पोखरामा ‘फेवा नव वर्ष महोत्सव’ शुरू



कास्की ।

होटेल संघ पोखरा नेपालको आयोजनामा बुधवारबाट पोखराको लेक साइडमा १७ औँ फेवा नव वर्ष महोत्सव शुरू भएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर आरम्भ भएको महोत्सव बिहीबारसम्म चल्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय अम्बोटमा महोत्सवको उद्घाटन गरेका थिए ।

यसअघि खहरे र ड्याम साइडबाट सुरु भएका झाँकी सहितका र्‍याली उद्घाटन स्थल पुगेका थिए । फिस्टेल गेटदेखि हल्लनचोक बिचको सडकमा आयोजित महोत्सवका दुवै दिन लोक दोहोरी र पप सङ्गीतका कार्यक्रम रहने छन् । अम्बोट र सेन्टर प्वाइन्टमा स्थापित स्टेजहरुमा यी कार्यक्रम संचालन हुने छन् । निःशूल्क प्रवेश सहित सडकमा आयोजित महोत्सव अन्तर्गत होटेलको ट्यारिफमा संघले ३० प्रतिशत छुटको व्यवस्था गरेको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई वर्ष स्थगित महोत्सवलाई पुनः निरन्तरता दिइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको पर्यटनमा चार खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिए । कोभिड– १९ बाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको पनि उनले स्मरण गराए । यसै गरी पोखरामा मात्र यस क्षेत्रमा १५ हजार रोजगारी रहेको र पोखराका एक हजार दुई सय होटेलमा ४० हजार विस्तारा रहेको तथ्याङ्क पनि उनले सुनाए । पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएपछि थप पर्यटक आउने आशा व्यक्त गर्दै उनले यसको काम समयमा नै सक्न सरकारसँग आग्रह गरे ।

होटेल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनायक शाहले नेपालमा विदेशी मुद्रा भित्र्याउन बढी भन्दा बढी पर्यटक ल्याउन जरुरी भएको भनाई राखे । सरकारले कतिपय वस्तुको आयात रोक्दा पर्यटकलाई सेवा दिन समस्या परेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । मुख्य प्रायोजक अन्नपूर्ण केवल कार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले पर्यटनको विकासका लागि आपसी सहकार्य महत्त्वपूर्ण हुने भन्दै उक्त केवल कार चढेर आनन्द लिन स्थानीय तथा पर्यटकलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद द्वय राजिव पहारी र दीपक कोइराला, होटेल संघ नेपालका केन्द्रीय सदस्य एवं आयोजक संघका सल्लाहकार भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र नमुना आमा समूहकी अध्यक्ष जुना अधिकारीले पनि भनाई राखेका थिए । हिमाली सांस्कृतिक परिवारका कलाकारले नाच प्रस्तुत गरेका थिए । महोत्सवमा गोर्खा ब्रुअरी अर्को मुख्य प्रायोजक रहेको छ । नेपाल पर्यटन बोर्डले महोत्सवको प्रवर्द्धन गरेको छ ।

महोत्सवका अवसरमा आयोजित झाँकीमा नेपाल मगर संघ प्रथम भएको छ । बैदाम तामाङ समाज, नेपाल छन्त्याल संघ र बाँझापाटन तमु समाजले क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाए । पुरस्कार राशि क्रमशः २५ हजार, २० हजार, पन्ध्र हजार र पाँच हजार रुपैयाँ रहेको थियो । यसै गरी आमा समूह तर्फ बंगलादी आमा समूह प्रथम भएको छ । खहरे आमा समूह, नवप्रभात आमा समूह र सक्षम आमा समूहले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः पन्ध्र हजार, दश हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए । कूल २२ आमा समूह कार्यक्रममा सहभागी थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्