोध गर्दछौं । मुलुकभित्र मुख्य शहरमा रहेका प्रभावशाली पुस्तक पसल तथा पत्रपत्रिका विक्रेताबाट खरिद गर्न सकिने यस पुस्तकका लागि काठमाडौं उपत्यकाका पाठकहरुले अनलाइन खरिद पनि गर्न सक्नुहुनेछ । इच्छुक व्यक्तिले सीधै ९८५१०७२००४ मा फोन गरेर पनि किताब मगाउन सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस् : पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

प्रतिक्रिया दिनुहोस्