एमालेले ग-यो राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल



काठमाडौं । 

सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पनि साना दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । एमाले र राप्रपा नेपालबीच बुधबार चुनावी गठबन्धन गर्ने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल समाचारपत्रलाई उक्त सहमति भएको पुष्टि गर्नुभयो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहभागितामा दुई दलबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार देशभर सम्भव भएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ । त्यसै गरी एमाले र परिवार दलको बीचमा पनि बुधबार नै चुनावी तालमेल गर्ने सहमति बनेको छ ।
एमालेका स्थानीय विभाग प्रमुख देवन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । परिवार दलले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एमाले पनि साना दलहरूसँग चुनावी तालमेल गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्