सुविसुको आम्दानी बढ्यो



काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेटले एकै वर्ष साढे तीन अर्ब रूपियाँको कारोबार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार सुबिसुले २०२१ मा तीन अर्ब ५१ करोड २० लाख रूपियाँको कारोबार गरेको छ ।

अघिल्लो वर्ष २०२० मा सुबिसुको कारोबार दुई अर्ब ९० करोड १० लाख रूपियाँ थियो । २०२० को तुलनामा २०२१ मा कम्पनीको व्यापार २१ प्रतिशतले बढेको छ ।कोरोना महामारीका कारण वर्क फ्रम होमको कल्चर बढ्दा इन्टरनेटको माग बढ्न पुगेको थियो । जसका कारण त्यसको प्रत्यक्ष प्रभाव सुबिसुको कारोबारमा परेको केयर रेटिङ्स नेपालले जनाएको छ ।

२०२१ मा कम्पनीको कुल आम्दानीको ५८ प्रतिशत रिटेल उपभोक्ताबाट आर्जन गरेको छ । २०२० मा यो संख्या ५३ प्रतिशत थियो । यस्तै, २०२१ मा २४ प्रतिशत कर्पोरेट ग्राहकबाट आर्जन गर्दा कम्पनीले १८ प्रतिशत भने अन्य परियोजना (मुख्यगरी सरकारी ठेक्का) बाट आर्जन गरेको केयर रेटिङ्स नेपालले जनाएको छ ।

२०२० मा कम्पनीले २७ प्रतिशत कर्पोरेट ग्राहक र २० प्रतिशत अन्य परियोजनाबाट आम्दानी गरेको थियो । फाइबर र केबल इन्टरनेटसँगै डिजिटल टिभी सेवा दिँदै आएको सुबिसु २०२२ मार्च ५ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको केयर रेटिङ्स नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्